Friday, July 3, 2026
Home Blog Page 467

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

0

काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित पक्राउ परेकाहरूलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनासम्बन्धी अनुसन्धानका लागि अदालतले बिहीबार प्रहरीले माग गरेको थप म्याद स्वीकृत गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा रहेको र छिट्टै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइने तयारी भइरहेको छ।

सरकारले टेरेन सर्वोच्चको आदेश

0

काठमाडौँ: राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको सन्दर्भमा सर्वोच्च अदालतको आदेशको उल्लङ्घन भएको छ।

सर्वोच्च अदालतले समयसीमा तोकी प्राधिकरण गठन गर्न समिति बनाउने र अध्यक्ष नियुक्त गर्ने आदेश दिएको भए पनि अहिलेसम्म समिति गठन हुन सकेको छैन।

वैशाख २९ गते न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले एक साताभित्र सिफारिस समिति गठन गरी डेढ महिनाभित्र प्राधिकरण गठन गर्न सरकारलाई परमादेश दिएको थियो। उक्त आदेशअनुसार समिति गत आइतबारभित्र गठन भइसकेको हुनुपर्ने थियो, तर अहिलेसम्म मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन।

सहकारी नियमन प्राधिकरण ऐनअनुसार लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको व्यक्तिको नेतृत्वमा एकजना पूर्व सचिव र सहकारी क्षेत्रको एक जना विज्ञसहितको तीन सदस्यीय सिफारिस समिति बन्नुपर्ने व्यवस्था छ। यस्तो समिति मन्त्रिपरिषद्को निर्णयमार्फत गठन गर्नुपर्छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार, मन्त्रालयले गत बिहीबार नै सिफारिस समिति गठनका लागि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी (संयोजक), पूर्व सचिव सुमन शर्मा र विज्ञका तर्फबाट गुणनिधि भुसालको नाम मन्त्रिपरिषद्मा पठाएको थियो।

मन्त्रालयको उद्देश्य सर्वोच्चको आदेशअनुसार एक साताभित्र समिति गठन गराउनु थियो। मन्त्रिपरिषद्को बैठक सोमबार वा बिहीबार बस्ने हुँदा सोमबारभित्र निर्णय होस् भनेर बिहीबारै नाम पठाइएको थियो। तर सो बिहीबारको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेन।

त्यसपछि मङ्गलवार बसेको अर्को मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका गभर्नर सिफारिससहित ९ निर्णय त गर्‍यो, तर सहकारी नियमन सिफारिस समिति गठनबारे कुनै निर्णय भएन।

यसअघि संसद्को अघिल्लो हिउँदे अधिवेशनले सहकारी ऐन संशोधन गरी सङ्घ, प्रदेश र स्थानीय तहका सहकारी संस्थालाई नियमन गर्ने गरी प्राधिकरण गठनको बाटो खुलेको थियो। अध्यादेशमार्फत गरिएको प्रारम्भिक व्यवस्था अनुसार छनोट समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरलाई सदस्य राख्ने भनिए पनि, पूर्व गभर्नरले पोर्टफोलियोको कारण समितिमा बस्न नमानेपछि समस्या उत्पन्न भएको थियो।

सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा उक्त व्यवस्था परिमार्जन गरी पूर्व गभर्नरको सट्टा पूर्व सचिवलाई सदस्य बनाउने प्रावधान गरिएको थियो, जुन विधेयक चैतमै दुवै सदनबाट पारित भइसकेको छ।

हाल प्राधिकरणमा तीन जना सदस्य छन्: मन्त्रालयका प्रतिनिधिको रूपमा सहसचिव मदन कोइराला, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, र कार्यवाहक अध्यक्षको रूपमा सचिव केदारनाथ शर्मा।

यद्यपि सहकारी ऐनले प्राधिकरणलाई स्वशासित तथा सङ्गठित संस्था बनाउने व्यवस्था गरे पनि वर्तमानमा प्राधिकरण सरकारको छायामा रहेको भन्दै अध्यक्ष नियुक्तिको माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले सो मुद्दामाथि सुनुवाइ गर्दै असार दोस्रो साताभित्र अध्यक्ष नियुक्ति प्रक्रिया पूरा गर्न सरकारलाई आदेश दिएको थियो।

आज चार संसदीय समितिका बैठक बस्दै

0

काठमाडौं: संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिका बैठकहरू बस्दैछन्। संसद् सचिवालयका अनुसार अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठकहरू आज तय भएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयमा छलफल हुनेछ। सो बैठकमा समिति सदस्यहरूका साथै राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपाल उद्योग परिसंघ (CNI) का प्रतिनिधिहरू सहभागी हुनेछन्।

सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। उक्त बैठकमा समितिमा प्राप्त उजुरीहरूमाथि छलफल गरिनेछ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त तथा प्राथमिकताका विषयमा छलफल हुनेछ। सो अवसरमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिहरूबीच छलफल हुने कार्यक्रम छ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विपद् व्यवस्थापन (जसमा विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्लाभ) सम्बन्धी कामकारबाहीबारे समीक्षा गरिनेछ। साथै, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भविष्यका कार्ययोजना र विविध विषयमा समेत छलफल गरिनेछ।

आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

0

काठमाडौँ: हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

चलचित्र ‘ऊनको स्वीटर’ को विशेष शो सम्पन्न, सेलिब्रेटीहरूको उपस्थिति र प्रशंसा

0

काठमाडौं: अभिनेता अनमोल केसी, अभिनेत्री मनिषा कोइरालालगायतका चर्चित कलाकारहरूको विशेष उपस्थितिमा नेपाली चलचित्र ऊनको स्वीटर को विशेष प्रदर्शन बुधबार वन सिनेमा, आइप्लेक्स मलमा सम्पन्न भएको छ। शोमा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति देखिएको थियो।

गायक राजेशपायल राईलगायत उपस्थित सेलिब्रेटीहरूले चलचित्रको विषयवस्तु, अभिनय, र प्रस्तुतिको खुलेर प्रशंसा गरे। गायक राईले ऊनको स्वीटर लाई यस वर्षको उत्कृष्ट चलचित्रको रूपमा मूल्याङ्कन गर्दै भने, “यो चलचित्र नेपाली चलचित्र उद्योगका लागि मिठो उपलब्धि हो। सामाजिक परिवेशभित्रको प्रेमकथालाई अत्यन्तै सशक्त ढंगले प्रस्तुत गरिएको छ।”

क्याप्टेन विजय लामाले चलचित्रले आफूलाई भावुक बनाएको उल्लेख गर्दै भने, “गाउँघरको परिवेश, नेपाली संस्कृति र जीवनशैली सिक्न सकिने सामग्रीले भरिपूर्ण यो चलचित्र सबै दर्शकका लागि अनुभव गर्नैपर्ने छ।”

अभिनेता नाजिर हुसेनले निर्देशकद्वारा सिर्जना गरिएको संसार र त्यसमा बसोबास गर्ने पात्रहरूको यथार्थपरक चित्रणलाई प्रशंसा गर्दै भने, “ऊनको स्वीटर सबै परिवारले सँगै बसेर हेर्न सकिने सुन्दर चलचित्र हो।”

चलचित्रका प्रमुख कलाकार विपिन कार्कीले आफूले निभाएको पात्र वास्तविक जीवनसँग निकै मिल्दोजुल्दो रहेको बताए। “पूर्वमा छायांकन गरिएको यस चलचित्रमा काम गर्दा निकै रमाइलो अनुभव भयो,” उनले भने, “पूर्वकै मान्छे भएकाले यो चलचित्रसँग भावनात्मक रूपमा पनि जोडिएको छु।”

ऊनको स्वीटर को कथा सामाजिक परिवेशभित्रको माया, प्रेम र संस्कृतिलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ। उपस्थित कलाकार तथा दर्शकहरूले यो चलचित्रलाई यस वर्षको उत्कृष्ट नेपाली चलचित्रको रूपमा उल्लेख गरेका छन्।

चलचित्रको निर्देशन र प्रस्तुतिप्रति गरिएको प्रशंसाले नेपाली सिनेमाको गुणस्तर उकास्ने दिशामा यो फिल्मले महत्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको छ।

मुम्बई आईपीएलको प्ले अफमा

0

काठमाडौं: यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुंगो लागेको छ। बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले प्ले अफको यात्रा सुनिश्चित गरेको हो।

यसअघि नै गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन्। अब मुम्बईले आफ्नो अन्तिम लिग खेल पन्जाब किङ्ससँग खेल्नेछ।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्स १० बल बाँकी छँदै सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमै समेटियो। दिल्लीका समीर रिज्वीले ३९ रन, विपराज निगमले २० रन र आशुतोष शर्माले १८ रनको योगदान दिए। के. एल. राहुलले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मुम्बईका बलर माइकल सान्टनरले चार ओभरमा मात्र ११ रन खर्चेर तीन विकेट लिँदा जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन दिएर तीन विकेट हात पारे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १८० रन बनाएको थियो। खेल मुम्बईको वानखेडे रंगशालामा सम्पन्न भएको हो।

व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

0

दमौली (तनहुँ): व्यास नगरपालिकालाई “पूर्ण खोप सुनिश्चित पालिका” घोषणा गरिएको छ। नगर क्षेत्रभित्रका बालबालिकालाई सबै आवश्यक खोप पूरा गरिएपछि बुधबार आयोजित विशेष समारोहमा उक्त घोषणा गरिएको हो।

१६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप दिइएपछि पालिकाले पूर्ण खोप सुनिश्चितताको मान्यता पाएको हो।

व्यास नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार १६ देखि २३ महिनासम्मका २,८२८ बालबालिकालाई सबै अनिवार्य खोपको पहुँचमा ल्याइएको छ।

समारोहमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल लगायतका वक्ताहरूले पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपनाको प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।

त्यसैगरी, राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह र महिला सञ्जालले पनि अभियानको दिगोपना कायम राख्ने दृढता व्यक्त गरेका छन्।

१६८ थान अवैध मोबाइलसहित दुई युवा काठमाडौंमा पक्राउ

0

काठमाडौं: काठमाडौं महानगरपालिका–३२ अन्तर्गत बालकुमारी सडक खण्डबाट प्रहरीले १६८ थान अवैध मोबाइल फोनसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार राति करिब ८:५० बजे, कोटेश्वर प्रहरी प्रभागबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा विभिन्न ब्राण्डका मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौंको बाफलमा बसोबास गर्दै आएका २४ वर्षीय शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका–२ निवासी २३ वर्षीय कुशल सिल्पकार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट Vivo का ३० थान, Samsung का २५ थान, Oppo का १७ थान, Realme का १६ थान, Redmi का १३ थान, iPhone का १३ थान, One Plus का १० थान, Motorola का ६ थान, Nokia का ३ थान र अन्य कम्पनीका ३५ थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

आज पनि रवि लामिछानेको रिटमाथि सुनुवाइ नहुने

0

काठमाडौं:सर्वोच्च अदालतको संयुक्त इजलासमा हिजो हेर्दा हेर्दैमा राखिएको पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने छैन।

सामान्यतया, हेर्दा हेर्दैमा राखिएको मुद्दा अदालत खुल्ने भोलिपल्ट निरन्तर सुनुवाइ हुने अभ्यास रहँदै आएको छ। तर, हिजो बसेको संयुक्त इजलास नै आज नबस्ने भएपछि लामिछानेको मुद्दा स्थगित गरिएको हो।

हिजो न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो। तर बहस नसकिएकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। आज ती दुईमध्ये एक न्यायाधीश संयुक्त इजलासमा उपस्थित हुन नसक्ने भएपछि मुद्दा अघि बढाउन नसकिने भएको हो।

अदालतको रेकर्डअनुसार, आज संवैधानिक इजलास बस्दैछ, जसमा प्रधानन्यायाधीशको अध्यक्षतामा अन्य चार जना न्यायाधीश रहनेछन्। न्यायाधीश सुवेदी आज संवैधानिक इजलासमा सहभागी हुनुपर्ने भएकाले उनीसहितको संयुक्त इजलास बस्न नसकिने अवस्था आएको हो।

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने रमेश कुमार यादव पक्राउ

0

काठमाडौं: दक्षिण कोरियामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाई तीन जनासँग ठगी गरेको आरोपमा फरार रहेका रमेश कुमार यादवलाई प्रहरीले काठमाडौंको पेप्सीकोला क्षेत्रबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यादवले रु. २६ लाख ८० हजार रुपैयाँ लिएको तर विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले जाहेरी दिएका थिए।

प्रहरीका अनुसार यादवविरुद्ध अन्य २ वटा ठगीसम्बन्धी मुद्दा पनि विभिन्न प्रहरी कार्यालयमा दर्ता भइसकेका छन्।

पक्राउ परेका अभियुक्तको विवरण:
नाम: रमेश कुमार यादव

उमेर: ३२ वर्ष

स्थायी ठेगाना: इनरुवा नगरपालिका–७, सुनसरी

हालको बसोबास: कागेश्वरी मनोहरा नगरपालिका–१६, पेप्सीकोला, काठमाडौं

बिगो रकम: रु. २६,८०,०००

पीडितको संख्या: ३ जना

पक्राउपछि यादवलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।