Friday, July 31, 2026
Homeखेलकुदसाफ यू-२० महिला च्याम्पियनसिप: नेपाल बंगलादेशसँग भिड्दै: जित्नै पर्ने दबाब

साफ यू-२० महिला च्याम्पियनसिप: नेपाल बंगलादेशसँग भिड्दै: जित्नै पर्ने दबाब

काठमाडौं: नेपाली यू-२० महिला फुटबल टोली आज साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुने अन्तिम खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

हालसम्म प्रतियोगितामा बंगलादेश ५ खेलमै जित हात पार्दै १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ जित र १ हारसहित १२ अंकसहित दोस्रो स्थानमा रहेको छ। पहिलो भेटमा नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो।

भुटान र श्रीलंकामाथि दुई-दुई खेलमा फराकिलो जित निकालेको नेपालका लागि आजको खेल ‘अघोषित फाइनल’ बन्न पुगेको छ। उपाधिका लागि नेपालले बंगलादेशलाई हराउनु अनिवार्य छ। यदि नेपाल जित्न सफल भयो भने दुवै टिमको अंक समान १५-१५ हुनेछ, जसपछि गोल अन्तरका आधारमा विजेता तय हुनेछ।

हालसम्म नेपालले ५ खेलमा ३० गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ भने बंगलादेशले २४ गोल मात्र गरेको छ। दुवै टोलीले समान ४ गोल खाएका छन्। तर ‘हेड टु हेड’मा बंगलादेश एक गोलले अघि छ, जसले अन्तिम निर्णयमा प्रभाव पार्न सक्छ।

आजको निर्णायक भिडन्तमा नेपाली टोली जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा रहेको छ। च्याम्पियन बन्नका लागि यो खेल नेपालका लागि जीवन-मरणको भिडन्त सावित हुनसक्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका