काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसिसी विश्वकप लिग–२ अन्तर्गत बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ।
जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्डबीच हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्। स्कटल्याण्डले आफ्ना दुवै खेल जित्दै प्रभावशाली प्रदर्शन गरेको छ।
स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो। त्यसपछि अमेरिकाविरुद्ध पनि समान अन्तरको जित निकाल्दै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको थियो।
यता नेपालले भने घरेलु मैदानमा अमेरिकामाथि नौ विकेटको शानदार जित निकाल्दै पुनरागमन गरेको थियो। उक्त जितपछि उत्साहित बनेको नेपाली टोली आज स्कटल्याण्डलाई हराएर विश्वकपको विश्व छनोट प्रतियोगितामा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।
अंक तालिकामा नेपाल अहिले दबाबपूर्ण अवस्थामा रहेको छ। आठ टोली सहभागी प्रतियोगितामा नेपाल सातौँ स्थानमा छ। नेपाललाई विश्व छनोट प्रतियोगितामा स्थान बनाउन बाँकी सबै १० खेल जित्नुपर्ने चुनौती रहेको छ।
यस्तै, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि नेपाल शीर्ष छभित्र रहनैपर्ने अवस्था छ। त्यसैले आजको खेल नेपाली टोलीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
हाल नेपालले २६ खेलमध्ये नौमा जित, १५ मा हार र दुई खेल नतिजाविहीन हुँदा २० अंक जोडेको छ। स्कटल्याण्ड भने ३० खेलबाट १६ जित, आठ हार र छ खेल नतिजाविहीन रहँदा ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ।
घरेलु समर्थकको साथमा नेपालले बलियो स्कटल्याण्डलाई चुनौती दिँदै महत्वपूर्ण जित निकाल्ने लक्ष्य राखेको छ।


