Tuesday, June 30, 2026
Home Blog Page 489

एसईई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम सुरु

0

लेखनाथ: पोखरा महानगरपालिका वडा नं. २६ ले एसईई परीक्षा सकेर बसेका विद्यार्थीहरूका लागि डिजिटल प्रविधिमा आधारित तालिम शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरेको छ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा दक्ष बनाउन यो तालिम सहयोगी हुने उल्लेख गर्नुभयो। उहाँले तालिमले विद्यार्थीहरूलाई “पढ्दै कमाउँदै” गर्ने अवसर प्रदान गर्ने र जीवन उपयोगी सीप विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा भिडियो सम्पादन, विषयवस्तु खोजी तथा चयन, र ग्राफिक्स डिजाइन सम्बन्धी सिकाइ समेटिएको छ, जसले आगामी अध्ययनमा समेत मद्दत पुग्ने अध्यक्ष थापाले बताउनुभयो। सामाजिक सञ्जाल र नयाँ सञ्चार माध्यमको विकाससँगै तालिमपछि विद्यार्थीहरूले आय आर्जन गर्न सक्ने गरी सीप सिकाइने लक्ष्य राखिएको छ।

शिक्षाविद् रविराज बरालले परीक्षा पछिको फुर्सदको समय सदुपयोग गर्न नसकेका विद्यार्थीहरूका लागि यो तालिम उचित समयमा सुरु गरिएको टिप्पणी गर्नुभयो। उहाँले महँगो शुल्क तिर्नुपर्ने ब्रिज कोर्सहरूका सट्टा स्थानीय सरकारले निःशुल्क तालिम आयोजना गरेर सकारात्मक उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो।

वडा सदस्य तिर्थबहादुर राजभाटको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा र तालिम सहयोगी संस्था आकारका इन्जिनियर सन्दिप पौडेलले डिजिटल प्रविधिको ठूलो सम्भावना रहेको र यसको सही सदुपयोग गर्न आग्रह गर्नुभयो।

भिडियो सम्पादन, ग्राफिक्स डिजाइन, कन्टेन्ट क्रिएशन, व्यक्तित्व विकास, प्रोग्रामिङ तथा रोबोटिक्स विषयमा केन्द्रित सो तालिममा वडा नं. २६ का ७० जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय साधारण सभा सम्पन्न

0

काठमाडौं: नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय साधारण सभा शनिबार ललितपुरको हरिहर भवनस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

सभामा २६ जिल्लाका शाखा सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सभाले संघको विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै आगामी दिनका लागि रणनीतिक योजना पनि तय गरेको कास्की शाखाका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो।

विशेष साधारण सभालाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठले संस्थालाई दातृ निकायहरूमा मात्र भर नपरी आत्मनिर्भर बनाउने दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा संघले प्रकाशन गरेको भित्तेपात्रोको पनि विमोचन गरिएको थियो।

यस्तै, संघका कार्यकारी निर्देशक डा. प्रविण शाक्य, वरिष्ठ मानव संशाधन प्रबन्धक रविन्द्र कार्की, एक्टिभ कार्यक्रम निर्देशक प्रमिश थापा र अर्थ निर्देशक नवराज ढकालले संघका हालसम्मका गतिविधि र आगामी योजना सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य संघका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठले दिनुभएको थियो भने सञ्चालन केन्द्रीय सदस्य कमला सापकोटाले गर्नुभएको थियो।

ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

0

काठमाडौं: नेपाल सुपर लिग (NSL) को तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुरले पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै दोस्रो पटक एनएसएल च्याम्पियन बनेको हो ।

खेलको पहिलो हाफमा ललितपुरले एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्दै जीत सुनिश्चित गर्‍यो ।

ललितपुरका लागि विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले एक–एक गोल गरे । पोखराका तर्फबाट सुदिल राईले एक गोल फर्काएका थिए ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमयदर यसप्रकार छ:

युरोपियन युरो: खरिददर १५५.०५, बिक्रीदर १५५.७३

ब्रिटिस पाउन्ड (स्टर्लिङ): खरिददर १८१.६४, बिक्रीदर १८२.४४

स्विस फ्र्याङ्क: खरिददर १६४.६७, बिक्रीदर १६५.४०

अष्ट्रेलियन डलर: खरिददर ८७.०७, बिक्रीदर ८७.४५

क्यानेडियन डलर: खरिददर ९८.२८, बिक्रीदर ९८.७१

सिङ्गापुर डलर: खरिददर १०३.८१, बिक्रीदर १०४.२६

एशियाली मुद्रातर्फ:

जापानी येन (१० येन): खरिददर ९.५२, बिक्रीदर ९.५६

चिनियाँ युआन: खरिददर १८.७२, बिक्रीदर १८.८०

साउदी रियाल: खरिददर ३६.३७, बिक्रीदर ३६.५३

कतारी रियाल: खरिददर ३७.४३, बिक्रीदर ३७.५९

थाई भाट: खरिददर ४.०७, बिक्रीदर ४.०९

युएई दिराम: खरिददर ३७.१४, बिक्रीदर ३७.३१

मलेसियन रिङ्गेट: खरिददर ३१.१९, बिक्रीदर ३१.३३

साउथ कोरियन वन (१०० वन): खरिददर ९.४८, बिक्रीदर ९.५२

युरोपेली मुद्राहरूमा:

स्विडिस क्रोनर: खरिददर १४.०८, बिक्रीदर १४.१४

डेनिस क्रोनर: खरिददर २०.७७, बिक्रीदर २०.८६

खाडी मुलुकका मुद्रातर्फ:

हङकङ डलर: खरिददर १७.५९, बिक्रीदर १७.६७

कुवेती दिनार: खरिददर ४४४.९३, बिक्रीदर ४४६.८९

बहराइन दिनार: खरिददर ३६१.९५, बिक्रीदर ३६३.५४

ओमनी रियाल: खरिददर ३५४.३४, बिक्रीदर ३५५.९०

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले उक्त विनिमयदर आवश्यकतानुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने स्पष्ट पारेको छ। यस्तै, वाणिज्य बैंकहरूले तोक्ने दर खुला बजारको आधारमा केही फरक हुन सक्ने र अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

चन्द्रागिरि नगरपालिकाको दिगो विकास मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

0

काठमाडौँ: चन्द्रागिरि नगरपालिकाले दिगो विकास लक्ष्य (एसडीजी) को स्थानीय स्वैच्छिक मूल्याङ्कन (Voluntary Local Review – VLR) प्रतिवेदनको नेपाली संस्करण र कार्ययोजना ढाँचा सार्वजनिक गरेको छ।

नगर प्रमुख घनश्याम गिरीले उक्त प्रतिवेदन संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिसक्नुभएको जानकारी दिँदै नगरपालिकाले ‘राम्रो स्वास्थ्य र समृद्धि’, ‘गुणस्तरीय, समावेशी तथा समानतामूलक शिक्षा’, ‘लैङ्गिक समानता’, ‘स्वच्छ खानेपानी र सरसफाइ’ र ‘दिगो शहर र समुदाय’ भन्ने पाँच प्रमुख लक्ष्यमा प्राथमिकता दिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “समृद्धिको आधार भौतिक पूर्वाधार मात्र होइन, आर्थिक, सामाजिक र प्रविधियुक्त संरचना हो। नगरपालिकाले यी लक्ष्यमा केन्द्रित नीति, कार्यक्रम र बजेटमार्फत सही मार्गमा अघि बढिरहेको छ।”

नगरले एसडीजीसँग मेल खाने बजेट साङ्केतिकरण अभ्यास पनि थालिएको छ, जुन एशिया–प्रशान्त क्षेत्रमा नवप्रवर्तनको उदाहरणका रूपमा लिइएको छ।

नगर सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले पनि दिगो विकासका लक्ष्य हासिल गर्न नीति, कार्यक्रम र बजेट समन्वय गरिएको जानकारी दिनुभयो। कार्यक्रममा युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा प्रधानले स्वैच्छिक मूल्याङ्कन प्रतिवेदनको महत्वबारे प्रकाश पार्नुभयो।

सो कार्यक्रममा नगरका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो। कार्ययोजना ढाँचा सम्बन्धी छुट्टै प्रस्तुति पनि गरिएको थियो।

मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई रु ५० हजार जरिवाना

0

झापा: मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीहरूको अनुगमन तीव्र बनाएको छ। बजार अनुगमनका क्रममा म्याद गुज्रिएको उपभोग्य सामग्री फेला परेपछि व्यवसायीलाई जरिवाना गरिएको छ भने सहकारीहरूलाई सचेत गराइएको छ।

नगर उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा भएको अनुगमनमा मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगमा म्याद सकिएका पास्ता, सुजी र मैदा फेला परेको थियो। उपभोक्ताको हकमा लापरबाही गरेको भन्दै उद्योग सञ्चालक पुष्पा जैसवाल चौधरीलाई नगरपालिकाले रु ५० हजार जरिवाना गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। जरिवाना तिरेपछि लापरबाही नदोहोर्‍याउने सर्तमा उद्योगको तालो खोलिएको हो।

अनुगमन टोलीले मेचीनगर–१० स्थित नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ को सिङ्गापुर बेभरेज नेपाल प्रालिमा पनि अनुगमन गरेको थियो। सरसफाइमा कमजोरी देखिएकाले नन्दा फुड इन्डस्ट्रिजलाई सचेत गराउँदै सुधार गर्न निर्देशन दिइएको खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए।

यता, नगरपालिकाको सहकारी समन्वय समितिले मेचीनगरका १५ सहकारी संस्थामा स्थलगत अनुगमन गरेको छ। समितिका सचिवसमेत रहेका अधिकृत कार्कीका अनुसार आठ सहकारीले सहकारी मूल्य र मान्यता पालना नगरेको पाइएकाले सुधारका लागि सुझाव दिइएको हो।

अनुगमन गरिएका सहकारीमध्ये मेचीनगर–१० को लङ्कासरी महिला संवृद्धि, तारावारी शान्ति, मेचीनगर–१४ को आपसी समाज, विहानी, मेचीनगर–१२ को सामूहिक अभियान, सब्जीमण्डी कृषि, चारआली तथा मेचीनगर–१३ को आशावादी बहुउद्देश्यीय सहकारी संस्थाहरू रहेका छन्। यस्तै, मेचीनगर–१ देखि ५ सम्मका कृष्ण थुम्की, बौद्धमोड, प्रेरणा, ब्रह्माण्ड अपाङ्ग तथा महिला, पानस, साना किसान, र नकलबन्दा सहकारी संस्थाहरूको पनि अनुगमन गरिएको छ।

अनुगमनमा केही सहकारीमा सञ्चालक समिति बैठक नियमित नभएको, विना धितो ऋण प्रवाह, कर्मचारीलाई नियुक्तिपत्र नदिएको, ऋण फाइलमा आवश्यक कागजात नराखिएको, मासिक प्रतिवेदन नबनाएको, सूचना नटाँसेको, साधारणसभा नगरेको, सदस्य शिक्षा कार्यक्रम नचालिएको, र कर्जा जोखिम कोषको व्यवस्था नभएको जस्ता समस्या देखिएको थियो।

अनुगमन टोलीमा समिति सदस्य दुर्गाप्रसाद सापकोटा, बीपी भट्टराई, जगन्नाथ भट्टराई र सचिव कार्की सहभागी थिए।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उपभोक्ताको अधिकार सुरक्षित गर्न बजार, सहकारी र अन्य क्षेत्रमा नियमित र प्रभावकारी अनुगमन गरिने बताए।

उपप्रमुख उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमन टोलीमा राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य निरीक्षक सङ्गीता साह, प्रशासनका हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालयका सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालयका विजयनन्द चौधरी, उद्योग वाणिज्य संघका विष्णु बुढाथोकी र प्रहरी सहभागी थिए।

महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल

0

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गरी सङ्घलाई एकताबद्ध बनाउन सहयोग गर्न सबै पक्षलाई अपिल गरेको छ।

समितिका संयोजक एवं एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले विज्ञप्ति जारी गर्दै संस्थापक सदस्य, पूर्वअध्यक्षहरू तथा उच्चस्तरीय समितिका सदस्यहरूलाई महाधिवेशनको वातावरण बनाउन खुला छलफलमा सहभागी हुन आह्वान गरेका छन्।

उनले भनेका छन्, “अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ उपलब्धि हासिल गर्न लाग्नुपर्ने समय यही हो। विगतमा को–कोले के–के गरे भन्ने कुरा अहिले छाडौं। तोकिएको मितिमा महाधिवेशन आयोजना गर्नु नै एकताको सूत्र हो। फुटेर होइन, जुटेर अगाडि बढौं।”

संयोजक घलेले हाल देखिएको समस्याको समाधानका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्न, संस्थालाई बलियो र एकजुट बनाउन र खुला संवादमार्फत साझा मार्ग निकाल्न आग्रह गरेका छन्।

भूकम्पको एक दशक: ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’- बारपाकवासी

0

बारपाक (गोरखा): ऐतिहासिक, वीरताको गाथा बोकेको गोरखाको बारपाक गाउँ अहिले भूकम्पपछिको पुनःनिर्माणले नयाँ स्वरुप पाउँदै पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ। २०७२ साल वैशाख १२ गते बिहान ११:५६ मा गएको ७.८ म्याग्नेच्युडको विनाशकारी भूकम्पको केन्द्रविन्दु यही गाउँ थियो।

ढुङ्गा र काठबाट बनेका एकै शैलीका करिब १,३०० भन्दा बढी घरले भरिएको बारपाकको पुरानो मौलिकता र सौन्दर्य एकाएक माटोमा मिलेको थियो। ७२ जनाको ज्यान गएको यस भूकम्पले गाउँका सबै घरहरू ध्वस्त बनायो।

तर अहिले १० वर्षपछि बारपाक फेरिएको छ—घरहरू नयाँ शैलीमा बनेका छन्, सडक र संरचनाहरू व्यवस्थित छन्। झण्डै १,४५० भन्दा बढी घरहरू पुनःनिर्माण भइसकेका छन्।

स्थानीयवासी सुशीला घले भन्छिन्, “परम्परागत शैलीमा फर्कन हामी डरायौँ। ढुङ्गा र काठका पुराना घरहरू सुन्दर थिए, तर सुरक्षित ठानिएन। त्यसैले आधुनिक घरहरू बनाउनु बाध्यता बन्यो।”

वडाध्यक्ष घनबहादुर घलेका अनुसार, “बारपाक अझै पनि बारपाक नै हो, तर पुरानो मौलिक शैली अब हराइसकेको छ। अहिले हामी नयाँ र आधुनिक बारपाकमा बाँचिरहेका छौँ।”

पर्यटकीय आकर्षणमा रूपान्तरण
पुनःनिर्माणसँगै बारपाकमा पर्यटकीय सम्भावनाहरू पनि फस्टाउँदै गएका छन्। गाउँपालिकाको पहलमा भित्रिएको ‘बुद्ध पार्क’ अहिले प्रमुख पर्यटकीय आकर्षण बनेको छ। ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको यस पार्कमा बारपाकको इतिहास, कला र संस्कृति झल्कने सजावट छन्, साथै पाँच फिट अग्लो बुद्धको मूर्ति पनि आकर्षणको केन्द्र बनेको छ।

त्यस्तै, बौद्ध धर्मसँग सम्बन्धित सामग्री तथा ‘भ्यू टावर’ जस्ता संरचनाहरूले गाउँको समग्र दृश्यावलोकन सम्भव बनाएका छन्। स्मृति उद्यानको निर्माण अन्तिम चरणमा रहेको र यसको लागत १५ करोड ५१ लाख रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार, “बारपाक अहिले पहाडको शहर झैँ बन्दैछ। भूकम्पपछिको बारपाक न केवल तङ्ग्रिएको छ, बरु पर्यटकहरूका लागि आकर्षक गन्तव्य पनि बन्दै गएको छ।”

दलित बस्ती अझै टहरामै
यद्यपि बारपाकमा अधिकांश पुनःनिर्माण कार्य सम्पन्न भइसकेका छन्, दलित समुदाय भने अझै पनि पुनःस्थापनाको प्रतीक्षामा छन्। बारपाक सुलिकोट गाउँपालिका–१ की वडासदस्य लक्ष्मी विकका अनुसार, गैह्रागाउँका १५ दलित परिवार अझै पनि अस्थायी टहरामा बस्न बाध्य छन्।

“साबिक बस्ती जोखिमयुक्त रहेकाले त्यहाँ घर बनाउन मिल्दैन,” उहाँले बताउनुभयो, “जग्गाको अभावका कारण उनीहरू सरकारी जग्गामा अस्थायी टहरामा बसिरहेका छन्।”

सत्ता गठबन्धनमा कुनै खटपट छैन : देउवा

0

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र कुनै पनि विवाद नरहेको बताएका छन्।

थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गठबन्धनमा खटपटको चर्चा निराधार भएको बताए।

“गठबन्धनभित्र केही समस्या आएको हो?” भन्ने प्रश्नमा देउवाले स्पष्ट पार्दै भने, “त्यस्तो केही होइन। सत्ता समीकरण परिवर्तन हुने चर्चा पनि सत्य होइन।”

सभापति देउवा पत्नी आरजु राणा देउवासहित पारिवारिक भ्रमणमा थाइल्यान्ड गएका थिए।

सङ्घीय संसद्को अधिवेशन आजदेखि

0

काठमाडौँ: सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेदेखि प्रारम्भ हुँदैछ। संसद् अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको हो।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार, आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यक्रम रहेको छ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावना छ। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूलाई मन्तव्य व्यक्त गर्न समय दिइनेछ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नुहुनेछ। व्यवस्थापन पक्षमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसअघि हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। संविधानको व्यवस्था अनुसार, प्रत्येक वर्षको पहिलो अधिवेशनपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न सक्ने प्रावधान रहेको छ। यसै अनुरूप राष्ट्रपतिको सम्बोधन यही अधिवेशनमा हुनेछ।

आगामी जेठ १५ गते अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरिने छ। त्यसअघि वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने र ‘प्रि बजेट’ छलफल वैशाख २८ गतेदेखि प्रारम्भ हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो। हालको व्यवस्थाअनुसार, बजेट प्रस्तुत हुनु १५ दिनअघि नै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ।

यस अधिवेशनमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल हुने र संघीय निजामती सेवा ऐन तथा विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयास हुने सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको उहाँको भनाइ छ।