Sunday, May 3, 2026
Home Blog Page 13

लोकप्रियतावाद र अराजकतावाद अस्थायी चुनौती’— जबजप्रति दृढ रहन शंकर पोखरेलको आह्वान

0

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ सामु देखिएका लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद अस्थायी चुनौती मात्र भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा संस्थापक नेताहरूलाई स्मरण गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना जस्तै हुन्,’ पोखरेलले लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादतर्फ दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गरौँ।’

उनले नेकपाका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठको योगदानलाई स्मरण गरेका छन्।

यसैबीच, एमालेले आज आफ्नो केन्द्रीय कार्यालयमा ७७औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। उपत्यकामा रहेका नेता–कार्यकर्तालाई कार्यक्रममा सहभागी हुन तथा काठमाडौं बाहिर रहेका कमिटीहरूलाई पनि आ–आफ्नो क्षेत्रमा कार्यक्रम आयोजना गरी सहभागिता जनाउन महासचिव पोखरेलले आग्रह गरेका छन्।

कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा’— विष्णु रिजालको चेतावनी, तीन प्रश्नको खोजीमा जोड

0

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्युनिस्ट आन्दोलन इतिहासकै सबैभन्दा रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले २०४६ सालयता पार्टी सबैभन्दा बढी सङ्कट, बहस र रक्षात्मक अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्।

एमालेका चार र तत्कालीन माओवादीका दुई जना गरी छ जना प्रधानमन्त्री बनाइसकेको पार्टी यसपटक प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलसमेत बन्न नसक्नु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।

रिजालले वर्तमान प्रतिकूल अवस्थालाई अनुकूलतामा बदल्न कम्तीमा तीनवटा मुख्य प्रश्नको जवाफ खोज्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पराजित मनोविज्ञान, भद्रा कमिटीको प्रवृत्ति, अव्यवस्थित संगठन प्रणाली, पुरानै चिन्तन र ‘म’ केन्द्रित कार्यशैलीजस्ता कमजोरी सुधार्न सकिन्छ कि सकिँदैन भन्नेमा गम्भीर समीक्षा आवश्यक छ।

त्यस्तै, पार्टीभित्र सुधार, परिवर्तन र परिमार्जनमार्फत नयाँ आशा जगाउन सकिन्छ कि सकिँदैन र युवा पुस्ता (जेन–जी) ले बुझ्ने र अंगाल्ने पार्टीका रूपमा नेकपालाई रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको पनि उत्तर खोज्नुपर्ने उनले बताएका छन्।

‘चिन्ता मात्र होइन, चिन्तन गरौँ। धेरै बिग्रिसकेको छ, केही अझै बचाउन सकिन्छ,’ रिजालले लेखेका छन्, ‘विनाश वा विकासका लागि आन्तरिक कारण नै प्रमुख हुन्छ। दोष अरूतिर मात्रै देखाएर समस्याबाट मुक्त भइयो भन्ने सोच अझ ठूलो दुर्घटनाको संकेत हुन सक्छ।’

नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख ९ गते (२२ अप्रिल १९४९) मा भएको थियो। संस्थापकहरूमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका छन्।

वैशाख १० सम्म तराई–पहाडमा तातो लहरको जोखिम, सतर्क रहन आग्रह

0

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। यस अवधिमा नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना छ।

त्यस्तै मधेश प्रदेशका सबै भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग, खोच र उपत्यकाहरूमा समेत तातो दिन रहने अनुमान गरिएको छ। अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्ने देखिएको छ।

तातो हावा र तातो लहरका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने र वान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने मौसमविद्को चेतावनी छ।

महाशाखाले गर्मीबाट जोगिन घरभित्र वा शीतल स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्कन, बाहिर निस्कनु परे टाउको छोप्न वा छाता प्रयोग गर्न, बिहान वा साँझको समयमा काम गर्न, हल्का कपडा लगाउन तथा प्रशस्त पानी र फलफूलको रस सेवन गर्न सुझाव दिएको छ। स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक सल्लाह लिन पनि आग्रह गरिएको छ।

गृहमन्त्रीबारे विवादबीच आज मन्त्रिपरिषद् बैठक

0

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग उठिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयसँगै गृहमन्त्रीसम्बन्धी विवादबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

विद्युतीय गाडीको आयात घट्दा पेट्रोल कारमा उछाल

0

काठमाडौं । नेपालमा पछिल्लो समय लोकप्रिय बन्दै गएको विद्युतीय सवारी साधन (ईभी) को आयात चालू आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विद्युतीय कारको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १० प्रतिशतले कमी आएको हो।

भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको चैत मसान्तसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा यस वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ। सो अवधिमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका विद्युतीय कार नेपाल भित्रिएका छन् भने यसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

आयातित गाडीहरूमध्ये ५१ देखि १०० किलोवाट क्षमताका गाडी सबैभन्दा धेरै, ४ हजार ८३ युनिट रहेका छन्। त्यस्तै ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५ सय ७४ युनिट र २०१ किलोवाटभन्दा माथिका ८ युनिट गाडी आयात भएका छन्।

यता, विद्युतीय गाडीको आयात घट्दै जाँदा पेट्रोलबाट चल्ने कारको आयातमा भने उल्लेख्य वृद्धि भएको छ। नौ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो।

गत वर्ष चैतसम्म २ हजार ७४२ युनिट मात्रै पेट्रोल कार आयात भएको थियो। बजारमा इन्धनबाट चल्ने गाडीको माग बढेसँगै आयातमा यस्तो उछाल आएको देखिन्छ।

विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने अवस्थामा पेट्रोल कारको आयात बढ्नुले भविष्यमा इन्धन खपत र अर्थतन्त्रमा थप दबाब सिर्जना हुने चिन्ता बढाएको छ।

राहुघाट जलविद्युत् आयोजना ९५% सम्पन्न, जेठभित्र परीक्षण उत्पादन लक्ष्य

0

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ। सुरुङ, बाँध र विद्युतगृहका संरचना निर्माणसँगै उपकरण जडान अन्तिम चरणमा पुगेपछि आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको छ।

आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य राख्दै निर्माण सम्पन्न संरचनाको परीक्षणको तयारी भइरहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए। उनका अनुसार सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल संरचनाको निर्माण र उपकरण जडान सकिएर हाल फिनिसिङको काम भइरहेको छ। सुरुङका चारवटै प्रवेशमार्ग बन्द गरी पानी भरेर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरी निर्माण सम्पन्न भइसकेका छन्। तिल्केनीचौरस्थित विद्युतगृह निर्माण सकिएर रङरोगनको काम भइरहेको छ। २० मेगावाट क्षमताको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटको जडान अन्तिम चरणमा पुगेको छ।

विद्युतगृह परिसरमा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न स्वीचयार्ड निर्माण भइसकेको छ। राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाको निर्माणमा कोरोना महामारी, बाढी–पहिरोलगायत प्राकृतिक विपद् तथा नदीजन्य निर्माण सामग्री अभावका कारण ढिलाइ भएको निर्माण पक्षले जनाएको छ। भारतीय आयात–निर्यात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन भइरहेको हो।

यस आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

आजको विनिमय दर: अमेरिकी डलर १४९ रुपैयाँ नजिक

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो बढ्ने

0

काठमाडौँ । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशको हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैबीच, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (हीटवेभ) को सम्भावना पनि देखिएको छ।

आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

इस्लामावादमा अमेरिकी सैन्य विमानहरूको बाक्लो उपस्थिति: उच्चस्तरीय कूटनीतिक भ्रमणको संकेत

0

इस्लामावाद — पाकिस्तानको राजधानी इस्लामावादस्थित नुर खान एयरबेसमा सोमबार अमेरिकी सैन्य विमानहरूको असामान्य चहलपहल देखिएको छ। एकै दिन ६ वटा अमेरिकी सैन्य विमानहरू अवतरण भएसँगै यसलाई कुनै उच्चस्तरीय अमेरिकी कूटनीतिक भ्रमणको पूर्वतयारीको रूपमा हेरिएको छ।

विमानहरूको गतिविधि र उद्देश्य उडान ट्र्याकिङ डेटाका अनुसार, अमेरिकी वायुसेनाका ठूला ‘सी-१७’ विमानहरूले विभिन्न समयमा नुर खान एयरबेसमा अवतरण गरेका हुन्। स्रोतका अनुसार, यी विमानहरूले सम्भावित उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा उपकरण, सञ्चार सामग्री र प्राविधिक सहयोगका सामानहरू ओसारेका छन्। अमेरिका र इरानबीच हुन गइरहेको वार्ताको दोस्रो चरणको चर्चा चलिरहेका बेला अमेरिकी सैन्य विमानहरूको यो बाक्लो उपस्थितिलाई कूटनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिएको छ।

सुरक्षा व्यवस्थामा कडाइ अमेरिकी टोलीको भ्रमणको चर्चासँगै इस्लामावाद र रावलपिन्डीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। पाकिस्तानी प्रशासनले राजधानीको ‘रेड जोन’ क्षेत्रलाई पूर्ण रूपमा सिल गरेको छ भने सर्वसाधारणको आवागमन र सवारी साधनको परिचालनमा पनि कडाइ गरिएको छ। रावलपिन्डी प्रहरीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ‘हाई अलर्ट’ जारी गरेको छ।

कूटनीतिक महत्त्व यस घटनाक्रमलाई अमेरिका र इरानबीचको तनाव न्यूनीकरणका लागि हुन लागेको कूटनीतिक संवादसँग जोडेर हेरिएको छ। अमेरिकी उपराष्ट्रपति वा अन्य शीर्ष अधिकारीहरूको भ्रमण हुन सक्ने चर्चाका बीच दुवै मुलुकका प्रतिनिधिहरूले पाकिस्तानमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेका छन्। यद्यपि, अमेरिका वा पाकिस्तान सरकारले अहिलेसम्म भ्रमणको औपचारिक पुष्टि भने गरिसकेका छैनन्। विदेशी पाहुनाहरूको सुरक्षाका लागि अपनाइएको यो विशेष सतर्कताले क्षेत्रीय कूटनीतिमा पाकिस्तानको बढ्दो भूमिकालाई समेत संकेत गरेको छ।

रास्वपाले गर्‍यो सांसद र मन्त्रीको लेबी परिमार्जन: नयाँ शुल्क कति?

0

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूले पार्टीलाई बुझाउने ‘लेबी’ (शुल्क) को दर परिमार्जन गरेको छ। आइतबार बसेको सचिवालय बैठकले गरेको लेबी परिमार्जनसम्बन्धी निर्णयलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले औपचारिक रूपमा अनुमोदन गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, पार्टीको लेबी व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै नयाँ दररेट कायम गरिएको छ। यसअनुसार नयाँ शुल्क संरचना निम्नअनुसार छ:

  • सांसदहरू: यसअघि मासिक १६ हजार ५०० रुपैयाँ रहेको लेबी दरलाई घटाएर अब १५ हजार रुपैयाँ कायम गरिएको छ।

  • मन्त्रीहरू: मन्त्रीहरूको लेबी मासिक १८ हजार रुपैयाँ तोकिएको छ।

  • स्वकीय सचिव: मन्त्रीहरूका स्वकीय सचिवका लागि भने मासिक २ हजार रुपैयाँ लेबी निर्धारण गरिएको छ।

पार्टीको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउने उद्देश्यले यो परिमार्जन गरिएको रास्वपाले जनाएको छ।