काठमाडौं: नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसद् गतिरोध अन्त्यका लागि माओवादी र एमालेबीच भएको दुई बुँदे सहमतिबारे पार्टीभित्र समिक्षा हुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित माओवादी दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन सत्रमा बोल्दै श्रेष्ठले सहमतिपछि विभिन्न तहबाट आएका प्रतिक्रियाहरूलाई मध्यनजर गर्दै पार्टीमा गम्भीर छलफल हुने स्पष्ट पारे।
“यो विषयमा अध्यक्ष प्रचण्डसँग विस्तृत छलफल गर्न भ्याइएन,” श्रेष्ठले भने, “तर अब पार्टीमा समिक्षा हुनेछ—यो दुई बुँदे सहमति माओवादीको सुशासन अभियानअनुकूल भयो कि भएन भन्नेबारे पनि बहस हुनेछ।”
श्रेष्ठले भ्रष्टाचारविरुद्ध माओवादी केन्द्रले निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउँदै, हाल उठेको भिजिट भिसासम्बन्धी विषयलाई पनि पार्टीले गम्भीर रूपमा लिने बताए। “हामी यो विषय त्यत्तिकै छाड्दैनौं,” उनले जोड दिए।
उनले अध्यक्ष प्रचण्डले समग्र लेखाजोखा गरेर मात्र सहमतिमा पुगेको हुन सक्ने उल्लेख गर्दै, सहमतिको औचित्यमाथि पार्टीभित्र गहिरो समीक्षा गरिने धारणा राखे।


