Tuesday, June 30, 2026
Home Blog Page 488

क्यानडाको आम चुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टी विजयी

0

अटोवा: क्यानडाको आम चुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले स्पष्ट बहुमतसहित जित हासिल गरेको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि, प्रधानमन्त्री बन्न लागेका कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कडा टिप्पणी गरे।

प्रधानमन्त्री कार्नीले भने, “राष्ट्रपति ट्रम्पले हामीलाई विभाजित गर्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि प्रभुत्व जमाउन सकोस् — तर त्यो कहिल्यै सम्भव हुने छैन।”

उनी थप्छन्, “अमेरिकासँगको हाम्रो परम्परागत सम्बन्ध अब समाप्त भएको छ। हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौं। अब हामीले एक अर्काको ख्याल राख्नुपर्छ।”

राष्ट्रपति ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की दिँदै आएका छन् र यसअघि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विचारसमेत सार्वजनिक गरेका थिए।

यसबीच, न्यु डेमोक्रेटिक पार्टी (एनडीपी) ले ठूलो हार बेहोरेको छ। पराजयपछि पार्टी नेता जगमीत सिंहले राजीनाको घोषणा गरेका छन्। उनले भने, “यो न्यु डेमोक्र्याटहरूका लागि निराशाको रात हो।”

एनडीपीको प्रदर्शन अत्यन्तै कमजोर देखिएको छ। प्रारम्भिक नतिजाहरू अनुसार, पार्टीले आठ सिटमै सीमित हुने अनुमान गरिएको छ, जबकि हाउस अफ कमन्समा दलको मान्यता प्राप्त गर्न कम्तिमा १२ सिट आवश्यक पर्छ।

पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा

0

काठमाडौँ: भारत भ्रमणमा रहनुभएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको छ।

डा. भट्टराईले भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएको छ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले हालै कश्मीरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गर्नुभएको थियो।

डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका लागि भारत भ्रमणमा रहनुभएको हो।

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

0

रुपन्देही: पर्यटकलाई सेवा दिने उद्देश्यले लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याएका विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन बन्दै गएका छन्।

एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत क्लिन इनर्जी फण्डबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारीसाधन लुम्बिनी क्षेत्रमा ल्याइएको थियो।

लुम्बिनीमा भित्र्याइएका १४ भ्यान र पाँच बस वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमताको व्यवस्था छ। यी सवारीसाधनहरू एकपटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्छन् भने कार्डमार्फत भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ।

यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्र अनियन्त्रित भई दुर्घटना भएको थियो। सेतो नम्बर प्लेट भएका यी सवारीसाधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न सर्वोच्च अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको थियो। तर लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँका अनुसार तोकिएको समयसीमा सकिए पनि स्थिति यथावत् छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “कानुनी अस्पष्टताका कारण सेतो नम्बर प्लेट भएका सवारीसाधनलाई प्रयोगमा ल्याउन कठिनाइ भएको थियो। अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ र अब हरियो प्लेट बनाएर उद्देश्यअनुसार प्रयोगमा ल्याइनेछ।”

लामो समयसम्म खुला आकाशमुनि राख्दा जाम हुने, बिग्रने र ब्याट्री डिस्चार्ज हुने जोखिम बढेपछि कोषले आन्तरिक प्रयोजनका लागि सवारीसाधनहरू प्रयोग गरेको थियो। यस क्रममा केही साधनमा सामान्य क्षति पुगेको भए पनि आगामी दिनमा यस्तो नहोस् भन्ने ध्यान दिइने कोषले जनाएको छ।

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

0

मध्यविन्दु (नवलपरासी): नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन आगामी वैशाख ३१ गतेसम्म बन्द हुने भएको छ।

यसअघि वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाई सडक विस्तारको काम हुँदै आएको थियो। सो रोकलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो।

प्रमुख पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य अझै केही दिन चल्ने भएकाले प्रत्येक रात ११ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म सवारी आवागमन बन्द रहनेछ।

“दाउन्ने खण्डमा आवश्यक सडक मर्मत र निर्माण कार्यलाई तीव्रता दिन रातको समयमा सवारीसाधन सञ्चालन रोकी काम भइरहेको छ,” उहाँले भन्नुभयो, “भित्तातर्फ कटिङ बाँकी काम वर्षाअगावै सम्पन्न गर्नका लागि केही दिन आवागमन बन्द गर्ने निर्णय गरिएको हो।”

यसअघि चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० बजेदेखि ३ः०० बजेसम्म र वैशाख १ गतेदेखि रातिको ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाई सडक विस्तारको काम हुँदै आएको थियो।

हाल दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो।

नारायणगढ–बुटवल सडक परियोजनाअन्तर्गत ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा सडक विस्तार भइरहेको छ। बजार क्षेत्रमा सर्भिस लेनसहित सडक निर्माण भइरहे पनि जोखिम बढी रहेको दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तार कार्य जारी छ।

रु १७ अर्ब लागतमा निर्माणाधीन सो सडकको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले अहिलेसम्म तीनपटक म्याद थप गरिसकेको छ। तेस्रोपटक थपिएको म्याद आगामी २०८२ साउन ८ गतेसम्म रहेको छ।

यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

0

तानसेन (पाल्पा): पाल्पास्थित यातायात व्यवस्था सेवा कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा १७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

कार्यालयले नयाँ सवारी दर्ता, नवीकरण, सवारी चालक अनुमतिपत्र वितरणलगायत सेवाबाट साउनदेखि चैत मसान्तसम्म रु १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको जनाएको छ।

कार्यालय प्रमुख लक्ष्मण घिमिरेका अनुसार सो अवधिमा चालक अनुमतिपत्र र सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० तथा सवारी साधन करबाट रु १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको छ।

प्रमुख घिमिरेले गत वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा वृद्धि भएको उल्लेख गर्दै भने, “चालक अनुमतिपत्र तथा सवारी साधनको सङ्ख्या वृद्धि हुनु र सेवाप्रवाहमा छिटोछरितो हुनु राजस्व बढ्नाका मुख्य कारण हुन्।”

गत आवको सोही अवधिमा कार्यालयले रु १४ करोड ७४ लाख राजस्व सङ्कलन गरेको थियो। अघिल्लो आवको अन्त्यसम्म कार्यालयले कुल रु १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व उठाएको थियो। चालु आव सकिन अझै तीन महिना बाँकी रहेकाले यो वर्ष राजस्व सङ्कलन अघिल्लो वर्षको तुलनामा अझै बढ्ने निश्चित भएको छ।

गत पूरै आवमा चालक अनुमतिपत्र र सवारी दर्ता किताबबाट रु दुई करोड ४५ लाख २८ हजार मात्र सङ्कलन भएकोमा चालु आवको नौ महिनामै यो सङ्क्याको नजिक पुगेको कार्यालयले जनाएको छ। यस्तै, अघिल्लो वर्ष सवारी करबाट रु १५ करोड ४७ लाख ४३ हजार ७३५ सङ्कलन भएकोमा चालु आवको नौ महिनामै उक्त आँकडासँग दाँजिने गरी राजस्व उठेको छ।

यसैबीच, चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानी शीर्षकमा रु १८ लाख ४६ हजार ७०० र आयकर शीर्षकमा रु ४५ लाख ६८ हजार ६२५ राजस्व सङ्कलन भएको प्रमुख घिमिरेले बताए।

कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाका अनुसार अघिल्लो आवको पूरै अवधिमा आयकरतर्फ रु ५६ लाख ५८ हजार ६६० सङ्कलन गरिएको थियो। चालु आवको नौ महिनाको तुलनामा अघिल्लो वर्ष सोही अवधिमा समग्रमा करिब चार करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको उनले जानकारी दिइन्।

हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुट परमिट र सवारी जाँचपास शीर्षकमा आयकर सङ्कलन गर्दै आएको छ। चालु आवको चैत मसान्तसम्ममा कार्यालयले चालक अनुमतिपत्रतर्फ दुई हजार ३२५ नयाँ लाइसेन्स, पाँच सय ३१ थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखित परीक्षाबाट राजस्व सङ्कलन गरेको छ।

सवारीतर्फ कार्यालयले २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० वटा पटके नवीकरण, नौ सय चार जाँचपास तथा नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको जनाएको छ।

रौतहटमा १४ वर्षीय बालकको अपहरणपछि हत्या, आरोपीहरूमाथि कडा कारबाहीको माग

0

रौतहट: रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ मा १४ वर्षीय कृष्ण प्रसाद यादवको अपहरणपछि हत्या भएको घटनाले स्थानीय समुदायलाई गहिरो मर्माहत बनाएको छ।

स्थानीयवासीका अनुसार बालकको अपहरण र निर्मम हत्या प्रकरणमा संलग्न रहेका नागेन्द्र सहनी, साधु भनिने नागेन्द्र सहनी, विकास पटेल र अनिल साह विरुद्ध कडा कानुनी कारबाहीको माग गरिएको छ।

पीडित परिवार र स्थानीय समुदायले अपराधमा संलग्न सबै व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनुका साथै पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायहरूलाई आह्वान गरेका छन्। उनीहरूले भनेका छन्, “हामीलाई विश्वास छ कि सम्बन्धित निकायबाट सकारात्मक सहयोग प्राप्त हुनेछ, जसले हाम्रो समाजमा न्याय स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

यस घटनाले पुनः एकपटक बालबालिकाको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको छ। प्रहरीका अनुसार हाल घटनाको अनुसन्धान तीव्र पारिएको छ र दोषीहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षाकर्मीहरू सक्रिय रूपमा परिचालित भएका छन्।

एनआरएनएको एकता महाधिवेशन निर्धारित मितिमै गर्न प्रतिनिधिहरूको माग

0

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने माग गर्दै काठमाडौं आइपुगेका प्रतिनिधिहरूले स्पष्ट धारणा व्यक्त गरेका छन्।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले वैशाख २०–२२ गते (मे ३–५, २०२५) काठमाडौंमा आयोजना गर्न आह्वान गरेको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा, सोमबार बेलुका बालुवाटारस्थित नेपाल हाउस क्याफेमा भेला भएका प्रतिनिधिहरूले कुनै हालतमा महाधिवेशन सार्न नहुने माग गरेका हुन्।

स्विजरल्याण्डबाट आएका एनआरएन अभियन्ता गुणराज शर्मा (गुराँस पौडेल) ले लामो समयदेखि विवादमा अल्झिएको संस्थालाई निकास दिन भनेर प्रतिनिधिहरू छुट्टी मिलाएर र महँगो टिकट काटेर आएका हुँदा अब कुनै पनि बहानामा महाधिवेशन स्थगित गर्नु अस्वीकार्य हुने बताए। उनले महाधिवेशनलाई साँचो अर्थमा “एकताको महाधिवेशन” बनाउन सबै पक्षलाई एकजुट हुन आह्वान गरे।

नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष शशी पौड्यालले वैधानिक अधिवेशन सम्पन्न गरी सबल, सक्षम र सर्वसम्मत कार्यसमिति चयन गर्नुपर्नेमा जोड दिए। बेलायतबाट आएका विश्वासदीप तिगेलाले विधिको सम्मान गर्दै संस्थालाई अब अन्योलबाट मुक्त गरिनु पर्ने धारणा राखे।

एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष तथा पूर्व गोर्खा सैनिक प्रेम गाहा मगरले केही स्वार्थी समूहले संस्थालाई “कमाइ खाने भाँडो” बनाएको आरोप लगाउँदै मातृभूमि र समाजसेवाको भावना लिएर एकता कायम गर्नुपर्नेमा जोड दिए।

कतारका व्यवसायी तथा अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले सर्वोच्च अदालतको आदेशको पालना गर्दै नेपाल सरकारले पनि महाधिवेशन सफल बनाउन सहयोग गर्नुपर्ने बताए। जापानका महेश कुमार श्रेष्ठले महाधिवेशन सार्ने सम्भावना असम्भव रहेको बताउँदै, साना विवादलाई अदालत लैजाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने सुझाव दिए।

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौड्यालले उत्तर अमेरिका, युरोप, मध्यपूर्व र एसिया क्षेत्रका सयौं प्रतिनिधिहरू काठमाडौं आइपुगेको उल्लेख गर्दै, महाधिवेशन सम्पन्नपछि एनआरएन नागरिकता, श्रमिक, गोर्खा तथा लगानीका मुद्दामा सरकारसँग पहल गर्नुपर्ने बताए।

त्यस्तै, बेलायतका थर्क सेनले न्यायालयले दिएको अवसरलाई सदुपयोग गर्दै संस्थालाई सभ्य ढंगले अघि बढाउनुपर्ने धारणा राखे। मलेसियाबाट आएका खगेन्द्र न्यौपानेले निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै प्रतिनिधिलाई सक्रिय सहभागिताको अपिल गरे।

कार्यक्रममा योगेन क्षेत्री (यूके), डीबी क्षेत्री (ओमान), आशिष पन्त (कतार), गोविन्द श्रेष्ठ (जापान), चिन्तामणि सापकोटा (स्पेन), भीम बहादुर गुरुङ (सिंगापुर), राजकुमार भुजेल (क्याम्बोडिया) र मनोज गोर्खाली (युएई) लगायतका अभियन्ताहरूले विगतका तिक्तता बिर्सेर महाधिवेशनलाई सफल बनाउन एकताबद्ध हुनुपर्नेमा जोड दिए।

सर्लाहीमा सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’

0

बरहथवा (सर्लाही): सर्लाहीमा ६९१ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्न सकिने सम्भावना भए पनि हाल वार्षिक रूपमा मात्र ५० हेक्टरमा खेती हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा पनि क्षेत्र विस्तार हुन सकेको छैन।

परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहका अनुसार, जिल्लामा बर्खे धानखेती ४५ हजार ९५० हेक्टरमा हुँदै आएको छ र वार्षिक उत्पादन करिब एक लाख ६७ हजार २५८ मेट्रिक टन रहेको छ। सर्लाहीको समथर भूभाग कृषि उत्पादनका लागि उपयुक्त भए पनि किसानहरू चैते धानखेतीमा खासै आकर्षित हुन सकेका छैनन्।

चैते धानखेती विस्तार गर्ने उद्देश्यले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई ‘धान जोन’ क्षेत्र घोषणा गरिए पनि अपेक्षित परिणाम आउन सकेको छैन। विसं २०७३ बाट सुरु भएको परियोजना २०७७/७८ सम्म सञ्चालनमा आएको थियो। परियोजनाले तालिम, कृषि उपकरण र सिँचाइ सामग्रीमा अनुदान दिएर प्रोत्साहित गरे पनि पकेट क्षेत्रमै खेती विस्तार गर्न नसकेको जनाएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार, हाल जिल्लाका ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा जम्मा ५० हेक्टरमा मात्र चैते धानखेती भइरहेको छ। सबैभन्दा धेरै ईश्वरपुरमा २० हेक्टर र लालबन्दी तथा बरहथवामा १०–१० हेक्टरमा खेती हुँदै आएको छ।

सिँचाइ अभाव मुख्य समस्या

चैते धानखेतीको विस्तार नहुनुमा सिँचाइ अभाव प्रमुख कारण रहेको किसानहरूको गुनासो छ। यस बालीका लागि सिजनभर करिब १३ पटक पानी पटाउनु पर्ने भएकाले सिँचाइको व्यवस्थित अभाव ठूलो चुनौती बनेको छ। कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायका अनुसार, चैते धानखेतीका लागि तीनदेखि पाँच दिनमा एकपटक पानी आवश्यक हुन्छ, तर सिँचाइको उचित प्रबन्ध नभएकाले खेती विस्तार सम्भव भएको छैन।

धेरै किसानले पम्पसेट र विद्युतीय मोटरको प्रयोग गरेर सिँचाइ गर्ने प्रयास गरे पनि समस्या समाधान नभएको बताइन्छ। स्थानीय तहले प्रभावकारी सिँचाइ व्यवस्था गरेमा चैते धानखेती र उत्पादन दुबै बढ्ने किसानहरूको विश्वास छ।

केन्द्र प्रमुख साहका अनुसार, चैते धानको उत्पादकत्व बर्खे धानभन्दा उच्च छ। बर्खे धानको प्रतिहेक्टर उत्पादन ३.६४ मेट्रिक टन रहे पनि चैते धानको उत्पादन ४.६६ मेट्रिक टन पुगेको छ। यसले किसानलाई थप लाभ लिन सक्ने अवसर प्रदान गर्छ। यदि चैते धानखेतीको क्षेत्रफल कम्तीमा सय हेक्टरमा पुर्‍याउन सके, धानको आयात प्रतिस्थापनमा समेत मद्दत पुग्ने उहाँले बताउनुभयो।

मूल्य र बजारको समस्या

अधिकांश किसानले बर्खे धान घरायसी उपभोगका लागि प्रयोग गर्ने हुँदा चैते धानबाट दैनिक खर्च टार्ने गरेको पाइएको छ। तर, चैते धानको उचित मूल्य नपाउँदा किसान आकर्षित हुन नसकेको ईश्वरपुरका किसान रामभरोसी यादवले बताउनुभयो। उहाँले सरकारले चैते धानका लागि पनि उचित समर्थन मूल्य तोक्नुपर्ने माग गर्नुभयो।

चैते धानखेतीको समयमा मुख्य सिँचाइ आयोजना बागमती सिँचाइ परियोजनालगायत अन्य ब्यारेजहरूमा पानीको सतह घट्ने समस्या रहेको छ। यसले गर्दा किसानले डिपबोरिङ र रोअल पम्पमा निर्भर रहनु परेको पर्सा गाउँपालिका–२ का किसान महिन्द्र साहले गुनासो गर्नुभयो। उहाँले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर दीर्घकालीन सिँचाइ समाधान गरेमा मात्र चैते धानखेतीको सम्भावना विस्तार हुनसक्ने बताउनुभयो।

सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षसहित स्थगित

0

काठमाडौँ: सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ। राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा केही विषयमा तयारी आवश्यक परेकाले अन्तिम सहमति हुन नसकेको हो।

सरकारतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नुभएको थियो भने महासङ्घतर्फ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोली सहभागी थियो। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, “केही विषय टुङ्गो लगाउन बाँकी छ। तर, समग्रमा वार्ता सकारात्मक रूपमा अघि बढिरहेको छ।”

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गर्ने सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै गम्भीरताका साथ वार्ता भइरहेको स्पष्ट पार्नुभयो। उहाँले महासङ्घसँगको वार्ता यथाशीघ्र निष्कर्षमा पुर्‍याउने सरकारको चाहना रहेको पनि जानकारी दिनुभयो।

महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भएको र धेरै विषयमा अझै विस्तृत छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले वार्ताबाट समाधान निस्किएपछि मात्रै आन्दोलन टुंगिने उल्लेख गर्नुभयो।

यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्ता र सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने आश्वासन दिनुभएको थियो। शिक्षकहरू विद्यालय शिक्षा ऐन संशोधनलगायत माग अघि सार्दै गत चैत २० गतेदेखि राजधानी काठमाडौँमा आन्दोलनरत छन्।

भारत र फ्रान्सबीच २६ राफेल लडाकु विमान खरिद सम्झौता

0

काठमाडौं: भारत र फ्रान्सले सोमबार भारतीय नौसेनाका लागि २६ वटा राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, सम्झौताअनुसार विमानहरूको कुल लागत करिब ६४ हजार करोड भारतीय रुपैयाँ रहनेछ।

भारतले यी विमानहरू फ्रान्सेली रक्षा कम्पनी डसॉल्ट एभिएसनबाट खरिद गर्दैछ, जसलाई भारतीय नौसेनाको विमानवाहक पोत ‘आईएनएस विक्रान्त’मा तैनाथ गरिनेछ।