Sunday, May 3, 2026
Home Blog Page 19

के तपाईंलाई कब्जियतको समस्या छ ? अपनाउनुस् यी ५ उपाय !

0

काठमाडौँ । गलत खानपान, पानीको कमी र तनावका कारण पाचन प्रणाली प्रभावित हुँदा कब्जियतको समस्या देखापर्छ। यसलाई बेवास्ता गर्दा पेट दुख्ने, ग्यास जम्ने, पेट फुल्ने लगायत अन्य पाचनसम्बन्धी समस्या निम्तिन सक्छन्।

कब्जियत नियन्त्रण गर्न र पेट स्वस्थ राख्न दैनिक आहारमा फाइबर, पानी तथा पाचन प्रक्रियालाई सहयोग गर्ने प्राकृतिक तत्त्वयुक्त खानेकुरा समावेश गर्नु आवश्यक हुन्छ। यस्ता खानेकुराले पेटलाई नियमित रूपमा सफा राख्न मद्दत गर्छन्।

मेवा:


मेवामा प्रशस्त फाइबर र ‘पेपेन’ इन्जाइम पाइन्छ, जसले पाचन प्रक्रियालाई सक्रिय बनाउँदै कब्जियत कम गर्न मद्दत गर्छ। यसलाई काँचै, सलाद वा स्मूदीका रूपमा सेवन गर्न सकिन्छ। गर्मी मौसममा मेवा खानु शरीरलाई हाइड्रेटेड राख्न पनि उपयोगी हुन्छ।

मुंगको दाल:


मुंगको दाल हल्का र सजिलै पच्ने खानेकुरा हो। यसमा फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियामा सुधार ल्याउँछ। मुंगको दालको खिचडी वा सुपले पेटलाई आराम दिनुका साथै कब्जियत घटाउन सहयोग गर्छ।

दही:


दहीमा पाइने प्रोबायोटिक्सले पेटमा रहेका लाभदायक ब्याक्टेरियालाई बढाउँछ, जसले पाचन प्रक्रियालाई सुदृढ बनाउँछ। नियमित रूपमा दही सेवन गर्दा कब्जियत, ग्यास र एसिडिटी जस्ता समस्या कम हुन्छन्।

आलस (अलसी):


आलस फाइबर र ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत हो। यसलाई भिजाएर वा पिसेर सेवन गर्दा पाचन प्रक्रियामा सुधार आउँछ र कब्जियत हटाउन मद्दत मिल्छ।

प्रशस्त पानी:


पानी पाचन प्रणालीका लागि अत्यावश्यक तत्व हो। पर्याप्त पानी पिउनाले दिसा नरम भई नियमित रूपमा निस्कन मद्दत गर्छ। कब्जियतबाट बच्न दैनिक कम्तीमा ८–१० गिलास पानी पिउनु आवश्यक हुन्छ।

अस्वीकरण:
यो सामग्री विभिन्न स्वास्थ्यसम्बन्धी स्रोतका आधारमा तयार पारिएको हो। कुनै पनि स्वास्थ्य समस्या भएमा चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ।

पोखरामा ‘स्वीप अप्रेसन’ : १८ व्यक्ति र ४१ सवारी साधन कारबाहीमा

0
Gemini created image

पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा शान्ति सुरक्षा कायम गर्न कास्की प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन्।

मादक पदार्थ तथा लागू औषध सेवन गरी हो–हल्ला गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गतिविधि बढेको जनगुनासोपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पोखराका विभिन्न रणनीतिक स्थानमा प्रहरी परिचालन गरिएको थियो।

अभियानअन्तर्गत पोखरा महानगरपालिकाका काहुडाँडा, चाउथे, मेथलाङ र बेगनास क्षेत्रबाट मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी चलाउने र उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

काहुडाँडाबाट ८ जना व्यक्ति र १० वटा सवारी साधन, चाउथेबाट ९ वटा सवारी साधन, मेथलाङबाट ५ जना व्यक्ति र १३ वटा सवारी साधन तथा बेगनास क्षेत्रबाट ८ वटा सवारी साधन कारबाहीमा परेका छन्। साथै, बेगनास क्षेत्रमा लागू औषध सेवन गरी सवारी चलाउने एक चालकसहित अन्य ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्ति र सवारी साधनमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै, सवारी साधन मोडिफाइ गरी चर्को आवाज निकाल्ने र सडकमा स्टन्ट गर्नेहरूमाथि विशेष निगरानी बढाइएको जनाइएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र संसदीय नेतृत्वमा छलफल

0
file photo

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइए पनि विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन। साथै, प्रतिनिधि सभामा संसदीय दलको नेता चयन प्रक्रिया सुरु गर्ने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

त्यसैगरी, पार्टीको १५औँ महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधानका विषय पनि बैठकको मुख्य एजेन्डामा रहने जनाइएको छ।

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको छलफल आज, नीति–कार्यन्वयनमा जोड

0

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज छलफल गर्ने भएका छन्। छलफल आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय गरिएको छ।

उक्त कार्यक्रममा सहभागी सांसदहरूले आफ्ना–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा सम्भावित समाधानबारे प्रत्यक्ष रूपमा धारणा राख्नेछन्। यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गर्दै नीति निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

सरकारले यस कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

डलर बलियो बन्दै, आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्यमा वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा कायम गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७९ पैसा तोकिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८८ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६ पैसा कायम गरिएको छ।

यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६० पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८९ पैसा रहेको छ।

अन्य मुद्रातर्फ, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २८ पैसा र बिक्रीदर १६ रुपैयाँ ३५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८५ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

सडेनडेथमा मछिन्द्रको रोमाञ्चक जित, इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

0

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो।

इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि निर्णयका लागि पेनाल्टी सुटआउटमा जाँदा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको थियो। सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भयो।

मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले पेनाल्टीमा गोल गरेका थिए। यद्यपि पेमा तामाङको प्रहार झापाका गोलकिपर मौषम मगरले बचाएका थिए।

झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले पेनाल्टीमा गोल गरे। तर निर्णायक क्षणमा गोलकिपर मौषम मगरको प्रहार असफल हुँदा टोली पराजित भयो।

यसअघि खेलको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो। तर ४३औं मिनेटमा डि–एरियाभित्र योगेश गुरुङको ह्यान्ड भएपछि रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए, जसलाई सनिस श्रेष्ठले सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए।

बाँकी समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी हुँदै सडेनडेथमा पुगेको हो। उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।

अब मछिन्द्रले सेमिफाइनलमा शुक्रबार युवा समाज मोरङसँग प्रतिस्पर्धा गर्नेछ। युवा समाजले उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।

इटहरी गोल्डकपमा दोस्रो सहभागिता जनाइरहेको मछिन्द्र र झापा ११बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमै भेट भएको थियो, जहाँ मछिन्द्र १–० ले विजयी भएको थियो।

प्रतियोगिताअन्तर्गत बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ, जसमा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण नेपालको हिमाली क्षेत्रमा सामान्यतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम प्रायः सफा रहेको छ।

हाल कोशी प्रदेशका पहाडी र हिमाली भूभागसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी क्षेत्रसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। यी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको मौसम विभागले जनाएको छ।

नयाँ वर्षसँगै जुर्मुरायो नेपाली फिल्म बजार, ‘राम नाम सत्य’ र ‘पहाड’को उत्साहजनक सुरुआत

0

काठमाडौं । तीन महिनादेखि सुस्ताएको नेपाली फिल्मको व्यापार नयाँ वर्षसँगै पुनः चलायमान हुन थालेको देखिएको छ।

माघ १६ गते रिलिज भएको ‘आबाट आमा’ले नेपालमा १३ करोड १३ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै उल्लेखनीय सफलता हासिल गरे पनि त्यसपछि प्रदर्शनमा आएका अधिकांश नेपाली फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेका थिएनन्। ‘कुमारी’, ‘रमिताको पिरती’, ‘बिगुल’, ‘श्री बुकुरो’, ‘शिवांस’, ‘प्रवासी जीवन’, ‘लालीमा’, ‘हामी तीन भाइ’ लगायत फिल्महरू बक्स अफिसमा कमजोर सावित भएका थिए।

यसैबीच, नयाँ वर्षको अवसर पारेर गत शुक्रबार रिलिज भएको ‘राम नाम सत्य’ले पछिल्ला फिल्महरूको तुलनामा राम्रो सुरुआत गरेको छ। पहिलो चार दिनमै सुखद् व्यापार गरेको यो फिल्मले नयाँ वर्षको पहिलो दिन मंगलबार देशभर उत्साहजनक दर्शक उपस्थिति देखाएको छ।

आधिकारिक बक्स अफिस रिपोर्ट सार्वजनिक नभए पनि उपलब्ध शोहरूमा उच्च अकुपेन्सी देखिएको छ। वितरक गोविन्द शाहीका अनुसार बिहानदेखि रातिसम्मका धेरै शो हाउसफुल रहे। पाँचौं दिनसम्म आइपुग्दा दर्शक संख्या बढ्नु सकारात्मक संकेत मानिएको छ।

हल भिजिटमा रहेका अभिनेता विराज भट्ट ले फिल्मले अपेक्षाअनुसार प्रतिक्रिया पाइरहेको बताए। उनले नयाँ वर्ष लक्षित रिलिज सफल भएको र ‘वर्ड अफ माउथ’ पनि सकारात्मक रहेको उल्लेख गरे।

त्यस्तै, मंगलबारबाट रिलिज भएको ‘पहाड’ले पनि राम्रो सुरुआत गरेको देखिएको छ। पहिलो दिनमै कतिपय शोहरू हाउसफुल भएको निर्माण पक्षले जनाएको छ। निर्देशक तुलसी घिमिरे ले फिल्मप्रति दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको बताएका छन्।

अभिनेता विपिन कार्की का अनुसार बिहान केही सुस्त देखिए पनि दिउँसोपछि हलहरूमा राम्रो माहोल बनेको थियो।

नेपाली फिल्म उद्योगका लागि नयाँ वर्ष व्यापारका हिसाबले महत्वपूर्ण समय मानिन्छ। बिदा, उत्सव र पारिवारिक घुमफिरका कारण यस अवधिमा हलहरूमा दर्शकको चाप बढ्ने अपेक्षा गरिन्छ।

‘राम नाम सत्य’ माइकल चन्द निर्देशित एक्सन ड्रामा हो, जसमा विराज भट्ट, सुशील श्रेष्ठ, सुनिल थापा, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की लगायत कलाकारहरूको अभिनय रहेको छ।

‘पहाड’ भने तुलसी घिमिरे निर्देशित सामाजिक ड्रामा हो, जसमा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री र पञ्चमी घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको छ।

इरान–अमेरिका वार्ता पुनः सुरु हुने संकेत, पाकिस्तान आशावादी

0

काठमाडौं । पाकिस्तानले इरानअमेरिका बीचको अर्को चरणको वार्ता चाँडै सुरु हुन सक्ने संकेत दिएको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ ले निरन्तर युद्धविराम र सकारात्मक अवस्थालाई ध्यानमा राख्दै दुई देशबीच वार्ता अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

इस्लामाबाद स्थित संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हालैका वार्तापछि सन्तोषजनक वातावरण बनेको छ र अहिलेसम्म कुनै नकारात्मक परिस्थिति देखिएको छैन,” बीबीसी फारसी ले जनाएको छ।

उनले थपे, “वर्तमान अवस्था सामान्य छ र यसले कूटनीतिक प्रयासहरू सही दिशामा अघि बढिरहेको संकेत गर्दछ।”

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ ले पनि दुई पक्षबीचको युद्धविरामले वार्ताको सम्भावना बलियो बनाएको बताएका थिए।

उल्लेखनीय छ कि पहिलो चरणको वार्ता इस्लामाबाद मा सम्पन्न भएको थियो, जहाँ इरान र अमेरिकाका प्रतिनिधिहरू सहभागी भए पनि कुनै ठोस निष्कर्ष निस्किएको थिएन।

सगरमाथा संवाद’लाई निरन्तरता, कूटनीतिक औजारका रूपमा अघि बढाउने सरकारको निर्णय

0

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको ‘सगरमाथा संवाद’लाई निरन्तरता दिने भएको छ।

सरकारले सार्वजनिक गरेको नीतिगत प्रतिबद्धतापत्रमा यस बहुपक्षीय संवादलाई नेपालको ‘प्रमुख कूटनीतिक औजार’का रूपमा विकास गर्ने उल्लेख गरिएको छ।

जलवायु परिवर्तन र हिमाली क्षेत्रका समस्याबारे विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा यो अवधारणा अघि सारिएको थियो। वर्तमान सरकारको निर्णयलाई राजनीतिक वृत्तमा सकारात्मक निरन्तरताका रूपमा हेरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्ययोजनामा परराष्ट्र नीतिअन्तर्गत ‘सगरमाथा संवाद’लाई उच्च प्राथमिकतामा राखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल ले नयाँ सरकारले पुराना राम्रा नीतिहरूलाई परिष्कृत गर्दै निरन्तरता दिने धारणा व्यक्त गरेका छन्।

उनले भने, “नयाँपन भनेको पूर्ण विच्छेद होइन, राम्रो कामको निरन्तरता हो। सगरमाथा संवाद राष्ट्रिय गौरव र कूटनीतिक आवश्यकतासँग जोडिएको विषय हो, यसलाई अझ विस्तार गरिनेछ।”

यस संवादमार्फत नेपालले जलवायु परिवर्तनको असर हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म कसरी पुगिरहेको छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायसँग ‘जलवायु न्याय’को पक्षमा आवाज उठाउने लक्ष्य राखेको छ।

एमालेले आफ्नो घोषणापत्रमा यसलाई आर्थिक कूटनीतिको माध्यम बनाउने उल्लेख गरेको थियो। सोही आधारमा वर्तमान सरकारले आगामी सन् २०२७ को संस्करणका लागि तयारी संकेत गरेको छ।

सन् २०२५ मा सम्पन्न पहिलो संस्करणपछि यस पहललाई संस्थागत गर्नुपर्ने माग बढ्दै गएको थियो। नयाँ सरकारले यसलाई अपनत्व दिएपछि नेपालको परराष्ट्र नीतिमा ‘राष्ट्रिय सहमति’को सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुगेको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार, बालेन्द्र शाह ले विकास र सुशासनका केही पूर्वाधार मोडेलहरूमा निरन्तरता दिँदै आएको देखिन्छ। ‘सगरमाथा संवाद’लाई अघि बढाउने निर्णयले विभिन्न राजनीतिक धारहरूबीच नीतिगत सहकार्यको संकेत दिएको छ।

यद्यपि, यस पहललाई केवल औपचारिक छलफलमा सीमित नराखी ठोस अन्तर्राष्ट्रिय सहयोग र लगानी भित्र्याउन सक्नु सरकारका लागि मुख्य चुनौती रहनेछ। आगामी संस्करणमा विश्वस्तरीय नेतृत्वको सहभागिताले यसको प्रभावकारिता निर्धारण गर्ने अपेक्षा गरिएको छ।