Wednesday, July 1, 2026
Home Blog Page 483

२८ वर्ष पुग्दा पनि नागरिकता विहीन अर्जुन भुजेल

0

इनरुवा (सुनसरी): नेपाल सरकारले १६ वर्ष उमेर पुगेपछि नागरिकता लिने व्यवस्था गरे पनि सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गरिरहेका २८ वर्षीय अर्जुन भुजेल हालसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन्।

आमाबुबाको अत्तोपत्तो छैन, कागजातको नाममा केही छैन। नागरिकताको आधार प्रमाण नहुँदा उहाँ सरकारी पहिचानबाट वञ्चित हुनु परेको हो।

“मलाई मेरो जन्मस्थल कहाँ हो थाहा छैन,” भुजेलले रासससँग भन्नुभयो, “आमाबुबाको नाम, थर, ठेगाना केही थाहा छैन।”

उहाँले बाल्यकाल विराटनगरस्थित कुनै बाल आश्रममा बिताउनुभएको थियो, तर कुन आश्रम थियो भन्नेसमेत उहाँलाई थाहा छैन। नौ वर्षको उमेरमा आश्रमबाट भागेर विराटनगरकै एक होटलमा काम गर्न थाल्नुभएको थियो।

केही समय होटलमा काम गरेर अनुभव बटुलेपछि अहिले इनरुवामा आएर न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आउनुभएको छ। एक वर्षदेखि यहाँ कार्यरत भुजेल पहिले ‘चङ्खे’ नामले चिनिन्थे, तर अहिले अर्जुन भुजेल नाम प्रयोग गर्दै आउनुभएको छ।

“न त आमाबुबा को हुन् थाहा छ, न जन्मथलो,” भुजेलले भन्नुभयो, “त्यसैले नागरिकता बनाउन नसकेको छु।”

उहाँले नागरिकता प्राप्तिमा सहयोगको अपेक्षा राख्दै सम्बन्धित निकायलाई पहल गर्न आग्रह गर्नुभएको छ।

सर्लाहीमा लिची बिक्री अहिलेसम्मकै उच्च मूल्यमा, आँपको ठेक्का खोलिँदै

0

बरहथवा (सर्लाही): उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले यस वर्ष लिची बिक्रीको ठेक्का अहिलेसम्मकै सबैभन्दा बढी मूल्यमा लगाएको छ। केन्द्रले उत्पादन भएको लिची रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो।

बागवानी केन्द्रले गत चैत २७ गते न्यूनतम रु २५ लाख ५१ हजारको मूल्यसहित ठेक्का सूचना प्रकाशित गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले सो ठेक्का स्वीकार गरेको केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो।

“यसपटक बागवानीको लिची सबभन्दा बढी मूल्यमा बिक्री भएको छ, यसबाट राजस्व वृद्धि भएको छ,” प्रमुख यादवले भन्नुभयो, “उत्पादन र ठेक्का प्रक्रिया दुबै व्यवस्थित बनाएकाले राजस्वमा पनि सकारात्मक प्रभाव परेको हो।”

बागवानी केन्द्रमा हाल ८.५ हेक्टर क्षेत्रफलमा ६२१ बोट लिचीखेती गरिएको छ। गत वर्ष रु २७ लाख १५ हजारमा लिचीको ठेक्का लागेको थियो। उत्पादनमा वृद्धि भएपछि ठेक्का मूल्य पनि बढेको केन्द्रले जनाएको छ। यहाँ नौवटा जातका लिची उत्पादन हुँदै आएका छन्।

त्यस्तै, बागवानी केन्द्रले यहाँ उत्पादन भएको आँप बिक्रीका लागि वैशाख १६ गते सूचना प्रकाशित गरिसकेको छ। न्यूनतम ठेक्का मूल्य रु ७१ लाख ११ हजार निर्धारण गरिएको छ। आँपको ठेक्का यही वैशाख ३१ गते खोलिनेछ।

बागवानी केन्द्रअन्तर्गत करिब एक सय बिघा क्षेत्रफलमा आँपखेती गरिएको छ, जसमा करिब ६ हजार आँपका रूख छन्। तीमध्ये वर्षेनि झण्डै ३,५०० रूखले फल दिने गरेका छन्। गत वर्ष आँप रु २१ लाखमा ठेक्का लागेको थियो।

यहाँ उत्पादन हुने आँपका जातमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत समावेश छन्। ठेकेदार समूहले उत्पादन भएको लिची र आँप काठमाडौं, हेटौँडा, चितवनलगायत देशका प्रमुख सहरमा आपूर्ति गर्ने गरेका छन्।

मुस्ताङमा चार महिनामा ५१ हजारभन्दा बढी विदेशी पर्यटक, सार्क मुलुकको उच्च उपस्थिति

0

मुस्ताङ: सन् २०२५ को जनवरीदेखि अप्रिल अन्तिमसम्म मुस्ताङमा ५१ हजार ८९६ विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार यो अवधिमा विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपले वृद्धि भएको हो।

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार, पछिल्लो समय मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रूपमा बढिरहेको छ। सन् २०२५ को चार महिनामा कुल आगमनमध्ये ४३ हजार १५१ पर्यटक सार्क राष्ट्रबाट र बाँकी आठ हजार ७४५ अन्य राष्ट्रबाट आएका थिए। अर्थात् कुल आगमनको ८३ प्रतिशत सार्क मुलुक र १७ प्रतिशत अन्य मुलुकका पर्यटक रहेका छन्।

महिनावार विवरण अनुसार, जनवरीमा ४,३४६, फेब्रुअरीमा ५,३३०, मार्चमा १९,०९५ र अप्रिलमा २३,१५२ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। सन् २०२४ को सोही अवधिको तुलनामा यस वर्ष ३६.६६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको हो। गत वर्षको पहिलो चार महिनामा ३७,९७४ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने यो वर्षको सोही अवधिमा ५१,८९६ पुगेका छन्।

मुस्ताङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक सभ्यता हेर्न ठूलो संख्यामा पर्यटक आकर्षित भइरहेका छन्। मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङका अनुसार हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर हेर्न विशेषगरी भारतीय पर्यटकको संख्या धेरै रहेको छ।

पर्यटन गन्तव्यका रूपमा मुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै उपल्लो मुस्ताङ क्षेत्रका कोरला नाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक, लोघेकर, चराङ, लुरी गुम्बा, दामोदर कुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताल जस्ता ठाउँहरू प्रमुख आकर्षण हुन्। ती स्थानहरूले गर्दा मुस्ताङ हाल आन्तरिक र बाह्य दुबै पर्यटकका लागि लोकप्रिय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

म्याग्दीको कुइनेमङ्गलेमा ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा

0

बेनी (म्याग्दी): म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइनेमङ्गलेमा निर्माण सम्पन्न भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी थालेको छ। संयुक्त ऊर्जा लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाको भौतिक पूर्वाधार तथा विद्युत्गृहमा जडान गरिएका उपकरणहरूको परीक्षण सुरु गरिएको प्लान्ट म्यानेजर विनोद पौडेलले जानकारी दिनुभयो।

पौडेलका अनुसार आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह तथा स्वीचयार्ड सम्बन्धी सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ। टर्बाइनलगायतका आवश्यक मेसिन उपकरणहरू जडान गरी परीक्षण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ। जेठ १ गतेभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिइएको छ।

कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा निर्माण गरिएको बाँधबाट सुरुङ र पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्मित विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर लामो पेनस्टक पाइप प्रयोग गरिएको छ।

करिब रु ३ अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत लगानी गैरआवासीय नेपाली र स्वदेशी नेपालीको छ भने बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ। नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले आयोजना वित्तीय साझेदारको रूपमा लगानी गरेका छन्।

आयोजनाको सिभिल निर्माण कार्य साकुरा पावर–त्रिपल एस जेभीले सम्पन्न गरेको हो भने इलेक्टो–मेकानिकल पक्षको जिम्मा टोयर हाइड्रोलाई दिइएको थियो।

निरन्तर वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

0

नवलपुर (नवलपरासी): गए रातिदेखि लगातार परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको दाउन्ने क्षेत्रमा वर्षापछिको चिप्लोपनले सवारीसाधन चलाउन कठिन भएपछि सडक पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।

उहाँका अनुसार सडक चिप्लिएर दुर्घटनाको जोखिम बढेपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो। यस सडकखण्डमा राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म दैनिकरूपमा विस्तारका लागि सडक बन्द गरिँदै आइएको छ। तर, निरन्तर वर्षाका कारण रातिदेखि नै सडक पूर्ण रूपमा अवरुद्ध हुँदा लामो सवारी लाइन लागेको बताइएको छ।

कान्ति लोकपथ पनि अवरुद्ध

यसैबीच, हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथसमेत वर्षाका कारण अवरुद्ध भएको छ। बागमती नदीमा आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको डाइभर्सन बगाएपछि आज बिहान ६ः०० बजेदेखि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डाइभर्सन बगाएपछि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ र सडक खुलाउने प्रयास जारी रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

0

टोरोन्टो: क्यानडाको संघीय निर्वाचन २०२५ पञ्जाबी समुदायका लागि ऐतिहासिक कोसेढुंगा सावित भएको छ।

यसपटक पञ्जाबी मूलका २२ जना उम्मेदवारले हाउस अफ कमन्समा विजय हासिल गरेका छन्। यो प्रभावशाली प्रतिनिधित्व हो, जसले क्यानाडाको संघीय संसदमा पञ्जाबी मूलका सांसदहरूको सङ्ख्या ६ प्रतिशतभन्दा बढी बनाएको छ। यसले क्यानाडाली राजनीतिमा पञ्जाबी डायस्पोराको बढ्दो प्रभावलाई स्पष्ट रूपमा देखाएको छ।

ब्राम्पटन क्षेत्र पञ्जाबी समुदायको बाक्लो उपस्थितिका लागि परिचित छ, र यहाँका निर्वाचन परिणाम विशेष उल्लेखनीय रहे। ब्राम्पटनका पाँचवटै निर्वाचन क्षेत्रमा पञ्जाबी उम्मेदवारहरू मैदानमा थिए, जहाँ लिबरल र कन्जरभेटिभ दुवै पार्टीले जित हासिल गरे। लिबरल पार्टीकी रुबी सहोताले ब्राम्पटन नर्थमा कन्जरभेटिभ उम्मेदवार अमनदीप जजलाई पराजित गरिन् भने मनिन्दर सिद्धुले ब्राम्पटन इस्टमा कन्जरभेटिभका बब दोसाँझलाई हराए।

यद्यपि सबै लिबरल उम्मेदवार सफल भएनन्। कन्जरभेटिभ उम्मेदवार सुखदीप काङले ब्राम्पटन साउथमा लिबरल सोनिया सिद्धुलाई पराजित गर्दै सिट जिते।

ब्राम्पटनबाहिरका निर्वाचन क्षेत्रहरूमा पनि पञ्जाबी क्यानाडेली राजनीतिज्ञहरूले उल्लेखनीय सफलता पाए। पूर्व आविष्कार मन्त्री अनिता आनन्दले ओकभिल ईस्टमा आफ्नो सिट जोगाइन् भने, विविधता र समावेशीकरणका लागि परिचित दिग्गज राजनीतिज्ञ बर्दिश चग्गर वाटरलूबाट विजयी भइन्।

अन्य लिबरल विजेताहरूमा अन्जु ढिलोन, सुख धालिवाल, रणदीप सराइ र परम बैन्स परेका छन्। उता, कन्जरभेटिभ पार्टीबाट जसराज हलान, दलविन्दर गिल, अमनप्रीत गिल, अर्पण खन्ना, टिम उप्पल, परम गिल, सुखमान गिल, जगशरण सिंह महल र हर्ब गिल विजयी भएका छन्।

तर सबै प्रमुख पञ्जाबी उम्मेदवारहरूले आशातित प्रदर्शन गर्न सकेनन्। न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) का नेता जगमीत सिंहले बर्नाबी सेन्ट्रलमा आफ्नो सिट गुमाए। उनी तेस्रो स्थानमा सीमित भए र त्यसपछिल्लो दबाबपछि एनडीपी अध्यक्ष पदबाट राजीनामा दिए। उनको कमजोर प्रदर्शन अपेक्षा बाहिरको थियो र यस नतिजाले क्यानाडाको राजनीतिक परिदृश्यलाई नै स्तब्ध बनाएको छ।

२०२५ को निर्वाचनमा पञ्जाबी क्यानाडेलीहरूको उल्लेखनीय सफलताले विश्वका प्रगतिशील लोकतन्त्रहरूमध्ये एक क्यानडामा नीतिनिर्माण प्रक्रियामा भारतीय डायस्पोराको, विशेषगरी पञ्जाबी सिख समुदायको, बढ्दो प्रभाव झल्काएको छ भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन्।

इजरायली आक्रमणबाट गाजामा एउटै परिवारका तीन शिशु सहित ११ जनाको मृत्यु

0

गाजा: गाजाको नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी गाजाको खान युनिसस्थित एक शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक वर्षभन्दा कम उमेरका तीन शिशुहरू समेत परेका छन्।

प्रवक्ता महमूद बास्सालका अनुसार शनिबार बिहान ३ बजे (स्थानीय समय) अल–बयराम परिवारको घरमा गराइएको आक्रमणमा एउटै विस्तारित परिवारका सदस्यहरूको ज्यान गएको हो। पहिचान गरिएका आठ मृतकमध्ये एक वर्षका छोरा, एक वर्षकी छोरी र एक महिनाको शिशु रहेका छन्।

इजरायली सेनाका प्रवक्ताले एएफपीसँग कुरा गर्दै सो आक्रमण ‘एक आतंककारी हमास सदस्यलाई लक्षित गरी गरिएको’ पुष्टि गरे पनि थप विवरण भने दिएका छैनन्।

घटनापछि उद्धारकर्मीहरू र स्थानीय बासिन्दाहरू भग्नावशेषमा जीवित वा मृतकको खोजीमा खटिएका थिए। एएफपीका एक पत्रकारले खिचेको भिडियोमा एक उद्धारकर्मीले खण्डहरबाट एक शिशुको निर्जीव शरीर बाहिर ल्याएको दृश्य देखिन्छ।

नजिकैको भवनमा बसोबास गर्ने फाइका अबु हाताबले भने, “मैले उज्यालो चमक देखेँ, त्यसपछि ठूलो विस्फोट भयो। सम्पूर्ण क्षेत्र धुलोले भरियो, केही देख्न सकिएन। झ्यालहरू फुटे, कोठाहरू क्षतिग्रस्त भए, छिमेकीको घर त पूर्ण रूपमा ध्वस्त भयो।”

इजरायलले मार्च १८ देखि हमासविरुद्ध पुनः आक्रमण सुरु गरेको हो। यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो। यो युद्ध २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि सुरु भएको थियो।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ पछि सुरु भएको पुनः आक्रमणबाट हालसम्म कम्तीमा २,३९६ जनाको मृत्यु भइसकेको छ। कुल मृतक सङ्ख्या ५२,४९५ पुगेको जनाएको छ।

शुक्रबार मात्रै इजरायली आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको पनि नागरिक सुरक्षा निकायले जनाएको छ। मार्च २ देखि गाजा पूर्ण रूपमा इजरायली नाकाबन्दीमा रहेको छ।

इजरायली पक्षले हमासले मानवीय सहायता अवरुद्ध गरिरहेको आरोप लगाउँदै गाजामा राहत सामग्री पठाउने प्रक्रिया रोकेको छ। इजरायलले नाकाबन्दीमार्फत हमासमाथि बन्धक मुक्तिको दबाब सिर्जना गर्ने उद्देश्य रहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूले गाजामा बढ्दो मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै इजरायललाई सहायता प्रवाहमा लगाइएको रोक हटाउन आग्रह गरेका छन्। उनीहरूले गाजामा भोकमरीको जोखिम गम्भीर बन्दै गएको चेतावनी पनि दिएका छन्।

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

0

काठमाडौं: सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र चिकित्सक संघबीच भएको छलफलपछि चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने सहमति भएको हो। संघका महासचिव डा. सञ्जिव तिवारीका अनुसार उक्त निर्णय कार्यान्वयनको प्रतिबद्धता प्राप्त भएपछि आन्दोलन फिर्ता लिइएको हो।

त्यस्तै, अतिरिक्त सेवा सुविधा, विदा लगायतका विषयमा १५ दिनभित्र निर्णय गर्न कार्यदल गठन गर्ने सहमति पनि भएको उनले बताए। सरकारको स्पष्ट प्रतिबद्धतापछि आन्दोलन स्थगन गरिएको उनले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटाले निरन्तर वार्तापछि सहमति कायम भएको र चिकित्सकहरू आन्दोलनमा नफर्किने वातावरण तयार भएको बताए।

यसअघि आयोगको सोह्रौं बैठकले सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तह अध्ययनरत सम्पूर्ण आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहअनुसारको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर, उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।

हेटौँडामा सडक भासिँदा माछा बोक्ने बोलेरो गाडी जमिनमुनि बेपत्ता

0
AI तस्बिर

हेटौँडा: हेटौँडाको गैरी गाउँमा शुक्रबार अपराह्न सडक भासिँदा माछा बोक्दै गरेको बोलेरो गाडी जमिनमुनि बेपत्ता भएको छ। हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने क्षेत्रमा ना ४ च ४८३३ नम्बरको सिङ्गल क्याप बोलेरो गाडी भासिएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

प्रवक्ता अर्यालका अनुसार गाडी रोकिने स्थानमै एक्कासि जमिन भासिँदा उक्त घटना भएको हो। गाडी भासिँदै जाँदा त्यस ठाउँमा पानीको ठूलो दह बनेको र गाडी भासिएको झन्डै ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

सौभाग्यवश, चालक र सहचालक भने गाडी भासिनुअघि नै बाहिर निस्कन सफल भएका थिए।

घटनास्थल नजिकै माछापालनको पोखरी र बोरिङ रहेको पाइएको छ। प्रारम्भिक अनुमानअनुसार बोरिङका कारण जमिन कमजोर भई भासिएको हुनसक्ने बताइएको छ। हाल पानीको निकास गरी गाडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रेस स्वतन्त्रताको सम्मान गर्न मानवअधिकार आयोगको सरकारलाई आग्रह

0

काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्मानप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनद्वारा प्रत्याभूत पत्रकारको स्वतन्त्रता सुनिश्चित गर्न आग्रह गरिएको छ।

आयोगले प्रेस स्वतन्त्रता कायम राख्न र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारसहित सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

आयोगले हालै भएका दुःखद घटनाप्रति पनि गहिरो चिन्ता व्यक्त गरेको छ। चैत १५ गते समाचार सङ्कलनका क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको तथा शिक्षक आन्दोलनको समाचार कभर गर्ने क्रममा पत्रकार सविना कार्की घाइते भएको घटनाले प्रेस स्वतन्त्रताको स्थितिमा चुनौती देखिएको आयोगले जनाएको छ।