काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई स्पष्ट कार्ययोजना तयार गरी तत्काल कार्यान्वयनमा जुट्न निर्देशन दिएका छन्।
प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समावेश आयोजना तथा कार्यक्रमहरू निर्धारित समयसीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनमा देखिने नीतिगत तथा प्रशासनिक समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए। उनले कार्यान्वयनको नेतृत्व भने प्राधिकरण व्यवस्थापनले नै लिनुपर्ने स्पष्ट पारे।
सरकारले आगामी आर्थिक वर्षमा प्रसारण लाइन, सबस्टेशन लगायत विद्युत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समयमै आयोजना सम्पन्न हुने गरी मातहतका निकाय परिचालन गर्न आग्रह गरे।
उनले प्राधिकरणका अधिकारीहरूलाई आफ्नो अनुभव, दक्षता र क्षमताको अधिकतम उपयोग गर्न आग्रह गर्दै समस्याको पहिचानसँगै समाधानका ठोस प्रस्ताव व्यवस्थापन तहबाट आउनुपर्ने बताए।
‘यसपटक प्राधिकरणले मागअनुसार बजेट प्राप्त गरेको छ। अब प्रभावकारी कार्यान्वयन, सेवा प्रवाह सुधार तथा गुणस्तरीय र दिगो विद्युत आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी प्राधिकरणकै हो,’ मन्त्री श्रेष्ठले भने।
मन्त्री श्रेष्ठले सामाजिक उत्तरदायित्वसँगै प्रतिफलमुखी लगानीमा ध्यान दिनुपर्ने बताउँदै आगामी वर्षका प्राथमिकता प्राप्त आयोजनाबारे स्पष्ट निष्कर्षमा पुग्नुपर्ने धारणा राखे। साथै उनले विद्युत महसुल बक्यौता असुलीलाई नियमित कार्यसूचीका रूपमा अघि बढाउन र त्यसको निरन्तर अनुगमन गर्न सुझाव दिए।
संस्थागत सुशासन सुदृढ गर्ने, कार्यसम्पादनलाई परिणाममुखी बनाउने तथा प्राथमिकताका आयोजना छनोट गरी अघि बढ्न उपकार्यकारी निर्देशकहरूलाई खुलेर सुझाव दिन पनि उनले आग्रह गरे।
छलफलका क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशकहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गतका आयोजना र कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै बजेट कार्यान्वयनलाई व्यवस्थित बनाउन असार १५ भित्र विस्तृत कार्ययोजना सञ्चालक समितिमा पेश गर्ने तयारी भइरहेको जानकारी दिएका थिए।


