Thursday, May 14, 2026
Homeअन्तराष्ट्रियहल्दी चलिरहेकै बेला खुल्यो बेहुलाको ‘पहिलो विवाह’ रहस्य, कान्छो भाइसँग गराइयो बिहे

हल्दी चलिरहेकै बेला खुल्यो बेहुलाको ‘पहिलो विवाह’ रहस्य, कान्छो भाइसँग गराइयो बिहे

बगहा (बिहार) । बिहारको बगहामा एउटा विवाह समारोह अप्रत्याशित मोडमा पुगेको छ । जन्ती निस्कनुअघि बेहुलाको पहिलो विवाहबारे खुलासा भएपछि अन्ततः कान्छो भाइसँग बेहुलीको विवाह गराइएको घटना अहिले चर्चामा छ ।

ठकरहा थाना क्षेत्रअन्तर्गत नवका टोला बेलवारीपट्टी गाउँका ललन चौधरीले आफ्ना जेठो छोराको विवाह गोपालगञ्जकी एक युवतीसँग तय गरेका थिए । विवाहको तयारी चलिरहेका बेला बेहुलाको घरमा हल्दीको रस्म भइरहेको थियो ।

त्यही समयमा बेहुली पक्षको मोबाइलमा एक महिलाले ह्वाट्सएपमार्फत आफू बेहुलाको पहिलो पत्नी भएको दाबी गर्दै सन्देश पठाइन् । उनले आफू विगत ९ वर्षदेखि उक्त युवकसँग बस्दै आएको र उनीहरूका तीन सन्तान रहेको दाबीसमेत गरिन् । उनले प्रमाणस्वरूप केही तस्बिरहरू पनि पठाएकी थिइन् ।

सन्देश प्राप्त भएपछि बेहुली पक्षका परिवारजन तत्काल बेहुलाको गाउँ पुगेका थिए । त्यसपछि दुवै पक्षबीच लामो समयसम्म विवाद र छलफल चलेको थियो । घटनाले विवाह नै रोकिने अवस्था सिर्जना भएको थियो ।

पहिलो पत्नी भएको दाबी गर्ने महिलाले प्रहरीमा उजुरी दिने चेतावनी दिएपछि गाउँमा पञ्चायतसमेत बसेको थियो ।

पछि गाउँले र दुवै परिवारबीचको छलफलपछि सामाजिक प्रतिष्ठा र बेहुलीको भविष्यलाई ध्यानमा राख्दै नयाँ निर्णय गरिएको थियो । जेठो दाजुको सट्टा कान्छो भाइलाई बेहुला बनाएर विवाह गराउने प्रस्तावमा अन्ततः दुवै पक्ष सहमत भएका थिए ।

त्यसपछि रातारात विवाहको तयारी फेरिएको थियो । हल्दी लगाइएका जेठो दाजुको ठाउँमा कान्छो भाइले सेहरा बाँधेर विवाह सम्पन्न गरेका थिए ।

घटना अहिले स्थानीय क्षेत्रमा चर्चाको विषय बनेको छ । प्रहरीले भने पहिलो पत्नी भएको दाबी गर्ने महिलाको दाबी र घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका