Tuesday, June 30, 2026
Home Blog Page 484

कमला पुलको ठेक्का तोड्ने तयारी, १३ वर्षदेखि अलपत्र

0

सिरहा: हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम १३ वर्ष बित्दासमेत सम्पन्न नभएपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको छ। जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ ले पछिल्लो एक महिनादेखि काम ठप्प पारेपछि ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको हो।

निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार पुल मर्मत र पुनःनिर्माणको अन्तिम म्याद २०८२ असार मसान्तसम्म तोकिएको थियो। “निर्माण कम्पनीले काम रोकेको एक महिना भइसक्यो, म्याद थपका लागि निवेदन पनि आएको छैन,” महतोले भने, “सम्झौता कार्यान्वयन नभएकाले कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ।”

यसअघि पुल निर्माणको क्रममा दुई पिलर भासिएपछि निर्माण कम्पनीले बीमाबाट क्षतिपूर्तिको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। हाल सो मुद्दा विचाराधीन रहेकाले कानुनी परामर्शपछि मात्र ठोस निर्णय लिने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

‘लुम्बिनी बिल्डर्स’ का साइट इन्चार्ज सुदीप थापाका अनुसार बाढीले पुलमा क्षति पुर्‍याएपछि रु ८ करोड क्षतिपूर्ति बीमाबाट नपाएपछि आर्थिक अभावका कारण बाँकी काम रोक्नुपरेको हो।

कमला पुल निर्माणको ठेक्का पहिलोपटक २०६८ सालमा ‘पप्पु कन्स्ट्रक्सन’ लाई दिइएको थियो, जुन कम्पनीले काम सम्पन्न नगरेपछि कालोसूचीमा पर्‍यो। त्यसपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ ले गर्दै आएको हो। तर पटक–पटक म्याद थपिँदा पनि पुल अझै अधुरै छ।

स्थानीय बासिन्दा भने वर्षौंदेखि काठको अस्थायी पुल प्रयोग गर्दै आवतजावत गर्दै आएका छन्। वर्षायाममा काठेपुल बगाउँदा सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार जनकपुर आउजाउ गर्न भारतीय बजार जयनगर वा डुङ्गाको सहारा लिनुपर्ने बाध्यता छ। वैकल्पिक मार्ग प्रयोग गर्दा सामान्य आधा घण्टाको दूरी तीन घण्टासम्म लाग्ने उनले बताए।

तराई मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी सडकले मधेस प्रदेशको राजधानी जनकपुरधामलाई जोड्ने छोटो दूरीको महत्त्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो। तर कमला नदीको पुलको ढिलाइले आयोजनाको पूर्णता अन्योलमा परेको छ।

सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

0

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति ढुक्क रहन र संसदमा प्रस्ट रूपमा समर्थन गर्न निर्देशन दिनुभएको छ।

शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलको उद्देश्य नै विरोध गर्नु भएको टिप्पणी गर्नुभयो। “सत्य कुरा भए पनि विरोध गर्ने, असत्य कुरा भए पनि विरोध गर्ने प्रवृत्ति देखिएको छ,” उहाँले भन्नुभयो।

नीति तथा कार्यक्रमको कुनै पनि बुँदालाई विपक्षीले सकारात्मक रूपमा नलिएको भन्दै प्रधानमन्त्री ओलीले संसदमा व्यक्त गरिएका केही कथनहरू रेकर्डबाट हटाउन नहुने धारणा व्यक्त गर्नुभयो। “केही गलत कुरा बोल्यो भनेर रेकर्डबाट हटाउने माग गर्नु गलत हो। ती कुरा रेकर्डमै रहनुपर्छ, ताकि भविष्यका पुस्ताले पनि थाहा पाउन सकून् कि अघिल्ला पुस्ताले के बोलेका थिए,” उहाँले स्पष्ट पार्नुभयो।

सांसदहरूलाई अध्ययन गरेर संसदमा बोल्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले एमालेलाई आकार मात्र होइन, विचार र मुद्दाको हिसाबले पनि ठूलो दल भएको बताउनुभयो। उहाँले सांसदहरूलाई संसदमा बोल्नुअघि आवश्यक बुँदाहरू तयार पारेर जान सुझाव दिनुभयो। “बुँदा लिएर गयौं भने कुनै कुरा छुट्दैन, र त्यसलाई व्याख्या गर्न पनि सजिलो हुन्छ,” उहाँले भने, “संसदमा उठ्ने गलत भनाइको प्रतिवाद गर्न पनि तयारीका साथ प्रस्तुत हुनुपर्छ।”

आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति

0

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई पूर्वीय ज्ञान परम्पराको स्रोतका रूपमा उल्लेख गर्दै, विविध संस्कृति र सभ्यताको ऐक्यबद्धता यस ज्ञान, परम्परा र सभ्यताभित्र गहिरो रूपमा विद्यमान रहेको बताउनुभएको छ। उहाँले यस्तै ऐक्यबद्धताले विश्वभरि शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जगाउन सक्नुपर्नेमा जोड दिनुभएको छ।

शनिबार काठमाडौँको नागार्जुन–७, रामकोटस्थित बद्रिनारायण धामको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो। यस परम्पराभित्र विविध संस्कृति र सभ्यताको एकता देख्न सकिन्छ, जसले विश्वमा मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको भावना फैलाउन मद्दत पुर्‍याउनेछ।”

उहाँले आधुनिक विश्वले भौतिक विकाससँगै आध्यात्मिक चेतना र जागरणको खाँचो महसुस गरिरहेको उल्लेख गर्नुभयो। “आजको मानिस सुख र शान्तिको खोजीमा भौतिक समृद्धिमा मात्रै भौतारिइरहेको छ,” उहाँले भन्नुभयो।

राष्ट्रपतिले सम्प्रदायभन्दा माथि धर्म, र धर्मभन्दा माथि अध्यात्म रहेको स्पष्ट पार्दै, नेपालकै राजधानी काठमाडौँको पश्चिमी पवित्र भू–भागमा स्थापना भएको यो आध्यात्मिक केन्द्रलाई विशेष उपलब्धिका रूपमा उल्लेख गर्नुभयो।

वैदिक सनातन संस्कार र परम्पराअनुसार अत्यन्त महत्वपूर्ण मानिएको बद्रिनारायण धामको निर्माणले खुसीको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले यसको पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धिमा पनि योगदान पुग्ने आशा व्यक्त गर्नुभयो।

“विश्वमा बढ्दो भौतिक प्रतिस्पर्धाले समाजमा शान्ति, सुव्यवस्था र आपसी सद्भाव घटिरहेको अनुभव हामीले हाम्रो समाजमै गरिरहेका छौं,” उहाँले भन्नुभयो, “यस्तो समयमा निर्माण भएको यो बद्रिनारायण धाम जस्तो आध्यात्मिक केन्द्रले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो दृढ विश्वास छ।”

नेपाल एसबिआई बैंकद्वारा सर्लाहीको मुसहर समुदायलाई सामग्री वितरण

0

काठमाडौ: नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ मा बसोबास गर्ने मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकका मधेश प्रदेश प्रमुख श्री उदय पञ्जियार थारुले एक औपचारिक कार्यक्रमका बीच समुदायका करिब ५० परिवार र बालबालिकालाई सामग्री हस्तान्तरण गर्नुभयो। उक्त कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख श्री गोपाल पजियार, बैंकका पदाधिकारीहरू तथा नगरपालिकाका अन्य प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

नेपाल एसबिआई बैंकले विपन्न तथा पिछडिएका वर्गलाई लक्षित गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी गराएको छ।

नेपालमा ३१ वर्षदेखि सेवा प्रदान गरिरहेको नेपाल एसबिआई बैंकले हाल १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँ : अध्यक्ष दाहाल

0

काठमाडौं: राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक र कानुनी प्रावधानको व्यावहारिक कार्यान्वयनमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा क्रियाशील सम्पूर्ण पत्रकार, सञ्चार माध्यम, पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघसंस्था तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने सबैमा शुभकामना व्यक्त गर्नुभएको हो।

विभिन्न समयमा प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्दै प्राण गुमाएका पत्रकार सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले प्रेस स्वतन्त्रता दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता अभ्यास गर्न उत्प्रेरित गर्ने अवसरसमेत दिवसले दिने विश्वास उहाँले व्यक्त गर्नुभयो।

“यस वर्षको दिवस पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रभावसँग सम्बन्धित रहेको छ,” अध्यक्ष दाहालले सन्देशमा उल्लेख गर्नुभयो, “विज्ञान र प्रविधिको नवीनतम विकासका रूपमा एआइको प्रयोगले पत्रकारितामा सकारात्मक योगदानसँगै गलत सूचना, निगरानी र डिपफेकजस्ता गम्भीर चुनौतीहरू पनि सिर्जना गरेको छ। यस्तो प्रविधिलाई सदुपयोग गर्दै उत्तरदायी, पारदर्शी र नैतिक पत्रकारिता अभ्यासलाई अघि बढाउनु आवश्यक छ।”

अध्यक्ष दाहालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सञ्चार जगतको उल्लेखनीय योगदान रहेको उल्लेख गर्नुभयो। “राजनीतिक तथा सामाजिक रूपान्तरणका विभिन्न संघर्षको सफलतामा पत्रकारिताको भूमिका निर्विकल्प रह्यो,” उहाँले भन्नुभयो, “नेपाली पत्रकारिता जगतले दुर्गम क्षेत्र, पीडित वर्ग, सीमान्तकृत समुदाय र आवाजविहीनको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण काम गरेको छ।”

साथै, संसदीय अभ्यासलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन प्रेस जगतले संसद्, सरकार र राज्यका सबै निकायहरूलाई निरन्तर खबरदारी र सुझावमार्फत सकारात्मक सहयोग पुर्‍याएको उहाँले बताउनुभयो।

सन्देशको अन्त्यमा अध्यक्ष दाहालले सञ्चारकर्मीहरूलाई कुनै पनि दबाब, प्रभाव वा अवरोधबिना पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्य, समाज र सबै सरोकारवाला पक्षहरूलाई सचेत रहन आग्रह गर्नुभएको छ।

पृथ्वीनारायण शाहले नेपाललाई व्यवहारमै राष्ट्र–राज्य बनाए: डा. लोहनी

0

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहलाई व्यवहार र अभ्यासमार्फत नेपाललाई राष्ट्र–राज्यको रूपमा विकसित गर्ने व्यक्तित्वको रूपमा वर्णन गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित ‘पृथ्वीपथ’ विषयक विचार गोष्ठीमा बोल्दै डा. लोहनीले भन्नुभयो, “त्यो समयसम्म राष्ट्र–राज्यको सिद्धान्त प्रतिपादन नै भइसकेको थिएन, तर पृथ्वीनारायण शाहले सामूहिक राष्ट्रिय भावना जनस्तरसम्म पुर्‍याए। सबै जातजाति, धर्म, संस्कृति र सम्प्रदायलाई ‘यो मेरो देश हो’ भन्ने अनुभूति गराउन सफल भए।”

उहाँका अनुसार पृथ्वीनारायण शाहले जनताको इच्छाअनुसार शासन गर्ने परम्परा बसाल्नुभयो। “कालु पाँडेलाई काजी नियुक्त गर्न उहाँको व्यक्तिगत चाहना थिएन, तर जनमतको आधारमा त्यो निर्णय लिनुभयो,” लोहनीले उदाहरण दिँदै भन्नुभयो, “यसबाट शासन प्रणालीमा जनसहभागिता र सर्वोच्चताको अभ्यास देखिन्छ।”

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले पृथ्वीनारायण शाहले ‘राष्ट्र केवल भूगोल होइन, धर्म, संस्कृति, भाषा र जातीयताको समिश्रण हो’ भन्ने अवधारणाको विकास गरेको बताउनुभयो। “उहाँको नेतृत्वमा बनेको नेपाल कहिल्यै विखण्डनको चपेटामा परेन,” उहाँले स्पष्ट पार्नुभयो, “नेपाल युद्ध र कूटनीतिक संयोजनमा अडिएको समाज बनेको हो।”

पूर्वमन्त्री दीपक ज्ञवालीले पृथ्वीनारायण शाहले देशलाई एकढिक्का बनाएर कहिल्यै टुक्र्याउन नखोजेको बताउनुभयो। “मल्ल राजाहरूले जस्तो विभाजन नगरी, नेपालको एकताको सुनिश्चितता गर्न उहाँ सफल हुनुभयो,” ज्ञवालीले टिप्पणी गर्नुभयो।

इतिहासविद् डा. सुरेन्द्र केसीले भने पृथ्वीनारायण शाहको शासन अहिलेको तुलनामा व्यवहारिक र प्रभावकारी रहेको उल्लेख गर्नुभयो। “आज राजनीतिक पहुँचका आधारमा मन्त्री बनाइन्छ, अनुभव र योग्यता हेरेर होइन,” उहाँले भन्नुभयो, “यही प्रवृत्तिले आजको युवापुस्तालाई विदेशिन बाध्य बनाएको छ।”

कार्यक्रम राष्ट्रवादी मातृशक्तिकी संयोजक समृद्धी राणा बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पूर्वसांसद गंगा चौधरी र बेबीसा भण्डारीले पनि पृथ्वीनारायण शाहको योगदानमाथि प्रकाश पार्नुभएको थियो।

गोष्ठीले राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई पुनः स्मरण गर्दै, त्यसको ऐतिहासिक मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको आयोजकहरूको भनाइ छ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

0

म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्माण भइरहेको २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ।

तीन वर्षअघि निर्माण सुरु भएको यस आयोजनाको भौतिक प्रगति ९० प्रतिशत नाघेको हो। ठूलोखोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा बाँध, विद्युत्गृह र पाइपलाइन जडान कार्य सम्पन्न भइसकेको छ। आयोजनाका प्रमुख लोकबहादुर नायकका अनुसार विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा छ।

उहाँले भन्नुभयो, “परीक्षण उत्पादन आगामी २०८२ सालको वैशाखसम्म सुरु गर्ने लक्ष्य थियो, तर बेनी–आयोजना स्थल जोड्ने सडक स्तरोन्नतिको कारण ढुवानीमा अवरोध आउँदा केही ढिलाइ भएको छ।”

आयोजनाको पूर्वाधार विवरण यस्तो छ:

सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी), २,९०० मिटर लामो मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान।

फेदीमा विद्युत्गृह निर्माण सम्पन्न, जहाँ अहिले स्विचयार्ड निर्माण भइरहेको छ।

फेदीदेखि बन्दीसम्म १४ वटा टावरमार्फत पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन।

आयोजनाबाट उत्पादन हुने विद्युत् चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गर्दै तिल्केनीचौरहुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ।

निर्माण कार्यमा संलग्न ठेकेदारहरू:

सिभिल र हाइड्रोमेकानिकलतर्फ देव ऊर्जा कन्ट्रक्सन,

इलेक्ट्रोमेकानिकलतर्फ बिएफएल, ब्याङलोर।

रु तीन अर्ब लागत अनुमान गरिएको आयोजना कुल लगानीमध्ये ७० प्रतिशत सिटिजन्स र माछापुच्छ्रे बैंकबाट ऋणस्वरूप जुटाइएको हो। बाँकी ३० प्रतिशतमा प्रवर्द्धकको १० प्रतिशत र सर्वसाधारणबाट सार्वजनिक सेयरमार्फत २० प्रतिशत लगानी संकलन गरिनेछ।

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

0

काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन अनिवार्य निर्देशन दिएको छ।

नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नगरभित्र कार्यरत जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूलाई यही वैशाख मसान्तसम्ममा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेको प्रमाण पेश गर्न निर्देशन दिएको हो।

यो निर्देशन सामुदायिक विद्यालय शैक्षिक सुधार योजना अन्तर्गत जारी गरिएको हो। नगर प्रमुख टोकबहादुर वाइबाका अनुसार, २०८१ चैत २६ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णय कार्यान्वयन नभएको पाइएपछि सार्वजनिक सूचनामार्फत निर्देशन जारी गर्नुपरेको हो।

नगर प्रमुख वाइबाले भन्नुभयो, “एक महिना अघि नै निर्णय भएको थियो, तर सबैले पालना नगरेपछि अब नगरपालिकाले यसको कार्यान्वयनमा कडाइ गर्नेछ। निर्णय कार्यान्वयन गराउन नगर दत्तचित्त रहनेछ।”

एनआरएनए: “एकता महाधिवेशन” वैधानिक छैन, फुट निम्त्याउने प्रयास मात्र हो — अन्तर्राष्ट्रिय समन्वय परिषद्

0

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आगामी वैशाख २०–२२ (मे ३–५, २०२५) काठमाडौंमा आयोजना गर्न लागिएको भनिएको “एकता महाधिवेशन”प्रति स्पष्ट असहमति जनाउँदै उक्त कार्यक्रम वैधानिक नरहेको जनाएको छ।

संघका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, “११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सो कार्यक्रममा कुनै संलग्नता छैन। यो कार्यक्रम संघको विधानविपरीत र फुट निम्त्याउने उद्देश्यले अघि बढाइएको छ।”

संघका अनुसार संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरू जीवा लामिछाने, कुमार पन्त, तथा संस्थापक रामप्रताप थापा लगायत उच्चस्तरीय समितिका १३ मध्ये ६ सदस्यले महाधिवेशनमा भाग नलिने घोषणा गरिसकेका छन्। यस्तै, विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुले पनि सहभागिता नजनाउने जानकारी गराइसकेका छन्।

सरकारी निर्देशन र अदालतको आदेश अवज्ञा गरिएको आरोप
प्रवक्ता पन्तका अनुसार, गैरआवासीय नेपाली संघको सम्बन्धित सरकारी निकाय परराष्ट्र मन्त्रालयले नै उक्त महाधिवेशन स्थगन गर्न पत्र पठाइसकेको छ। सोही सन्दर्भमा सर्वोच्च अदालतमा विचाराधीन रहेको रिटमा अन्तरिम आदेश माग पनि गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हेर्न नमिल्ने इजलासमा मुद्दा परेकाले प्रक्रिया अघि बढ्न नसकेको हो। तर, त्यसलाई सहमति भइसकेको जस्तो प्रचार गर्नु पूर्णतः भ्रामक हो। अदालतले २ मे २०२५ मा सो पत्र हेर्न मिल्ने इजलासमा पेश गर्न आदेश गरिसकेको छ।”

“एकता होइन, फुट निम्त्याउने भेला”
संघको वक्तव्यमा भनिएको छ, “अदालत र मन्त्रालयको सहमति विना एकपक्षीय रूपमा अगाडि बढाइएको अधिवेशन एकताको होइन, फुटको भेलामा सीमित हुनेछ।” संवादको सट्टा हठ प्रदर्शन गरिएको भन्दै संघले गम्भीर असन्तुष्टि जनाएको छ।

विधानविपरीत गतिविधिको आपत्ति
संघले अधिवेशनसम्बन्धी सदस्यता वितरण, प्रतिनिधि छनोट, तथा मतदाता नामावली तयार गर्ने प्रक्रिया हालको विधानविपरीत भएको भन्दै आपत्ति जनाएको छ। प्रवक्ता पन्तले भने, “एक कार्यविधि बनाएर गरिएको निर्वाचन वैधानिक मानिन सक्दैन।”

१२औँ महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने
संघले अन्त्यमा स्पष्ट पारेको छ कि १२औँ महाधिवेशन पूर्वनिर्धारित मिति—२०२५ अक्टोबर ११–१४—मै आयोजना हुनेछ, र यसमा हालसम्म कुनै अन्य निर्णय नभएको पुनः स्मरण गराइएको छ।

संघले सम्पूर्ण एनसीसी, सदस्यहरू, तथा शुभेच्छुकहरूलाई MIS प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्न, विधानअनुसार अधिवेशनमा सहभागी हुन, र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

0

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र रुपान्तरणकारी योजना समावेश छन्:

आर्थिक तथा वित्तीय सुधार:

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन

कर प्रणालीमा संरचनात्मक रुपान्तरण

वैकल्पिक वित्त कोष स्थापना

वस्तु विनिमयसम्बन्धी कानुन निर्माण

नेपाल धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जको पुनर्संरचना

दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन

खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी

डिजिटल बैंक सम्बन्धी कानुनी व्यवस्था

बिमा सूचना केन्द्र कार्यान्वयन

कृषि तथा पूर्वाधार:

कृषि उद्यमशीलता प्रवर्द्धन गर्न पाइलट प्रोजेक्ट

हरित व्यवसायमा आधारित आर्थिकमार्ग निर्माण

कृषि परियोजनाहरूको पुनर्संरचना

समर्थन मूल्य र अग्रिम खरिद सम्झौता प्रणाली

किसान परिचयपत्र, कृषि बिमा विस्तार

भूमि, सहकारी र जलवायु:

भूमिसम्बन्धी विधेयक पारित

सहकारी नीति पुनरावलोकन

समस्याग्रस्त सहकारीमा कोष र सूचना प्रणाली

चुरे संरक्षण योजना पुनरावलोकन

जलवायु रणनीति, कार्बन व्यापार नीति

ऊर्जा तथा उद्योग:

निजी क्षेत्रको विद्युत् प्रसारण लाइनमा सहभागिता

प्रदेशस्तरीय व्यवसाय संवर्द्धन केन्द्र

सार्वजनिक-निजी साझेदारीमा विशेष आर्थिक क्षेत्र

व्यापार रणनीति र लजिस्टिक गुरुयोजना

ग्रिन हाइड्रोजन र बायो-इथानोल नीति

पर्यटन:

नेपाललाई प्राकृतिक, साहसिक, चलचित्र, ध्यान पर्यटनको केन्द्र

विश्व सम्पदा सूचीमा नयाँ स्थान समावेश

वायुसेवा निगम र नागरिक उड्डयन विधेयक पारित

शिक्षा, रोजगार र महिला:

सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य

आन्तरिक रोजगारी दशक घोषणा

विद्यालय सुधारका लागि दीर्घकालीन मार्गचित्र

प्राविधिक शिक्षा विश्वविद्यालयसम्म विस्तार

इन्टर्नसीप र ‘कमाउँदै–पढ्दै’ नीति

विकट क्षेत्रमा आवासीय विद्यालय

शिक्षक बैंक, दरबन्दी पुनरावलोकन, स्पोट्र्स स्कुल

अन्तर्राष्ट्रिय पदकधारीको लागि छात्रवृत्ति

महिला उत्थान कार्यक्रम पुनर्संरचना

स्वास्थ्य:

नागरिक एपसँग बाल हेल्पलाइन जोड्ने

निरोगी नेपाल अभियान, जलन र मुटु सेवा विस्तार

क्यान्सर र मिर्गौला सेवा विस्तार

न्यूरो साइन्स केन्द्र स्थापना

सबै सरकारी अस्पताल एउटै अनलाइन सेवामा

आयुर्वेद विश्वविद्यालय सञ्चालन

नयाँ जनसङ्ख्या नीति तर्जुमा

प्रविधि र प्रशासन:

भृकुटीमण्डपलाई अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा विकास

एक स्थानीय तह, एक स्मार्ट हुलाक नीति

भूउपग्रह सञ्चालन, साइबर सुरक्षाको सुनिश्चितता

प्रतिरक्षा विश्वविद्यालय सञ्चालन

नागरिक सेवा केन्द्र स्थापना

स्थानीय विकास प्रतिष्ठानलाई संघीय अध्ययन प्रतिष्ठानमा रुपान्तरण

निजामती सेवा विधेयक पारित

परराष्ट्र र सुशासन:

सबैसँग मित्रता, कसैसँग शत्रुता नीतिमा परराष्ट्र सम्बन्ध

प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’

सम्पत्ति शुद्धीकरणका अन्तर्राष्ट्रिय मापदण्ड पालना

राष्ट्रिय लेखा अनुमानको आधारवर्ष परिवर्तन