Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियहिन्दूबाट ख्रीष्टियन बनेकी महिलाको शव तीन दिनसम्म गाउँ–गाउँ घुमाइयो, अन्त्येष्टि रोकियो

हिन्दूबाट ख्रीष्टियन बनेकी महिलाको शव तीन दिनसम्म गाउँ–गाउँ घुमाइयो, अन्त्येष्टि रोकियो

काठमाडौं । छत्तीसगढको धमतरी जिल्लाको बोराई गाउँकी ६५ वर्षीया पुनिया बाई साहूको मृत्यु पछिको अन्त्येष्टि प्रक्रिया तीन दिनसम्म विवादमा परेपछि मात्रै सम्पन्न भएको छ। दुई वर्षअघि क्रिश्चियन धर्म अपनाएकी साहूको अन्त्येष्टिलाई लिएर गाउँस्तरमा विरोध भएपछि उनको शव एक गाउँबाट अर्को गाउँसम्म लैजानु परेको थियो।

बुधबार उनको मृत्यु भएपछि परिवारले गाउँमै अन्त्येष्टिको तयारी गरेको थियो। तर गाउँले र केही हिन्दू संगठनहरूले उनी क्रिश्चियन धर्म अपनाएको कारण गाउँमा अन्त्येष्टि गर्न नदिने भन्दै विरोध जनाए। विरोध चर्किएपछि परिवारले शव तहसील मुख्यालय नगरीमा लगे पनि त्यहाँ पनि उनीहरूले ठूलो विरोधको सामना गर्नुपर्‍यो।

नगरीमा गाड्नका लागि खनिएको खाडलसमेत सयौंको भीड आएर पुरिदिएको बताइएको छ। यसपछि मृतक महिलाको शव अन्तिम संस्कारको पर्खाइमा रह्यो।

डिसेम्बर २५ को रात, सामाजिक तथा हिन्दू संस्थाहरूको पहलमा मृतकका परिवारका सदस्यहरूलाई ‘शुद्धीकरण’ गराइएको र उनीहरूबाट हिन्दू धर्म अपनाउने लिखित प्रतिबद्धता गराइएको थियो। उक्त शपथपत्र प्रशासनिक र प्रहरी अधिकारीहरूको उपस्थितिमा सार्वजनिक रूपमा पढेर सुनाइएको थियो।

शपथपत्रमा परिवारले क्रिश्चियन धर्मसँग भविष्यमा कुनै सम्बन्ध नराख्ने, हिन्दू परम्परा र स्थानीय धार्मिक रीतिरिवाज पालना गर्ने तथा पुनः धर्म परिवर्तन भएमा गाउँ छोड्ने प्रतिबद्धता जनाएको उल्लेख छ। त्यसपछि मात्र शुक्रबार पुनिया बाई साहूको अन्तिम संस्कार हिन्दू रीतिरिवाजअनुसार गरिएको हो।

धमतरी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मनिशंकर चन्द्रले घटनाबारे प्रतिक्रिया दिँदै साहु समुदायभित्र अन्त्येष्टिका विषयमा विवाद उत्पन्न भएको र सामाजिक बैठकमार्फत समस्या समाधान गरिएको बताए। “समुदाय र परिवारबीच असमझदारी थियो, अन्ततः सामाजिक सहमतिबाट समाधान गरिएको हो,” उनले भने।

यस घटनाले धर्म परिवर्तन, सामाजिक दबाब र धार्मिक स्वतन्त्रतासम्बन्धी विषयमा फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका