Sunday, July 5, 2026
Homeसामाचार"इजरायलमा अहिले स्थिति गम्भीर छ"- राजदूत पण्डित

“इजरायलमा अहिले स्थिति गम्भीर छ”- राजदूत पण्डित

काठमाडौं: इजरायलका लागि नेपाली राजदूत डा. धनप्रसाद पण्डितले इजरायल र इरानबीचको युद्धजन्य तनावका कारण अवस्था गम्भीर बनेको बताएका छन्। रातोपाटीसँगको कुराकानीमा उनले लगातार भइरहेका मिसाइल आक्रमणका कारण त्रासदीपूर्ण वातावरण सिर्जना भएको बताएका हुन्।

राजदूत पण्डितका अनुसार शुक्रबार राति १ बजेदेखि शनिबार बिहान ४:३० बजेसम्म लगातार बङ्करमा ओहोर–दोहोर गर्नुपरेको थियो। “हिजो रातभर गम्भीर अवस्था थियो। अहिले बिहानदेखि अवस्था केही शान्त छ,” उनले भने।

उनले एयरपोर्ट पूर्ण रूपमा बन्द रहेको, पानीजहाजसमेत नचलेको र देशबाहिर जान कुनै कनेक्टिभिटी नरहेको जानकारी दिए। “अब स्थिति कति दिन यस्तो रहन्छ भन्ने भन्न सकिने अवस्था छैन,” उनले स्पष्ट पारे।

राजदूत पण्डितका अनुसार हालसम्म इजरायलमा रहेका सबै नेपाली सुरक्षित छन्। “अहिलेसम्म कुनै नेपालीलाई क्षति पुगेको जानकारी आएको छैन। तर कतिपय स्थानमा काम गर्ने नेपालीहरूले राम्रो बङ्कर नपाएको गुनासो गरेका छन्,” उनले भने, “मैले उनीहरूलाई जे छ, त्यही बङ्कर प्रयोग गर्न सुझाएको छु।”

केही पुराना भवनहरूमा बङ्कर नभएकाले भर्‍याङमुनि बस्नुपरेको उल्लेख गर्दै उनले पक्की भर्‍याङलाई विकल्पका रूपमा प्रयोग गर्न आग्रह गरे। अधिकांश नेपाली केयरगिभरहरू रहेको ठाउँमा बङ्करको व्यवस्था भएकाले उनीहरूलाई सुरक्षित बस्न सहज भएको जानकारी उनले दिए।

इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि जारी गरिएको सुरक्षा निर्देशनबारे नेपाली दूतावासले जानकारी गराउँदै अद्यावधिक सूचनाका लागि इजरायली नेसनल इमर्जेन्सी पोर्टल हेर्न आग्रह गरेको छ। दूतावासले सबै नेपालीलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन र सुरक्षित आश्रयस्थलको नजिकै रहन अनुरोध गरेको छ।

राजदूत पण्डितले हाल १० मिनेटअघि चेतावनी सन्देश आउने र त्यस अवधिभित्र नै सेल्टर पुग्नुपर्ने प्रणाली लागू भएको बताए।

इजरायलको अहिलेको अवस्था अहिलेसम्मकै डरलाग्दो: एनआरएनए महासचिव

इजरायलस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव अल महम्मद मियाले हालको अवस्था आफूले सात वर्षको बसाइमा भोगेको सबैभन्दा डरलाग्दो भएको बताएका छन्। मिसाइल आक्रमणका कारण दुई जनाको मृत्यु भएको र २१ जना घाइते भएको जानकारी उनले दिए। “अहिलेलाई अवस्था केही शान्त देखिन्छ। बेलुकासम्म के हुन्छ, हेर्न बाँकी छ,” मियाले भने।

उनका अनुसार अधिकांश नेपालीहरू सुरक्षीत छन्। “सबै दाजुभाइ, दिदीबहिनीहरू आफ्नो हिसाबले काम गरिरहनुभएको छ। हिजो केही नयाँ आउनु भएका नेपालीहरू अलि डराएको देखिएको थियो, तर हामीले सम्झायौँ,” उनले बताए।

मियाका अनुसार इजरायल सरकारले देशभर सख्त नियन्त्रण लागू गरेको छ र बाहिर हिँड्न लगभग लकडाउनजस्तै अवस्था बनाइएको छ।

उनले भने, “इजरायल शक्तिशाली देश भएकोले यहाँको नागरिक जति सुरक्षित छन्, नेपालीहरू पनि त्यत्तिकै सुरक्षित छन्।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका