काठमाडौं। भारतीय पक्षले लगाएको अवरोध हटेसँगै नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहल र भारतीय पक्षसँग भएको निरन्तर संवादपछि आजदेखि चिया निकासी सहज रूपमा सुरु भएको हो।
भारतीय पक्षले गुणस्तर परीक्षणको कारण देखाउँदै नेपाली चिया आयातमा अवरोध गरेपछि केही समयदेखि निर्यात प्रभावित भएको थियो। त्यसको प्रत्यक्ष असरस्वरूप झापाका ३० वटा सीटीसी र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग गत असार १ गतेदेखि बन्द भएका थिए।
चिया उद्योगमा उत्पन्न संकटप्रति सरकारले उच्च प्राथमिकता दिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि उद्योग मन्त्रालयले भारतीय अधिकारीहरूसँग कूटनीतिक तथा प्राविधिक तहमा निरन्तर छलफल गर्दै समस्या समाधानका लागि पहल गरेको जनाएको छ।
मन्त्रालयका अनुसार अब गुणस्तर परीक्षण वा अन्य कुनै बहानामा नेपाली चिया निर्यातमा अवरोध नपुर्याउने सहमति भएको छ। यससँगै चिया उद्योग, किसान तथा मजदुरहरूले राहत महसुस गरेका छन् भने बन्द रहेका ९५ वटा चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्।


