Sunday, July 5, 2026
Home Blog Page 451

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

0

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा प्रत्यारोपणका लागि आवश्यक वस्तुहरू अनिवार्य रूपमा फार्मेसीमै उपलब्ध गराउने व्यवस्था गर्न परिपत्र जारी गरेको छ।

मुटु, हड्डी तथा अन्य स्वास्थ्य समस्यामा प्रयोग हुने उपकरण र सामग्रीहरू सरकारी अस्पताल-प्रतिष्ठानहरूकै फार्मेसीमार्फत उपलब्ध गराउने निर्णय मन्त्रालयले सचिवस्तरीय तहबाट गरेको हो। हालसम्म यस्ता सामग्री सरकारी फार्मेसीमा उपलब्ध नहुनुका साथै मूल्य विवरण पनि सार्वजनिक नहुँदा बिरामीहरूलाई निजी क्षेत्रबाट महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता थियो। मन्त्रालयमा यस्ता गुनासोहरू लगातार आइरहेका थिए।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै अस्पतालहरूमा बिरामी तथा सेवाग्राहीले देख्न सक्ने गरी मूल्य स्पष्ट रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको जानकारी दिए। साथै, अस्पतालको फार्मेसीमै आवश्यक सामग्री उपलब्ध हुने व्यवस्था मिलाउन परिपत्र गरिएको उनले बताए।

यस्तै, सामग्री बिक्रेताहरूले मनोमानी मूल्य असुल्न नपाउने गरी नियन्त्रण गर्न मन्त्रालयले थप निर्देशनसमेत दिएको छ। कुनै पनि नयाँ खालको प्रत्यारोपण, शल्यक्रिया वा उपचारका लागि आवश्यक सामग्री खरिद गर्नुपरेमा सम्बन्धित कम्पनी वा आधिकारिक बिक्रेताको नाम र मूल्य सार्वजनिक गरेर मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

मन्त्रालयले अस्पतालहरूलाई बिरामीहरूबाट गुनासो आउने अवस्था नआओस् भन्ने उद्देश्यले सचेत गराउँदै आवश्यक व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ।

ट्रम्पको यात्रा प्रतिबन्ध लागू, १२ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको यात्रा प्रतिबन्ध सोमबारदेखि औपचारिक रूपमा लागू भएको छ।

गत हप्ता राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशअनुसार १२ देशका नागरिकहरूलाई अमेरिकामा पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ। ती देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।

यस्तै, थप सात देशका नागरिकहरूलाई आंशिक रूपमा अमेरिका प्रवेशमा रोक लगाइएको छ। ती देशहरूमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला पर्छन्।

ट्रम्प प्रशासनले यस निर्णयलाई अमेरिका राष्ट्रिय सुरक्षाका लागि आवश्यक कदमका रूपमा व्याख्या गरेको छ, भने विभिन्न मानवअधिकार संस्था र प्रभावित देशहरूले यसलाई विभेदकारी र अन्यायपूर्ण भनेका छन्।

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

0

काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १:०० बजेसम्मका लागि स्थगित गरिएको छ। संसद बैठक आज केही समयको लागि सञ्चालन भए पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगन गरिएको हो।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएलगत्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलका सांसदहरूले होहल्ला गर्दै अवरोध गरे। सभामुख घिमिरेले दलका तर्फबाट बोल्न अनुमति दिने बताएका थिए, तर विपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण बैठकलाई सुरु भएको केहीबेरमै आधा घन्टाका लागि स्थगित गरिएको थियो।

स्थगनको बीचमा सहमति कायम गर्न प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक बुधबार १:०० बजेसम्मका लागि पुनः स्थगित गरिएको हो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन्। संसद बैठक गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा पर्दै आएको छ।

काठमाडौं-तराई मधेस द्रुतमार्ग हेर्न प्रधानमन्त्री खोकना जाने

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको सुरुवात बिन्दुमा देखिएको विवाद र समाधानका उपायबारे ललितपुरको खोकना र बुङमतीका स्थानीय प्रतिनिधिहरूसँग आज छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त छलफलमा तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटी अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले वडा नं. २१ अध्यक्ष ज्ञानभक्त महर्जन लगायतले आयोजनासँग सम्बन्धित समस्या र समाधानका सम्भावित विकल्पहरू प्रस्तुत गरेका थिए।

स्थानीय सरोकार समितिले द्रुतमार्गको सुरुवात बिन्दु खोकनामा राख्दा परम्परागत सभ्यता, संस्कृति र जीवनशैलीमा गम्भीर क्षति पुग्ने भन्दै त्यसको सट्टा करीब ५.५ किलोमिटर तल डुकुछाप क्षेत्रबाट आयोजना सुरु गर्न सुझाव दिएको हो।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू र नेपाली सेनाका प्रतिनिधिहरू समेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले विकासका नाममा जनतामाथि अन्याय हुने गरी कुनै पनि काम नगर्ने सरकारको नीति स्पष्ट पारे। साथै, समस्या समाधानका लागि निर्णय गर्नु अघि आफूले स्थलमै पुगेर अवस्था अवलोकन गर्ने जानकारी पनि दिए।

यसअघि गत माघ २३ गते प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सेनाका प्रधानसेनापति अशोकराज सिग्देल तथा अन्य वरिष्ठ अधिकारीहरूसँग आयोजना सम्बन्धी प्रगति र चुनौतीहरूबारे छलफल गरेका थिए।

काठमाडौं–तराई/मधेस द्रुतमार्गको कुल लम्बाइ ७०.९७ किलोमिटर रहेको छ। कुल लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको यो आयोजना सन् २०७४ सालमा सुरु भएको थियो। यस परियोजना सन् २०८३ को चैतसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

भिजिट भिसा प्रकरणमा हामीले राखेका मागमा सत्तापक्ष गम्भिर भएनः रास्वपा

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उठाइएका मागप्रति सत्तापक्ष गम्भीर नदेखिएको आरोप लगाएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सदनको अवरोध हटाउने विषयमा पटकपटक छलफल भए पनि ठोस प्रतिबद्धता नआएको बताए। उनका अनुसार, रास्वपाले अघि सारेका मागहरूप्रति सत्ता गठबन्धनभित्रकै दल कांग्रेसका नेताहरू असहमति जनाएकाले सहमतिको वातावरण बन्न नसकेको हो।

“भिजिट भिसा प्रकरण कुनै सामान्य विषय होइन,” परियारले भने, “छानबिन समिति गठन गर्न प्रस्ताव गर्दा न गृह मन्त्रीको राजीनामा आउने भनिएको छ, न त समिति नै बन्ने भनिएको छ। यस्तो अवस्थामा संवादको औचित्य रहँदैन।”

उनले प्रतिपक्षी दलहरूको माग सम्बोधन गरिएमा उत्पन्न सबै समस्याको समाधान सहजै सम्भव हुने स्पष्ट पारे।

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। कार्यालयका अनुसार पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व उठाइएको छ।

यस अवधिमा पेट्रोलियम पदार्थ आयातका लागि कुल रु १ खर्ब ५५ अर्ब ९४ करोड खर्च गरिएको छ। आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुहरूमध्ये पेट्रोलियमको हिस्सा मात्रै ४६.२६ प्रतिशत रहेको छ।

भन्सार प्रमुख दीपक लामिछानेका अनुसार, वीरगञ्ज भन्सारको प्रमुख राजस्व स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात हो।

पेट्रोलियमपछि सर्वाधिक राजस्व सवारीसाधन र तिनका पार्टपूर्जाको आयातबाट रु १५ अर्ब २४ करोड उठाइएको छ, जसको योगदान कूल राजस्वको १०.९३ प्रतिशत छ।

अन्य प्रमुख राजस्व योगदानदाताहरूमा:

फलाम तथा फलामजन्य सामग्री: रु ५ अर्ब २५ करोड

मेसिनरी तथा पार्टपूर्जा: रु ४ अर्ब ५५ करोड

इलेक्ट्रिक उपकरण तथा पार्टपूर्जा: रु ३ अर्ब ३७ करोड

कपडा: रु २ अर्ब ८७ करोड

सुर्ती तथा सुर्तीजन्य पदार्थ: रु २ अर्ब २३ करोड

शृङ्गार सामग्री: रु २ अर्ब २२ करोड

भन्सार कार्यालयका अनुसार, चालु आवको पहिलो १० महिनामा वीरगञ्ज भन्सारले देशको आयात राजस्वमा महत्वपूर्ण योगदान दिएको छ।

मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

0

काठमाडौं: हाल देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ, जबकि बाँकी भू–भागमा मुख्यतया सफा वा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च–पहाडी र हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीसहित स्थानीय मौसमीय गतिविधि जारी रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम रहेको मौसमविद्हरूले बताएका छन्।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0

काठमाडौं: संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको छैटौँ अधिवेशनको २५औँ बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ। यद्यपि, विपक्षी दलहरूको लगातारको अवरोधका कारण बैठकहरू पटक–पटक स्थगित हुँदै आएका छन्।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसपछि वार्षिक बजेट अनुमानमाथि सामान्य छलफल औपचारिक रूपमा सुरु हुनेछ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि बैठकमा समावेश गरिएको छ।

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

0

काठमाडौं: युइएफए नेसन्स लिगको फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै उपाधि जितेको छ। म्युनिखमा सम्पन्न खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो।

निर्णायक पेनाल्टी सुटआउटमा स्पेनका अल्भारो मोराटाले मौका गुमाएपछि, पोर्चुगलका रुबेन नेभेसले निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। गोलरक्षक डिएगो कोस्टाले मोराटाको प्रहार बचाएपछि, पोर्चुगलले लगातार दोस्रो पटक नेसन्स लिगको उपाधि उचालेको हो।

खेलको नियमित समयमा स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरे भने पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डेसले बराबरी गोल फर्काएका थिए।

कप्तान क्रिस्टियानो रोनाल्डो, जो खेलको दौरानमा घाइते भई मैदान बाहिरिएका थिए, अन्तिम क्षणहरू दर्शकदीर्घाबाट हेर्न बाध्य भए। विजयपछि उनको आँखामा खुशीका आँसु झुल्किएको दृश्य भावुक बनाउने खालको थियो।

लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल

0

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन आगामी जेठ ३१ गते शनिबार, सुनसरीको धरानमा गर्ने भएको छ।

पार्टीको पहिचानमा आधारित प्रादेशिक संरचना “१०+१” अन्तर्गत लिम्बुवान क्षेत्रको प्रतिनिधित्व गर्ने समितिको अधिवेशनमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, र धनकुटा जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने छन्।

अधिवेशनको उद्घाटन जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको छ भने सह–अध्यक्ष रकम चेम्जोङ विशिष्ट वक्ताका रूपमा उद्घाटन सत्रमा उपस्थित रहने आयोजकले जनाएको छ।

पार्टीका अनुसार अधिवेशनबाट ३९ सदस्यीय नयाँ समिति चयन गरिनेछ, जसमा अध्यक्ष १, उपाध्यक्ष ३, मुख्य सचिव १, सचिव ३ र कोषाध्यक्ष १ हुने व्यवस्था छ।

पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, पहिचानमा आधारित राष्ट्रिय समितिले राजनीतिक अधिकार, पहिचान र संघीयता सम्बन्धी विषयमा संघर्ष, संगठन र जागरण अभियानहरू सञ्चालन गर्ने जिम्मेवारी लिनेछ। यो व्यवस्था पार्टीको विधानमा स्पष्ट रूपमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो।