Wednesday, July 22, 2026
Homeसामाचारसम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन

सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन तथा अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई अनिवार्य रूपमा तोकिएको समयभित्र अभिलेख अद्यावधिक गर्न आग्रह गरेको हो।

मन्त्रालयले तोकिएको समयभित्र अभिलेख अद्यावधिक नगर्ने वा सम्पर्कमा नआउने कर्मचारीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

सूचनाअनुसार नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण यकिन गर्न भनिएको छ। साथै, बिदा अवधि सकिएपछि कर्मचारी हाजिर भए वा नभएको विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अद्यावधिक गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले कर्मचारी प्रशासनलाई व्यवस्थित, अद्यावधिक र पारदर्शी बनाउन यस्तो कदम चालिएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका