Sunday, July 5, 2026
Home Blog Page 450

अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

0

कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्ताका कारण इटहरी लगायत विभिन्न पालिकाहरूले विद्यालयहरू बन्द गर्ने निर्णय लिएका छन्।

विराटनगर महानगरपालिकाले आज (२८ गते) सहित भोली र पर्सिसम्म विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ। इटहरी उपमहानगरपालिकाले पनि आजको विदा थप गर्दै भोली र पर्सिसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

प्राप्त जानकारी अनुसार, सुनसरीको इनरुवा नगरपालिका र झापाको कमल गाउँपालिकाले समेत विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

हाल कोशी प्रदेशका तराई क्षेत्रमा लगातार गर्मी बढिरहेको छ। मौसममा हावा नचल्ने र आकाश खुलेको अवस्थामा तापक्रम झनै बढ्ने भएकाले सर्वसाधारणको दैनिकीमा समेत असर परेको देखिन्छ।

५२ संवैधानिक पदाधिकारीबारे फैसला आज

0

काठमाडौं: संवैधानिक पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ।

करीब ४ देखि ५ वर्षअघिका नियुक्तिविरुद्ध दायर रिटहरूमा अन्तिम सुनुवाइ यही जेठ २ गते सम्पन्न भएको थियो। उक्त सुनुवाइपछि संवैधानिक इजलासले फैसला आज जेठ २८ गते सुनाउने मिति तय गरेको हो।

सो मुद्दा हेर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी सम्मिलित इजलास गठन गरिएको थियो। इजलासले माघ ३० गतेदेखि निरन्तर सुनुवाइ गर्दै मुद्दालाई ‘हेर्दा हेर्दै’मा राख्दै आएको थियो।

विवादको जरो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरी विभिन्न संवैधानिक निकायहरूमा गरिएको ५२ जना पदाधिकारीको नियुक्तिसँग जोडिएको छ। सोही नियुक्ति प्रक्रियालाई असंवैधानिक भन्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कीर्तिनाथ शर्मा पौडेललगायतले रिट दायर गरेका थिए।

यसबाहेक, तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा पनि प्रत्यक्ष सर्वोच्चमा पुगेर नियुक्तिविरुद्धको चुनौती दिएका थिए। २०७७ पुस १ गतेदेखि हालसम्म उक्त नियुक्तिसम्बन्धी १४ वटा रिट दायर भएका थिए, तर लामो समयसम्म सुनुवाइ नहुनु राजनीतिक र कानुनी रूपमा विवादको विषय बनेको थियो।

२०७७ मंसिर ३० गते संवैधानिक परिषद्ले गरेको सिफारिस ५ पुसमा प्रतिनिधिसभा विघटनपछि मात्र सार्वजनिक गरिएको थियो। यही सिफारिसका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गरिएको थियो।

हाल ती १३ आयोगमध्ये ६ का प्रमुख पद रिक्त भइसकेका छन् भने अन्य धेरै सदस्य पनि उमेर हद वा अन्य कारणले अवकाशमा गइसकेका छन्।

अब सर्वोच्चको फैसलाले ती पदाधिकारीको नियुक्ति वैध कि अवैध भन्ने टुंगो लगाउनेछ। नियुक्ति सदर भएमा ती पदाधिकारीले बाँकी कार्यकाल पूरा गर्नेछन्, तर बदर भएमा ती सबै पद रिक्त भई नयाँ नियुक्ति प्रक्रिया सुरु गर्नुपर्नेछ।

त्यस अवस्थामा संवैधानिक परिषद्को भूमिका निर्णायक हुनेछ। नेपालको संविधानअनुसार, परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् र सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।

हाल परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली छन् भने सदस्यहरूमा प्रधानन्यायाधीश राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभामुख इन्दिरा राना छन्।

अहिलेको राजनीतिक समीकरण अनुसार, परिषद्मा विपक्षी धार झुक्ने सम्भावना रहेकाले नयाँ नियुक्तिमा सहमति जुट्न गाह्रो हुने देखिन्छ। परिषद्बाट नियुक्तिको सिफारिस गर्न बहुमत आवश्यक पर्ने हुँदा, यो प्रक्रिया जटिल बन्दै संवैधानिक निकायहरू लामो समय रिक्त रहन सक्ने अवस्था देखिएको छ।

दश महिनामा प्रदेश सरकारले गरे रु एक खर्ब खर्च

0

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो १० महिनामा प्रदेश सरकारले कूल एक खर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार, यस अवधिमा प्रदेश सरकारले कूल एक खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ बराबर स्रोत परिचालन गरेका हुन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार संघीय सरकारले प्रदेश सरकारहरूलाई वित्तीय समानीकरण अनुदानका रूपमा ६० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै, सशर्त अनुदान २५ अर्ब ८४ करोड रुपैयाँ र पूर्वाधार परियोजना कार्यान्वयनका लागि समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ प्रदान गरिएको थियो।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमध्ये संघीय सरकारबाट प्राप्त अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व गरी १ खर्ब २३ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने प्रदेशले आन्तरिक रूपमा परिचालन गरेका तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार, गत वैशाख मसान्तसम्म सरकारका विभिन्न खातामा (प्रदेश र स्थानीय तहसहित) जम्मा नगद मौज्दात ३ खर्ब ३६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ थियो।

यसैबीच, समीक्षावधिमा (१० महिना) नेपाल सरकारको कुल राजस्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यसमा कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड र गैरकर राजस्व ९३ अर्ब ४९ करोड रुपैयाँ छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यसमा चालु खर्च ७ खर्ब ७३ अर्ब २३ करोड, पुँजीगत खर्च १ खर्ब २० अर्ब ३८ करोड, र वित्तीय व्यवस्थासम्बन्धी खर्च २ खर्ब ६४ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

तुइनमुक्त प्रदेश बनाउने कर्णाली सरकारको घोषणा

0

कर्णाली: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र प्रदेशलाई पूर्ण रूपमा तुइनमुक्त बनाउने घोषणा गरेको छ।

प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले अब तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माणमा जोड दिने बताएको हो। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै असार १० गतेभित्र तुइनको विवरण पठाउन सबै जिल्ला र पालिकालाई आग्रह गरेको छ।

सूचनामा भनिएको छ, “यदि प्रदेशका नदी–खोलामा हाल पनि तुइन सञ्चालनमा रहेका छन् भने ती विस्थापित गरी झोलुङ्गे पुल निर्माणका लागि सम्बन्धित जिल्लाको पूर्वाधार विकास निर्देशनालय वा मन्त्रालयमा सोझै वा इमेलमार्फत निवेदन दिनुहुन सरोकारवालालाई जानकारी गराइन्छ।”

मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम भौगोलिक रूपले विकट र विकासको दृष्टिले पछि परेका कर्णालीवासीको आवागमन सहज बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभयो। उहाँले “नागरिकलाई राज्यको उपस्थिति महसुस हुने गरी” सरकार काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

बेनी–जोमसोम सडकका पहिरो रोकथाम र वैकल्पिक सडकलाई प्राथमिकता दिने अध्यक्ष दाहालको प्रतिबद्धता

0

भुरुङ–तातोपानी (म्याग्दी): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकमा पहिरो नियन्त्रण र वैकल्पिक मार्गको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

चीन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी खण्डसम्मको स्थलगत निरीक्षणका क्रममा म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा सरोकारवालासँगको भेटमा अध्यक्ष दाहालले निर्माणाधीन सडकलाई पूर्णता दिन तथा पहिरो र नदी कटानको रोकथाम गरी सडकलाई सुरक्षित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो।

रघुगङ्गा गाउँपालिका–२ स्थित वरखर्कको पहिरो निरीक्षणपछि अध्यक्ष दाहालले पहिरो नियन्त्रण र नियमित यातायात सञ्चालनका लागि वैकल्पिक मार्गको स्तरोन्नति गर्न संसद् र सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसै अवसरमा रघुगङ्गा–२ का पूर्ववडाध्यक्ष तथा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य रिमबहादुर कटुवालले बरखर्क पहिरोको विकल्पस्वरूप गलेश्वर–बगैंचा–रानीपौवा–रिसिनचौतारी–बेगखोला सडक स्तरोन्नति गरी वर्षायाममा नियमित यातायात सुनिश्चित गर्न सकिने मागसहित अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउनुभयो।

यस्तै, अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा स्थानीयको गुनासो सुन्दै अध्यक्ष दाहालले म्याग्दीको भगवती, दोवालगायत क्षेत्रका गुठी र सिमाना सम्बन्धी समस्या समाधानमा पनि पहल गर्ने आश्वासन दिनुभयो।

त्यस क्रममा अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य तथा माओवादी केन्द्र अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष पूर्ण पाइजा र इञ्चार्ज बागवीर पाइजाले स्थानीय विकास निर्माणसँग सम्बन्धित मागहरू अध्यक्ष दाहाललाई बुझाउनुभएको थियो।

मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत

0

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

उनका अनुसार उच्च पदस्थ राजनीतिज्ञ, सरकारी कर्मचारी तथा अन्य पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैरकानुनी रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई आजीवन कारावासको सजाय दिनुपर्ने छ।

बस्नेतले भने, “देशमा जताततै सुनिने र देखिने कुरा के छ भने, त्यो भ्रष्टाचार हो। अहिलेको अवस्थामा मुलुकमा व्यापक भ्रष्टाचार भएको ढुक्कका साथ भन्न सकिन्छ।”

भ्रष्टाचारलाई भयावह रोगको रूपमा चित्रण गर्दै उनले चेतावनी दिए— “यदि बेलैमा सतर्कता नअपनाइए, यसले मुलुकलाई गम्भीर दुर्घटनातर्फ लैजान सक्छ।”

उनले भ्रष्टाचार नियन्त्रणका लागि सोच, संस्कार र व्यवहारमै सुधार आवश्यक रहेकोमा विशेष जोड दिए।

अत्यधिक गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

0

मोरङ: अत्यधिक गर्मीका कारण विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरू तीन दिनका लागि बन्द हुने भएका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा जेठ २८ देखि ३० गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

गर्मीका कारण कक्षामा नियमित पठनपाठन गर्न कठिन भएको भन्दै विद्यालय बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। मौसम अनुकूल भई वर्षा भएको खण्डमा विद्यालय पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।

अस्ट्रियामा गोलीबारी, विद्यार्थीहरूसहित धेरै मारिए

0

काठमाडौं । अस्ट्रियाको ग्राट्ज शहरको एक विद्यालयमा गोलीबारी भएको छ। अस्ट्रियाको सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै विद्यालयमा भएको गोलीबारीबाट धेरै जनाको मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेमा धेरै विद्यार्थी र शिक्षकहरू रहेका छन्। गोली चलाउने अभियुक्तले पछि स्कूलको शौचालयमा आफैलाई गोली हानेको विश्वास गरिएको छ।

अस्ट्रियाली प्रहरीले मुख्य केन्द्रीय रेलवे स्टेशनबाट टाढा नरहेको ग्राट्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा गोलीबारी भएको बताएको छ।

क्रोनेन जेइटुङ ट्याब्लोइडका अनुसार आक्रमणमा आठ जनाको मृत्यु भएको छ, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।

अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिँदै

0

एजेन्सी: अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ। स्थिति तनावपूर्ण बन्दै गएको छ।

अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन्।

लस एन्जलसको डाउनटाउनमा आप्रवासनमाथि छापा मारेको विरोधमा प्रदर्शन जारी छ। जसमा प्रदर्शनकारीहरू, प्रहरी अधिकारीहरू र ट्रम्प प्रशासनले पठाएको नेशनल गार्ड सेनाहरू बीच झडप भइरहेको छ।

चौथो दिन सोमबार छापा मार्दा एकसय भन्दा बढीलाई गिरफ्तार गरिएको छ। गिरफ्तारपछि आक्रोशित प्रदर्शनकारीहरूले एजेन्टहरूलाई अश्रुग्यास, फ्ल्यास–ब्याङ ग्रेनेड र ढुङ्गाहरू प्रहार गरेका थिए।

लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्साम ट्रम्प प्रशासनसँग रुष्ट भएका छन्।

चाइना मिडिया ग्रुप (सीएमजी) का अनुसार अमेरिकाले सातसय भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको र त्यसको संख्या बढाउँदै लगेको छ।

अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको हो।

जनकपुर — प्रधानमन्त्री ओलीको भनाइ: “विद्यार्थीले रोजेको विषय पढ्न पाउनुपर्छ”

0

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरूले विद्यार्थीलाई आफूले चाहेका विषय अध्ययन गर्न पाउने वातावरण बनाउनुपर्ने बताएका छन्।

मंगलबार जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीहरू आफ्नो प्रतिभा देखाउन सक्नेछन्, यदि उनीहरूले चाहेको विषय अध्ययन गर्न पाए भने भन्ने धारणा राखे। उनले भने, “प्रतिभा नदेखिएको होइन, तर आफूले मन पराएको विषय पढ्न नपाएर विद्यार्थीहरू असफल हुने गरेका छन्।”

प्रधानमन्त्री ओलीले विश्वविद्यालयले विद्यार्थीको अभिरुचिअनुसार शैक्षिक संरचना तयार गर्नुपर्नेमा जोड दिए। उनले राजर्षि जनक विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरू विश्वका जुनसुकै देशका नागरिकसँग प्रतिस्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

समारोहमा प्रधानमन्त्री ओलीले पश्चिमा विश्वविद्यालयहरू नेपालमा स्थापित विश्वविद्यालयहरूको तुलनामा करिब १८ सय वर्षपछि मात्र स्थापना भएको उल्लेख गर्दै नेपालमा प्राचीनकालदेखि शिक्षाको गौरवशाली परम्परा रहेको स्मरण गराए।

राजर्षि जनक विश्वविद्यालयका अनुसार विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएका छन्।