Tuesday, June 30, 2026
Homeसामाचारभूकम्पको एक दशक: ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’- बारपाकवासी

भूकम्पको एक दशक: ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’- बारपाकवासी

बारपाक (गोरखा): ऐतिहासिक, वीरताको गाथा बोकेको गोरखाको बारपाक गाउँ अहिले भूकम्पपछिको पुनःनिर्माणले नयाँ स्वरुप पाउँदै पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ। २०७२ साल वैशाख १२ गते बिहान ११:५६ मा गएको ७.८ म्याग्नेच्युडको विनाशकारी भूकम्पको केन्द्रविन्दु यही गाउँ थियो।

ढुङ्गा र काठबाट बनेका एकै शैलीका करिब १,३०० भन्दा बढी घरले भरिएको बारपाकको पुरानो मौलिकता र सौन्दर्य एकाएक माटोमा मिलेको थियो। ७२ जनाको ज्यान गएको यस भूकम्पले गाउँका सबै घरहरू ध्वस्त बनायो।

तर अहिले १० वर्षपछि बारपाक फेरिएको छ—घरहरू नयाँ शैलीमा बनेका छन्, सडक र संरचनाहरू व्यवस्थित छन्। झण्डै १,४५० भन्दा बढी घरहरू पुनःनिर्माण भइसकेका छन्।

स्थानीयवासी सुशीला घले भन्छिन्, “परम्परागत शैलीमा फर्कन हामी डरायौँ। ढुङ्गा र काठका पुराना घरहरू सुन्दर थिए, तर सुरक्षित ठानिएन। त्यसैले आधुनिक घरहरू बनाउनु बाध्यता बन्यो।”

वडाध्यक्ष घनबहादुर घलेका अनुसार, “बारपाक अझै पनि बारपाक नै हो, तर पुरानो मौलिक शैली अब हराइसकेको छ। अहिले हामी नयाँ र आधुनिक बारपाकमा बाँचिरहेका छौँ।”

पर्यटकीय आकर्षणमा रूपान्तरण
पुनःनिर्माणसँगै बारपाकमा पर्यटकीय सम्भावनाहरू पनि फस्टाउँदै गएका छन्। गाउँपालिकाको पहलमा भित्रिएको ‘बुद्ध पार्क’ अहिले प्रमुख पर्यटकीय आकर्षण बनेको छ। ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको यस पार्कमा बारपाकको इतिहास, कला र संस्कृति झल्कने सजावट छन्, साथै पाँच फिट अग्लो बुद्धको मूर्ति पनि आकर्षणको केन्द्र बनेको छ।

त्यस्तै, बौद्ध धर्मसँग सम्बन्धित सामग्री तथा ‘भ्यू टावर’ जस्ता संरचनाहरूले गाउँको समग्र दृश्यावलोकन सम्भव बनाएका छन्। स्मृति उद्यानको निर्माण अन्तिम चरणमा रहेको र यसको लागत १५ करोड ५१ लाख रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार, “बारपाक अहिले पहाडको शहर झैँ बन्दैछ। भूकम्पपछिको बारपाक न केवल तङ्ग्रिएको छ, बरु पर्यटकहरूका लागि आकर्षक गन्तव्य पनि बन्दै गएको छ।”

दलित बस्ती अझै टहरामै
यद्यपि बारपाकमा अधिकांश पुनःनिर्माण कार्य सम्पन्न भइसकेका छन्, दलित समुदाय भने अझै पनि पुनःस्थापनाको प्रतीक्षामा छन्। बारपाक सुलिकोट गाउँपालिका–१ की वडासदस्य लक्ष्मी विकका अनुसार, गैह्रागाउँका १५ दलित परिवार अझै पनि अस्थायी टहरामा बस्न बाध्य छन्।

“साबिक बस्ती जोखिमयुक्त रहेकाले त्यहाँ घर बनाउन मिल्दैन,” उहाँले बताउनुभयो, “जग्गाको अभावका कारण उनीहरू सरकारी जग्गामा अस्थायी टहरामा बसिरहेका छन्।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका