Wednesday, June 17, 2026
Home Blog Page 18

भारत भ्रमणमा रहेका रवि लामिछानेको जयशंकरसँग भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

0

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। बिहीबार नयाँ दिल्लीमा भएको भेटका क्रममा नेपाल–भारत द्विपक्षीय हित, आपसी सम्बन्ध तथा समसामयिक कूटनीतिक विषयमा छलफल भएको जनाइएको छ।

भेटवार्तामा भारतीय विदेशमन्त्री जयशंकरसँगै भारतीय विदेशसचिव विक्रम मिस्री पनि सहभागी रहेका थिए। नेपाल–भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका विदेशसचिव मिस्रीको उपस्थितिलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि भारतीय विदेशसचिव विक्रम मिस्रीको नेपाल भ्रमणको चर्चा चले पनि अन्तिम समयमा उक्त भ्रमण स्थगित भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेटका लागि समय तय हुन नसकेपछि भ्रमण रोकिएको भारतीय पक्षको बुझाइ रहेको बताइएको छ।

नेपाल–भारत सम्बन्धको पछिल्लो कूटनीतिक घटनाक्रमबीच भएको यो भेटलाई दुई देशबीचको संवाद र सम्बन्धको दृष्टिकोणबाट महत्त्वपूर्ण मानिएको छ।

नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष: अझै अनुत्तरित छन् धेरै प्रश्न

0

काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित राजपरिवारका अधिकांश सदस्यको ज्यान गएको यस घटनाको सम्झनामा आज देशका विभिन्न स्थानमा २५औँ स्मृति दिवस मनाइँदै छ।

वि.सं. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा आयोजित नियमित पारिवारिक भोजका क्रममा अप्रत्याशित रूपमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजपरिवारका सदस्य धीरेन्द्र शाह, शान्ति, जयन्ती तथा कुमार खड्गविक्रम शाहलगायतको मृत्यु भएको थियो।

घटनापछि अचेत अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। उनी उपचाररत र अचेत अवस्थामा रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राजप्रतिनिधिको जिम्मेवारी दिइएको थियो। पछि जेठ २२ गते दीपेन्द्रको निधन भएपछि ज्ञानेन्द्र शाह नेपालको राजा बने।

घटनाको छानबिनका लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय समिति गठन गरिएको थियो। समितिले युवराज दीपेन्द्रले नै परिवारका सदस्यको हत्या गरी अन्ततः आफूलाई पनि गोली हानेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो।

तर, प्रतिवेदन सार्वजनिक भएको २५ वर्ष बितिसक्दा पनि घटनाबारेका प्रश्न, आशंका र बहस नेपाली समाजमा अझै पूर्ण रूपमा अन्त्य भएका छैनन्। पूर्वराजा वीरेन्द्रको जनप्रिय छवि र सामूहिक पारिवारिक क्षतिका कारण यो दिनलाई नेपाली समाजले आज पनि शोक, स्मरण र प्रश्नसँगै सम्झने गरेको छ।

‘खानेपानी सरकारको प्राथमिकतामा परेन’ — बजेटप्रति उपभोक्ता महासंघको मिश्रित प्रतिक्रिया

0

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटप्रति राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले मिश्रित प्रतिक्रिया दिएको छ। महासंघले केही निर्णयलाई सकारात्मक भन्दै स्वागत गरेको छ भने केही नीतिगत व्यवस्थाप्रति असन्तुष्टि जनाएको छ।

महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी सेवा नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भएकाले यस क्षेत्रमा लाग्दै आएको कर छुट तथा सहुलियतले देशभर सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई प्रत्यक्ष राहत पुग्ने बताए। उनले खानेपानी क्षेत्रमा लाग्दै आएको २५ प्रतिशत आयकर छुटको निर्णयलाई स्वागत गर्दै निरन्तरको पहलपछि सरकारले आफूहरूको माग सुनेको प्रतिक्रिया दिए।

तर, विद्युत महसुलमा ५० युनिटभन्दा माथि ५ प्रतिशत कर लगाउने निर्णयप्रति उनले आपत्ति जनाए। उनका अनुसार यस्तो निर्णय आम उपभोक्ताको हितविपरीत रहेको छ र उत्पादनमुखी क्षेत्रलाई कर छुट दिनुपर्नेमा उल्टो भार थपिएको छ।

अध्यक्ष वलीले वर्तमान सरकारका मन्त्रीहरू शैक्षिक रूपमा सक्षम भए पनि व्यवहारिक अनुभव र धैर्यताको कमी देखिएको टिप्पणी गरे। बजेट निर्माणमा व्यवहारिक पक्ष कमजोर देखिएको उनको भनाइ छ।

उनले खानेपानीलाई राज्यको उच्च प्राथमिकतामा राख्नुपर्ने, स्वच्छ खानेपानीमा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने तथा उपभोक्ता समितिलाई अझ बलियो बनाउँदै व्यवस्थापनमा उनीहरूको भूमिका बढाउनुपर्नेमा जोड दिए।

वलीले खानेपानी क्षेत्रमा बहुवर्षीय योजनाभन्दा छिटो कार्यान्वयन हुने मोडेल आवश्यक रहेको उल्लेख गर्दै पानीको स्रोत संरक्षण, गुणस्तर परीक्षण र व्यवस्थापनमा राज्यको भूमिका कमजोर रहेको दाबी गरे।

उनका अनुसार नेपालभर करिब १४० वटा खानेपानी उपभोक्ता समितिमार्फत ठूलो जनसंख्या लाभान्वित भइरहेका छन् र उपभोक्ता समितिसँग सहकार्य नगरी खानेपानी व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको निष्कर्ष छ।

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर १५२ रुपैयाँ नजिक, युरो र पाउण्ड पनि बलियो

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ।

आज युरोपियन युरोको विनिमय दर पनि उच्च रहेको छ। युरो एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ। स्वीस फ्र्यांक एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ २८ पैसा रहेको छ।

अन्य प्रमुख विदेशी मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा रहँदा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम भएको छ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकका मुद्राको विनिमय दर पनि सार्वजनिक गरेको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५८ पैसा कायम हुँदा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा रहेको छ।

यता, नेपाली अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

आज बस्दै मन्त्रिपरिषद् बैठक, सिंहदरबारमा मध्यान्ह १२ बजे सुरु हुने

0

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भाजपा मुख्यालयमा आज रवि लामिछानेको उच्चस्तरीय राजनीतिक भेटवार्ता

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएको छ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको टोलीले आज भाजपा मुख्यालयमा शीर्ष नेताहरूसँग भेटघाट तथा राजनीतिक छलफल गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका थिए।

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यता, अनलाइनमार्फत आवेदन दिन सकिने

0

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ सदस्यता आवेदन प्रक्रिया खुला गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार अब स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकले अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गरिनेछ।

बैठकले नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासन पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यताका लागि आवेदन दिन आह्वान समेत गरेको छ।

आज बस्दै प्रतिनिधिसभा बैठक, बजेटमाथि सामान्य छलफल सुरु हुने

0

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनमा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ।

पश्चिमी वायुको प्रभावः पहाड र हिमालमा वर्षा–हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

0

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशका विभिन्न क्षेत्रमा मौसममा बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।

यता, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा गर्मी बढ्ने र तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा अधिकांश स्थानमा मौसम सफा रहने अनुमान छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

अमेरिका–इरान सम्झौतामाथि अन्योल गहिरियो, तेहरानको चेतावनी– ‘अधिकार सुनिश्चित नभएसम्म सहमति हुँदैन’

0

तेहरान । अमेरिका र इरानबीच सम्भावित नयाँ सम्झौताबारे फेरि अनिश्चितता बढ्न थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसमक्ष नयाँ तथा कडा प्रस्ताव अघि सारेको चर्चा भइरहेका बेला तेहरानले आफ्ना राष्ट्रिय अधिकार सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता सम्भव नरहेको स्पष्ट पारेको छ।

इरानका वरिष्ठ नेता तथा वार्ताकारहरूले अमेरिकाप्रति पुरानै अविश्वास कायम रहेको जनाउँदै राष्ट्रिय हित सुरक्षित नभएसम्म कुनै सहमति स्वीकार नगर्ने बताएका छन्। वरिष्ठ नेता मोहम्मद बाघेर गालिबफले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै इरानी जनताको अधिकार र सार्वभौमिकता सुरक्षित नभएसम्म सम्झौतामा सहमति नहुने बताएका हुन्।

न्युयोर्क टाइम्स र एक्सियोसले ट्रम्प प्रशासनले इरानलाई परिमार्जित कडा प्रस्ताव पठाएको रिपोर्ट सार्वजनिक गरेपछि तेहरानबाट यस्तो प्रतिक्रिया आएको हो। यद्यपि प्रस्तावका विस्तृत बुँदा सार्वजनिक गरिएको छैन।

यो सम्भावित सम्झौतालाई मध्यपूर्वमा जारी तनाव कम गर्ने, क्षेत्रीय स्थायित्व कायम गर्ने तथा विश्व ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटीको सहज सञ्चालनसँग जोडेर हेरिएको छ। तर प्रस्तावका विषयमा जारी मतभेदका कारण वार्ता थप जटिल बन्दै गएको संकेत देखिएको छ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्रै भएको दाबी गर्दै आएको छ। तर अमेरिका र पश्चिमी मुलुकहरूले भने इरानले गोप्य रूपमा आणविक हतियार विकास गर्न खोजेको आशंका व्यक्त गर्दै आएका छन्।

तेहरानले वार्तालाई अघि बढाउन रोक्का गरिएको करिब १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा हुनुपर्ने अडान राखेको छ भने समृद्ध युरेनियम भण्डार नष्ट गर्नुपर्ने अमेरिकी माग अस्वीकार गरेको जनाएको छ।

यसबीच सैन्य क्षेत्रमा पनि तनाव कायमै छ। अमेरिकी पक्षले इरानको क्षेप्यास्त्र पूर्वाधारमा ठूलो क्षति पुगेको दाबी गरे पनि विभिन्न विश्लेषणहरूले इरानले धेरै सैन्य संरचना पुनः सञ्चालनमा ल्याइसकेको संकेत गरेका छन्।

हर्मुज जलघाँटीको भविष्य, क्षेत्रीय सुरक्षा, आणविक कार्यक्रम र लेबनानको अवस्था अहिले अमेरिका–इरान वार्ताका मुख्य एजेन्डाका रूपमा उभिएका छन्। यद्यपि दुवै पक्षबीच अझै गहिरो अविश्वास कायम रहेकाले निकट भविष्यमै ठोस सहमति हुने सम्भावना अनिश्चित देखिएको छ।