काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो।
इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि निर्णयका लागि पेनाल्टी सुटआउटमा जाँदा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको थियो। सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भयो।
मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले पेनाल्टीमा गोल गरेका थिए। यद्यपि पेमा तामाङको प्रहार झापाका गोलकिपर मौषम मगरले बचाएका थिए।
झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले पेनाल्टीमा गोल गरे। तर निर्णायक क्षणमा गोलकिपर मौषम मगरको प्रहार असफल हुँदा टोली पराजित भयो।
यसअघि खेलको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो। तर ४३औं मिनेटमा डि–एरियाभित्र योगेश गुरुङको ह्यान्ड भएपछि रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए, जसलाई सनिस श्रेष्ठले सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए।
बाँकी समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी हुँदै सडेनडेथमा पुगेको हो। उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।
अब मछिन्द्रले सेमिफाइनलमा शुक्रबार युवा समाज मोरङसँग प्रतिस्पर्धा गर्नेछ। युवा समाजले उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।
इटहरी गोल्डकपमा दोस्रो सहभागिता जनाइरहेको मछिन्द्र र झापा ११बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमै भेट भएको थियो, जहाँ मछिन्द्र १–० ले विजयी भएको थियो।
प्रतियोगिताअन्तर्गत बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ, जसमा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


