Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियसामूहिक विवाहपछि दाइजोको माग, चार दिनमै दुलहीलाई माइती छाडे दुलाहा

सामूहिक विवाहपछि दाइजोको माग, चार दिनमै दुलहीलाई माइती छाडे दुलाहा

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कन्नौज जिल्लामा सरकारी ‘मुख्यमन्त्री सामूहिक विवाह योजना’ अन्तर्गत विवाह गरेका एक दुलाहाले विवाह भएको चार दिनमै दुलहीलाई माइतीमा छाड्दै नगद र मोटरसाइकल दाइजो मागेको घटना सार्वजनिक भएको छ।

सदर कोतवाली क्षेत्रको पञ्चम पुर्वा गाउँकी शीतला देवीको विवाह सरकारी अधिकारीहरूको उपस्थितिमा ठठिया थाना क्षेत्रका देवेन्द्रसँग सम्पन्न भएको थियो। दुवै परिवारको सहमतिमा आर्थिक रूपमा विपन्न परिवारकी शीतलाको विवाह सरकारी योजनाअन्तर्गत गराइएको थियो।

तर विवाहको चार दिनपछि देवेन्द्रले आफू विवाहप्रति सन्तुष्ट नभएको भन्दै शीतलालाई माइतीमा ल्याएर छाडेका थिए। उनले दुलही पक्षसँग एक लाख भारतीय रुपैयाँ नगद र एउटा मोटरसाइकल दाइजोका रूपमा माग गर्दै सो माग पूरा भएपछि मात्र पुनः घर लैजाने सर्त राखेको आरोप लागेको छ।

पीडित शीतला देवीले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी गराउँदै दाइजो माग फिर्ता लिन आग्रह गरे पनि देवेन्द्रले अस्वीकार गरेको बताइएको छ।

न्यायको खोजीमा शीतलाले सुरुमा स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन्। तर उजुरीमाथि सुनुवाइ नभएपछि उनी अदालत पुगेकी थिइन्। अदालतको आदेशपछि मात्र सदर कोतवाली प्रहरीले देवेन्द्रविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। दाइजोसम्बन्धी कानुन कडा भए पनि भारतका केही क्षेत्रमा यस्तो प्रथा अझै कायम रहनुले महिला अधिकार र सामाजिक न्यायसम्बन्धी चुनौतीलाई पुनः उजागर गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका