Sunday, May 3, 2026
Home Blog Page 20

लाङटाङमा अलपत्र विदेशी नागरिकको सेनाद्वारा उद्धार

0

काठमाडौँ । नेपाली सेनाले बिरामी भई अलपत्र परेका एक विदेशी नागरिकको उद्धार गरेको छ।

मंगलबार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा भ्रमणका क्रममा गोसाईंकुण्ड गाउँपालिका–४ को रिभरसाइड इलाकामा समस्या परेका ती नागरिकलाई नेपाली सेनाको श्रीनाथ गण अन्तर्गत सुरक्षा गुल्म स्याफ्रुबेशिबाट खटिएको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो।

सेनाका अनुसार उद्धार टोलीले कठिन भूगोल र मौसमीय चुनौतीका बाबजुद समयमै पुगेर बिरामी अवस्थाका विदेशी नागरिकलाई सुरक्षित स्थानमा सार्न सफल भएको जनाएको छ।

साझा ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ७% आर्थिक वृद्धि र १५ लाख रोजगारी लक्ष्य

0

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताहरूलाई समेट्दै साझा दस्तावेजका रूपमा ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ।

गत भदौको ‘जेन–जी’ आन्दोलनको परिवेश र फागुन २१ को निर्वाचनपछि गठन भएको सरकारले चैत्र १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं. ३ लाई आधार मानेर उक्त प्रतिबद्धतापत्र तयार पारेको हो।

राजनीतिक दलहरूबीच साझा स्वामित्व स्थापित गर्ने उद्देश्यसहित ल्याइएको यस दस्तावेजलाई आगामी आर्थिक वर्ष २०८३/८४ देखि वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गरिनेछ। यसको अन्तरनिकाय समन्वय र अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने जनाइएको छ।

प्रतिबद्धतापत्रमा आर्थिक स्थायित्व र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। आगामी पाँच वर्षभित्र औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने तथा अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्‍याउने लक्ष्य राखिएको छ। साथै, सोही अवधिमा स्वदेशमै १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पनि लिइएको छ।

कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउँदै किसानलाई क्रेडिट कार्ड र योगदानमा आधारित पेन्सन उपलब्ध गराउने योजना समावेश गरिएको छ। पर्यटनतर्फ ‘सफा हिमालः सुरक्षित आरोहण’ अभियान सञ्चालन गरिनेछ भने ऊर्जातर्फ आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सुशासन प्रवर्द्धनका लागि सरकारी सेवाभित्रका दलीय ट्रेड युनियन खारेज गर्ने, सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन गर्ने तथा मेरिटोक्रेसीका आधारमा मात्र नियुक्ति गर्ने नीति अघि सारिएको छ।

यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई क्रमशः निःशुल्क र गुणस्तरीय बनाउने, सूचना प्रविधिलाई रणनीतिक उद्योग घोषणा गर्दै ‘फ्रम नेपाल टु द वर्ल्ड’ अभियान सञ्चालन गर्ने, साथै सहकारी र लघुवित्त क्षेत्रको प्रभावकारी नियमन गर्दै पीडितलाई न्याय दिलाउनेलगायत १८ प्रमुख विषयगत क्षेत्रहरू प्रतिबद्धतापत्रमा समेटिएका छन्।

इरान नाकाबन्दीमा ट्रम्प एक्लिँदै— नेटो राष्ट्रहरू सहभागी नहुने

0

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्ने योजना अघि सारे पनि नेटो आबद्ध राष्ट्रहरूले त्यसमा साथ नदिने स्पष्ट पारेका छन्।

युद्ध समाप्त भएपछि मात्रै हस्तक्षेप गर्ने प्रस्ताव राख्दै बेलायत र फ्रान्स लगायतका देशहरूले ट्रम्पको सैन्य अभियानमा सहभागी हुन अस्वीकार गरेका छन्। यसले पश्चिमी सैन्य गठबन्धनभित्रको मतभेदलाई थप गहिरो बनाएको छ।

इरानसँग ६ हप्ता लामो द्वन्द्व अन्त्य गर्न भएका वार्ता असफल भएपछि ट्रम्पले सोमबारदेखि नाकाबन्दी सुरु भएको घोषणा गरेका थिए। उनले नाकाबन्दी तोड्ने कुनै पनि इरानी जहाजलाई अमेरिकी सेनाले ध्वस्त पार्ने चेतावनी दिएका छन्।

सुरुमा ‘स्ट्रेट अफ होर्मुज’ हुँदै आवतजावत गर्ने सबै जहाज रोक्ने भनिए पनि पछि अमेरिकी सेनाले नाकाबन्दी इरानी बन्दरगाहमा आउने–जाने जहाजमा मात्रै लागू हुने स्पष्ट पारेको छ। यो जलमार्ग विश्वको करिब पाँचौँ हिस्सा तेल आपूर्तिसँग सम्बन्धित मानिन्छ।

ट्रम्पले अन्य देशहरू पनि नाकाबन्दीमा सहभागी हुने दाबी गरे पनि नेटोका प्रमुख सदस्यहरूले त्यसलाई अस्वीकार गरेका छन्। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युद्धमा नतानिने स्पष्ट अडान लिएका छन् भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धपछि मात्र सुरक्षित जलयात्राका लागि बहुराष्ट्रिय मिसन सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन्।

यसबीच, नेटोका महासचिव मार्क रुट्टेले युरोपेली देशहरूलाई ट्रम्पले सैन्य सहयोग खोजेको जानकारी गराए पनि सदस्य राष्ट्रहरूले इरानसँग सहमति भएपछि मात्रै कदम चाल्ने बताएका छन्।

टर्कीका विदेशमन्त्री हाकान फिदानले कूटनीतिक समाधानमै जोड दिँदै आगामी शिखर सम्मेलनमार्फत ट्रम्प र नेटोबीचको सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बताएका छन्।

यसैबीच, फ्रान्सको पहलमा बेलायतसहित करिब ३० देशले जलमार्गमा ढुवानी सुरक्षाका लागि स्वतन्त्र मिसन गठन गर्ने तयारी गरेका छन्, जसले कुनै पनि पक्ष नलिई केवल ट्याङ्करहरूको सुरक्षा सुनिश्चित गर्नेछ।

राष्ट्रपतिको सन्देश— एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक रहेको बताएका छन्। मंगलबार जारी सन्देशमा उनले नयाँ वर्षलाई केवल उत्सवका रूपमा नभई विगतको समीक्षा र भविष्यका लागि मार्गनिर्देशन गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।

राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनमार्फत जनताले संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सामाजिक न्याय र समृद्धिप्रतिको स्पष्ट अपेक्षा व्यक्त गरेको बताएका छन्। उनले ती अपेक्षाहरू पूरा गर्न सबै राजनीतिक शक्ति र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

देशलाई सही दिशामा अगाडि बढाउन उनले पाँच प्रमुख संकल्प अघि सारेका छन्— लोकतान्त्रिक मूल्य र गणतन्त्रप्रति निष्ठा, सुशासन र पारदर्शिता, समावेशीकरण र सामाजिक न्याय, राष्ट्रिय स्वाधीनताको रक्षा तथा नागरिक केन्द्रित शासन व्यवस्था।

उक्त लक्ष्य हासिल गर्न दृढ संकल्प, अनुशासन र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रपतिले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

ओलीको नयाँ वर्ष सन्देश— अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल बनाऔँ

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि अनुभव र युवाशक्तिको सहकार्य आवश्यक रहेको बताएका छन्।

सन्देशमा उनले २०८२ साललाई इतिहासको रूपमा उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। “सफलता या विफलता, अवसर या चुनौती, कमजोरी वा उपलब्धि—२०८२ अब इतिहास बनिसकेको छ,” उनले भनेका छन्।

ओलीले इतिहासको समीक्षा गर्दै र भविष्यलाई दृष्टिगत गर्दै नयाँ वर्ष २०८३ ले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक सहकार्य (सिनर्जी) सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

अन्त्यमा उनले नयाँ वर्षले सुरक्षित, समृद्ध र उन्नत नेपाल निर्माणमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षमा गगन थापाको आह्वान— राष्ट्रिय चुनौती सामना गर्न एकजुट बनौँ

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन्।

शुभकामना सन्देशमा उनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि सबैको दृढ संकल्प आवश्यक रहेको उल्लेख गरेका छन्। “नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौतीहरू सामना गर्न हामी एकताबद्ध हुनुपर्छ,” उनले भनेका छन्, “नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढतापूर्वक अघि बढ्ने यो महत्त्वपूर्ण घडी हो।”

थापाले शान्त, सभ्य र समृद्ध राष्ट्र निर्माणको अभियान सफल बनाउन राजनीतिक दलहरू र जिम्मेवार निकायहरूलाई दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन्। मुलुक, नागरिक र लोकतन्त्रको हितका लागि सहकार्य र एकताको विकल्प नभएकोमा उनले जोड दिएका छन्।

नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

सन्देशको अन्त्यमा उनले नयाँ वर्षले आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

२०८२ को अर्थतन्त्र: संकट, आन्दोलन र अनिश्चितताको वर्ष

0

काठमाडौं । नेपाली पात्रोअनुसार २०८२ साल विदा भई २०८३ साल सुरु भएसँगै विगत वर्षको समीक्षा गर्दा यो वर्ष नेपाली अर्थतन्त्रका लागि केवल क्यालेन्डर परिवर्तनमा सीमित रहेन। आर्थिक सुस्तता, राजनीतिक उथलपुथल, ऐतिहासिक महँगी र नीतिगत अस्थिरताको चक्रमा अर्थतन्त्र गम्भीर दबाबमा रह्यो, जसको प्रभाव आगामी वर्षहरूमा समेत देखिने निश्चित छ।

०८२ साललाई एकातिर संरचनात्मक सुधारका प्रयास र अर्कोतिर सडक आन्दोलनले राज्य संयन्त्रलाई चुनौती दिएको वर्षका रूपमा चित्रण गर्न सकिन्छ। विशेषगरी भदौ अन्त्यतिर भएको ‘जेनजी आन्दोलन’ले तत्कालीन सरकार परिवर्तन गराउँदै देशलाई नयाँ राजनीतिक मोडमा पु¥यायो। आन्दोलनका क्रममा राज्यका प्रमुख संरचनासँगै निजी सम्पत्तिमा भएको क्षतिले लगानीकर्ताको आत्मविश्वासमा ठूलो गिरावट आयो, जसको प्रत्यक्ष असर सेयर बजारमा समेत देखियो।

आर्थिक मन्दीले निजी क्षेत्रलाई सबैभन्दा बढी प्रभावित बनायो। निर्माण, रियल स्टेट र औद्योगिक गतिविधि सुस्त हुँदा कर्जा माग घट्यो र लगानी विस्तारमा अवरोध सिर्जना भयो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति केही खुकुलो बनाए पनि अपेक्षाअनुसार कर्जा प्रवाह बढ्न सकेन भने खराब कर्जाको अनुपात बढ्दै जाँदा वित्तीय स्थायित्वप्रति चिन्ता थपियो।

घरजग्गा कारोबारमा भु–उपयोग नियमावलीको कार्यान्वयनमा ढिलाइ, कित्ताकाट रोकावट र प्रशासनिक अवरोधले ठूलो गिरावट आयो। सरकारले नियम संशोधन गर्दै कारोबार खुलाए पनि बजारमा उल्लेख्य सुधार देखिन सकेको छैन। यसबीच घरजग्गा कारोबारमा अनुमतिपत्र अनिवार्य बनाउने नीतिले थप जटिलता थपेको छ।

शेयर बजारमा पनि वर्षभर उतारचढाव देखियो। नीतिगत निर्णय, आन्दोलन र कर्मचारीको ‘पेन डाउन’ आन्दोलनका कारण प्राथमिक बजार प्रभावित भयो भने आईपीओ निष्कासन रोकिँदा लगानीकर्तामा अन्योलता बढ्यो। राजनीतिक परिवर्तनपछि केही समय सकारात्मक संकेत देखिए पनि पुनः अस्थिरता फर्किएको छ।

इन्धन र सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको वर्षका रूपमा पनि ०८२ साल स्मरणीय रह्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र पश्चिम एशियाको द्वन्द्वका कारण ऊर्जा संकट चुलिँदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्यो। त्यस्तै सुनको मूल्यले पनि नयाँ रेकर्ड कायम गर्दै उपभोक्तामाथि थप दबाब सिर्जना गर्‍यो।

जलविद्युत क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणको समझदारी जस्ता सकारात्मक पहल भए पनि ‘टेक एन्ड पे’ जस्ता नीतिगत विवाद, आन्दोलन र आक्रमणका घटनाले क्षेत्रलाई अस्थिर बनायो। बंगलादेशसँग विद्युत निर्यात विस्तारको सहमति भए पनि आन्तरिक चुनौतीहरू कायमै रहेका छन्।

अब २०८३ सालमा प्रवेश गर्दा नयाँ सरकारका सामु निजी क्षेत्रको विश्वास पुनःस्थापना, पुँजीगत खर्च वृद्धि र महँगी नियन्त्रण जस्ता चुनौतीहरू छन्। संरचनात्मक सुधार र स्पष्ट नीतिगत दिशा बिना अर्थतन्त्र अझै ‘पर्ख र हेर’को अवस्थामा रहने देखिन्छ।

भक्तपुर महोत्सवमा नयाँ वर्षको सांगीतिक धमाका — चर्चित कलाकारहरूको बेजोड प्रस्तुति

0

काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा जारी औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा आज विशेष सांगीतिक उत्सव आयोजना हुँदैछ। महोत्सवमा रचना रिमाल, रामकृष्ण ढकाल, दीपक चौलागाई, भोजराज काफ्ले, सुनितमि परियार, प्रितम मल्ल, राजन खैराते, अनित बिष्ट र रमन तलवार लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिने भएका छन्।

दशौँ संस्करणको यस महोत्सवमा नयाँ वर्षको पहिलो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्। करिब ४० हजार दर्शकको उपस्थितिमा चर्चित गायक–गायिकाहरूले आफ्नो कला प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, वर्षा राउत, मेक्सम गौडेल र विजय बराल लगायतका ख्यातिप्राप्त कलाकारहरूले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। नयाँ वर्ष तथा बिस्काः जात्राको अवसर पारेर विगत १२ वर्षदेखि यो महोत्सव आयोजना हुँदै आएको संयोजक दीपक थापाले बताए।

महोत्सवमा कृषि, पर्यटन, दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता तथा हस्तकलाका सामग्रीका करिब १५० स्टल रहेका छन्। अध्यक्ष महतका अनुसार कपडा, भान्साका सामग्री, स्थानीय उत्पादन र खानाका परिकारमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

बालबालिकाका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स जस्ता खेलकुद गतिविधि पनि महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन्। ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइनेछ भने विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको निर्देशक सुनिल बज्राचार्यले जानकारी दिए।

चैत्र २६ गतेदेखि सुरु भएको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।

नयाँ वर्ष २०८३ सुरु — देशभर हर्षोल्लासका साथ उत्सव

0

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेपाल तथा विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एकअर्कामा शुभकामना आदानप्रदान गर्दै उत्सव मनाइरहेका छन्।

विक्रम संवत् अनुसार हरेक वर्ष वैशाख १ गतेबाट नयाँ वर्ष सुरु हुन्छ। यो संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह–नक्षत्रसँग जोडिएका छन्। पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्दा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने क्षणलाई नयाँ वर्षको सुरुवात मानिन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ।

नयाँ वर्षको अवसरमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। यस दिन मानिसहरूले सफलता र समृद्धिको कामना गर्दै शुभकामना साटासाट गर्ने, मिठाई बाँड्ने र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ।

त्यस्तै, नयाँ वर्षको पहिलो दिन नयाँ योजना बनाउने, सत्संकल्प गर्ने र नयाँ कामको थालनी गर्ने परम्परा पनि रहिआएको छ।

सबैका माग समेटेर संवैधानिक समाधान खोजौँ : पूर्वराजा ज्ञानेन्द्रको आग्रह

0

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सबैका माग समेटेर संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्।

सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन नहुने बताए।

निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुने बताउँदै पूर्वराजा शाहले सबै पक्षको माग सम्बोधन हुनेगरी संवैधानिक समाधानबारे सोच्नुपर्ने बताए।
‘निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं,’ उनले भने।

उनले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएको भएपनि त्यो कोरा परिवर्तनमात्रै भएको टिप्पणी गरेका छन्। उनले देश प्रयोगशाला मात्रै भएको भन्दै राष्ट्र निर्माणमा पछि परेको उल्लेख गरेका छन्।

पूर्वराजा शाहले आफ्नो सन्देशमा देशको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको संकेत गरेका छन्। उनले शासन व्यवस्था केवल सत्ताको हेरफेरमा मात्र केन्द्रित भएको र आम नागरिकले परिवर्तनको महसुस गर्न नपाएको उल्लेख गरे। “राजनीति जनताको सेवाका लागि हुनुपर्नेमा यो केवल शक्ति आर्जनको माध्यम मात्र बनेको छ,” सन्देशमा भनिएको छ।

देशको खस्कँदो आर्थिक अवस्था र दैनिक रूपमा हजारौँको संख्यामा विदेशिने युवा जनशक्तिप्रति उनले गम्भीर चासो देखाएका छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना नहुँदा राष्ट्रको भविष्य नै संकटमा पर्न सक्ने भन्दै उनले जिम्मेवार निकायलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

पूर्वराजाले नेपालको भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्। बाह्य प्रभाव र आन्तरिक कलहका कारण देशको मौलिक पहिचान खतरामा परेको उनको विश्लेषण छ।

विगतमा जस्तै यसपटक पनि उनले देश बचाउनका लागि सबै पक्षबीच एउटा ‘साझा सहमति’ र ‘नयाँ सोच’को आवश्यकता औंल्याएका छन्र। उनले निषेधको राजनीति त्यागेर मुलुकको हितका लागि सबै शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन्।

पूर्वराजा शाहको यस सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दी र राजनीतिक वितृष्णाका बीच उनले दिएको यो सन्देशले राष्ट्रवादी सोच राख्ने तप्कालाई उत्साहित तुल्याएको देखिन्छ।

यस्तो छ नववर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन–

त्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू

हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमग शुभकामना ।

समयको प्रवाहसँगै हामीले हाम्रो देश र समाजलाई प्रगतिपथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र वाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ । तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ ।

वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्‍यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।

स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।

आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ । यो बेलामा नेपाली जनताको आशा र अभिलाषा पनि उत्तिकै छन् । यो अवस्थामा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने प्रकोपका विषयमा आन्तरिक सुरक्षालाई चुस्त बनाउन आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, उत्पादित वस्तुको जुगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पर्नुपर्ने देखिन्छ ।

आम नागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधिन भएर पराधिनताबाट देशलाई जोगाउनुछ । देशको स्रोत शक्ति हो । सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संलल्पित बनौं । नेपाल शान्तिको भूमि बनोस् । उन्नतीको मुलुक बनोस् । अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय शान्ति र सुख पाउन् । यही हाम्रो सदिक्षा हो । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । जय नेपाल