फुङ्लिङ (ताप्लेजुङ), १ असार: ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुस्थित एकबासे क्षेत्रमा जनश्रमदानमार्फत अस्थायी मोटरेबल काठेपुल निर्माण कार्य सुरु गरिएको छ। नेरुवाखोला र माङमाया खोलामा स्थानीयको सक्रिय सहभागितामा यो अभियान थालिएको हो।
गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइमा सुरु गरिएको अभियानमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदानमार्फत नेरुवाखोलामा काठेपुल निर्माण भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ।
पुल निर्माणका लागि आवश्यक भ्याकु लोडर, ट्र्याक्टर र तारजाली सामग्री गाउँपालिकाले उपलब्ध गराउनेछ भने बाँकी सामग्री र श्रम स्थानीय समुदायबाट जुटाइनेछ। यसैगरी, माङमाया खोलामा पनि करिब १ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदानमार्फत अस्थायी मोटरेबल पुल निर्माण कार्य अघि बढाइएको अध्यक्ष वनेमले जानकारी दिनुभयो।
वर्षायाममा यातायात अवरुद्ध हुने समस्यालाई समाधान गर्न यो काठेपुल निर्माण थालिएको वनेमले बताउनुभयो। पुल बनेपछि पैदल यात्रु मात्र नभई सवारीसाधानलाई समेत सहज आवागमन हुने अपेक्षा गरिएको छ।
पालिकाले विगतदेखि नै जनसहभागिता र श्रमदानको माध्यमबाट स्थानीय पूर्वाधार विकास गर्दै आएको छ। काठेपुल निर्माणमा स्थानीय बासिन्दा, टोल विकास संस्था, युवा तथा समुदायका विभिन्न तहका प्रतिनिधिहरूको सक्रिय संलग्नता रहेको पालिका कार्यालयले जनाएको छ।











