Saturday, May 2, 2026
Homeसूचना प्रविधिसुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता: मन्त्री तिमिल्सिना

सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता: मन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता र नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता बनेको उल्लेख गरे। उनले यस क्षेत्रमा सक्रिय उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालालाई शुभकामना व्यक्त गरे।

मन्त्री तिमिल्सिनाका अनुसार सरकार ‘डिजिटल नेपाल’ निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको छ। आगामी दशकलाई लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको उनले बताए।

उनले नागरिक एपलाई थप सुदृढ बनाउँदै अत्यावश्यक सरकारी सेवाहरू एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध गराउने व्यवस्था विस्तार भइरहेको जानकारी दिए।

नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत सुधारलाई तीव्रता दिइएको पनि उनले बताए।

देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर र डिजास्टर रिकभरी प्रणाली सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन घटाउँदै समावेशिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

साथै सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्द्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले बताए।

“डिजिटल रूपान्तरण सरकार मात्रको प्रयासले सम्भव हुँदैन, यसका लागि निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम र नागरिकको सहकार्य अपरिहार्य छ,” मन्त्री तिमिल्सिनाले बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका