मड्रिड । शाकिरासँग सम्बन्धित कर विवादमा स्पेन को एक अदालतले कर प्रशासनलाई ५ करोड ५० लाख युरो ब्याजसहित फिर्ता गर्न आदेश दिएको छ।
राष्ट्रिय उच्च अदालतले उक्त रकम गलत रूपमा असुल गरिएको ठहर गर्दै शाकिरालाई कर छलीको आरोपबाट सफाइ दिएको हो। अदालतका अनुसार कर अधिकारीहरूले सन् २०११ मा शाकिराले स्पेनमा कर तिर्न आवश्यक न्यूनतम १८३ दिन बसेको प्रमाणित गर्न सकेनन्।
अदालतले शाकिराले उक्त वर्ष स्पेनमा १६३ दिन मात्रै बिताएको निष्कर्ष निकालेको छ, जुन कानुनी सीमाभन्दा २० दिन कम हो। स्पेनको कानुनअनुसार व्यक्तिगत आयकर तिर्न त्यहाँ कम्तीमा १८३ दिन बसोबास गरेको हुनुपर्छ।
फैसलापछि ४९ वर्षीया शाकिराले आफूले विगत आठ वर्षदेखि सार्वजनिक आलोचना, प्रतिष्ठामाथिको आक्रमण र मानसिक तनाव सहनुपरेको बताएकी छन्। अदालतले अन्ततः सत्य बाहिर ल्याएको उनको भनाइ छ।
फिर्ता गर्नुपर्ने रकममध्ये करिब २ करोड ४० लाख युरो आयकर र झन्डै २ करोड ५० लाख युरो जरिवाना समावेश रहेको जनाइएको छ। यद्यपि स्पेनको कर एजेन्सीले भने उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ।
‘हिप्स डन्ट लाइ’ र ‘वेयरएभर, वेनेभर’ जस्ता चर्चित गीत गाएकी शाकिरा सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलको आधिकारिक गीत ‘वाका वाका’ को भिडियो छायाङ्कनका क्रममा स्पेनी फुटबलर जेरार्ड पिकेसँग नजिकिएकी थिइन्। उनीहरू एक दशकभन्दा बढी समय सँगै बसेका थिए।
यसअघि सन् २०२३ मा पनि शाकिराले अर्को कर विवाद मिलाउन स्पेनिस सरकारी वकिलहरूसँग सम्झौता गर्दै ७५ लाख युरो जरिवाना तिरेकी थिइन्।
हाल शाकिरा आफ्नो ‘विमेन डन्ट क्राइ एनीमोर’ विश्व भ्रमणको तयारीमा रहेकी छन्। हालै ब्राजिलको रियो दि जेनेरियोस्थित कोपाकाबाना समुद्री किनारमा भएको उनको निःशुल्क सांगीतिक कार्यक्रममा करिब २० लाख दर्शक सहभागी भएका थिए।


