काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बो नजिकै रहेको नेगोम्बो कारागारमा भएको हिंसक झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा ४ जना कारागार सुरक्षाकर्मी र १५ जना कैदी रहेको जनाइएको छ। घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले समाचार संस्था एएफपीसँग कुरा गर्दै अस्पतालमा चार जना कारागार कर्मचारी र १५ जना कैदीको शव ल्याइएको पुष्टि गरेकी छन्।
प्रहरी र स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो कारागारमा आइतबार सुरु भएको हिंसात्मक झडप सोमबारसम्म जारी रहेको थियो।
यसैबीच, स्थानीय टेलिभिजन च्यानल हिरु ले घटनामा मृत्यु हुनेको संख्या २० पुगेको र १०० भन्दा बढी व्यक्ति घाइते भएको दाबी गरेको छ। उक्त रिपोर्टअनुसार मृतक र घाइतेमध्ये कैदी तथा कारागार अधिकारी दुवै पक्षका व्यक्ति छन्।
श्रीलङ्का प्रहरीका प्रवक्ता चन्दना हेराथले कारागारभित्र हिंसक झडप भएको र त्यसमा मानवीय क्षति भएको पुष्टि गरेका छन्। तर, झडपको कारण र घटनाका अन्य विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।


