Saturday, May 30, 2026
Homeअर्थ र ब्यापारसहुलियत कर्जामा असन्तुलन

सहुलियत कर्जामा असन्तुलन

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्केपछि अधिकांश युवा बेरोजगार भएका छन्। नेपाली श्रम बजारमा फिट नहुने हुँदा उनीहरू बेरोजगार हुन पुगेका छन्।

पछिल्लो समयमा विश्वव्यापीरूपमा फैलिएको कारोना भाइरस (कोभिड—१९) ले बेरोजगारी झनै बढाएको छ। कोभिडपछि भारतबाहेक विदेशबाट रोजगारी गुमाएर ५ लाख श्रमिक स्वदेश फर्किएका छन्। स्वदेश फर्केका युवा बेरोजगार हुनुका साथै स्वरोजगारसमेत हुन सकेका छैनन्।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशीलतामा जोड्न सहुलियत कर्जाको अवधारणा ल्याए पनि कार्यान्वयन हुन सकेको छैन। लाखौंको संख्यामा स्वदेशबाट फर्किंदा सय जनाले पनि सहुलियत कर्जा पाउन सकेका छैनन्।

वैदेशिक रोजगार विभागका अनुसार करिब ५५ लाख युवा श्रमस्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये कति फर्के भन्ने तथ्यांक कतै छैन। वैदेशिक रोजगारीमा गएकामध्ये आधा फर्के पनि उद्यमशीलतामा जोडिने गरेको पाइँदैन। पुनः वैदेशिक रोजगारीमा गइरहने प्रवृत्तिका कारण पनि युवा स्वदेशमा स्वरोजगार हुनुभन्दा वैदेशिक रोजगारकै क्रममा पटकपटक खाडी मुलुक र मलेसिया गइरहेको पाइन्छ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाखसम्म सहुलियत कर्जा ९५ हजार ८ सय ६ जनाले सहुलियत कर्जा पाएका छन्। सहुलियत कर्जाका १० शीर्षकमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा र महिला उद्यमशील कर्जा अधिक प्रवाह भएको छ। यस्तो सहुलियत उपयोग गर्नेमा उच्च घरानाकै वर्चस्व रहेको बताइन्छ। कृषितर्फ ४३ हजार ९ सय ९७ जनाले १ खर्ब १० करोड उपयोग गरेका छन्। ४९ हजार ४ सय ४९ हजार महिलाले ४६ अर्ब ४६ करोड महिला उद्यमशील कर्जा उपयोग गरेका छन्। सरकारले चालू आर्थिक वर्षमा वाणिज्य बैंकका शाखाबाट १० र विकास बैंकका शाखाबाट ५ वटा अनिवार्य सहुलियत कर्जा प्रदान गर्ने नीति लिएपछि महिला कर्जा व्यापक उपयोग भएको छ। कृषिमा पनि विगतको तुलनामा अधिक बढेको छ।

राष्ट्र बैंकका अनुसार वैशाखमा ६ हजार जनाले सहुलियत कर्जा उपयोग गर्दा कृषि र महिलाबाहेक अन्य ८ वटा शीषर्कमा ५९ जनाले मात्रै सहुलियत कर्जा उपयोग गरेका छन्।

विदेशबाट फर्केका युवा परियोजना कर्जा ७ सय ४४ जनाले मात्रै पाएका छन्। उनीहरूले उक्त शीर्षकमा ५५ करोड मात्रै उपयोग गरेका छन्। केही समयअघि विदेशबाट फर्केका २० हजार युवाले व्यवसायमा जोडिन चाहे पनि बैंक तथा वित्तीय संस्थाले उनीहरूलाई ऋण प्रदान नगरेको गुनासो गर्छन्।  बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई उपेक्षा गरेको जानकारहरू बताउँछन्। सहुलियत कर्जा कार्यक्रमका १० शीर्षकमध्ये ८ वटा शीर्षकमा २ हजार ३ सय ५९ जनाले मात्रै उपयोग गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। उनीहरूले ३ अर्ब २० करोड उपयोग गरेका छन्। यसमा कपडा व्यवसायीले बढीमात्रामा कर्जा उपयोग गरेका छन्।

सरकारले उद्यमशीलता बढाउन सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि ल्याएको छ। अनिवार्य कर्जा प्रवाह गर्न अनिवार्य नीति लिए पनि बैंकहरूले असन्तुलित ढंगले कर्जा प्रवाह गरिरहेका छन्।

श्रमविज्ञ गणेश गुरुङले वैदेशिक रोजगारबाट फर्केकालाई रोजगारी र सहुलियत कर्जा प्रवाहका सरकारले उपेक्षा गरेको बताउँछन्। सरकारले रेमिट्यान्सलाई मात्रै प्राथमिकता दिए पनि प्राप्त रेमिट्यान्सलाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारको ध्यान नगएको उनी ठान्छन्। विदेशबाट फर्केकालाई रोजगारीमै केन्द्रित गर्नुपर्ने उनको बुझाइ छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको केही समयअघिको अध्ययनअनुसार वैदेशिक रोजगारीबाट फर्केपछि कामै नगर्ने र बेरोजगार हुने ५५.८ प्रतिशत रहेको पाइएको थियो।

मन्त्रालयले जारी गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ अनुसार १४.३ प्रतिशत व्यक्तिहरू चाहेर पनि रोजगारी पाउन नसकेर बेरोजगार हुने गरेको पाइएको थियो। वैदेशिक रोजगारीमा गएका ७५ प्रतिशत महिला बेरोजगार हुनुका साथै कुनै पनि काममा संलग्न हुँदैनन्। पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति कुनै पनि काममा समावेश नहुने गरेको पाइएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका