Friday, June 5, 2026
Homeराजनीतिदुर्गा प्रसाईं र धवलशमशेर समूहबीच नयाँ राजनीतिक शक्ति निर्माणमा सहमति

दुर्गा प्रसाईं र धवलशमशेर समूहबीच नयाँ राजनीतिक शक्ति निर्माणमा सहमति

काठमाडौं । नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको समूहबीच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने सहमति भएको छ। शुक्रबार बृहत् राष्ट्रवादी एकताको लक्ष्यसहित दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल निर्माण गर्ने समझदारी भएको हो।

कार्यक्रममा बोल्दै नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले समसामयिक राजनीति, राष्ट्रिय मुद्दा र आगामी सहकार्यबारे धारणा राख्दै वर्तमान राजनीतिक दलहरूमाथि तीव्र असन्तुष्टि व्यक्त गरे।

प्रसाईंले विगतमा दुई ठूला कम्युनिस्ट दलबीच एकता गराउन आफूले भूमिका खेलेको स्मरण गर्दै त्यसबाट देशमा स्थायित्व, विकास र समृद्धिको अपेक्षा गरिए पनि परिणाम विपरीत आएको दाबी गरे। उनले प्रमुख राजनीतिक दलहरू स्वार्थकेन्द्रित बनेको आरोप लगाए।

उनले नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपामाथि समेत आलोचना गर्दै वर्तमान राजनीतिक शक्तिहरूबाट देशको विकास सम्भव नरहेको निष्कर्षमा आफू पुगेको बताए। राजसंस्था पुनर्स्थापनाको प्रयासका क्रममा विभिन्न राजनीतिक शक्तिबाट अवरोध भएको दाबी गर्दै उनले राप्रपाले धर्म र राजसंस्थाको मुद्दालाई चुनावी एजेन्डामा सीमित गरेको आरोप लगाए।

प्रसाईंले आफ्नो अभियानका क्रममा बारम्बार विरोध, कानुनी कारबाही र गिरफ्तारीको सामना गर्नुपरेको उल्लेख गर्दै आफू १४ पटक जेल परेको दाबी गरे। विभिन्न राजनीतिक र शक्ति केन्द्रहरूले आफूलाई निशाना बनाएको आरोप लगाउँदै उनले आफ्नो अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने संकेत गरे।

नयाँ राजनीतिक शक्ति निर्माणको सहमतिसँगै राष्ट्रवादी धारलाई केन्द्रमा राखेर वैकल्पिक राजनीतिक मोर्चा बनाउने प्रयास अघि बढेको नेताहरूले बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका