Friday, April 17, 2026
Homeअर्थ र ब्यापारवीरगन्ज भन्सार : ६ वर्षदेखि राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल

वीरगन्ज भन्सार : ६ वर्षदेखि राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल

२०७२ सालको नाकाबन्दीको असर अहिलेसम्म

वीरगन्ज : मुलुकको प्रमुख स्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७७/०७८ मा पनि राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको छ। वीरगन्ज भन्सार कार्यालय लगातार ६ वर्षदेखि राजश्व विभागले दिएको राजश्व संकलनको लक्ष्यपूरा गर्न असफल हुँदै आएको छ।

गत आर्थिक वर्ष २०७७/०७८ मा भन्सार विभागले १ अर्ब ७० अर्ब ७६ करोड ५१ लाख ४५ हजारको लक्ष्य दिएको थियो। तर वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७१ करोड ४ लाख ४४ हजार रुपैया कम राजश्व संकलन गरेको छ।

गत आर्थिक वर्षमा वीरगन्ज भन्सारले लक्ष्यको ९९.६ प्रतिशत मात्र अर्थात १ खर्ब ७० अर्ब ५ करोड ४७ लाख १ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पनि वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ६६.८९ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो।
वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यको ८५.९७ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यको ९७.४८ प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा लक्ष्यको ९८ प्रतिशत र आर्थिक वर्ष २०७२/०७३ मा लक्ष्यको ७७.४२ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो।

भारतबाट नेपाल भित्रिदै गरेका मालवाहक गाडी वीरगन्ज भन्सार नाकाको गेटमा ।

त्यसभन्दा पहिलेको आर्थिक वर्ष २०७१/०७२ मा भने वीरगन्ज भन्सार कार्यालयलले लक्ष्य भन्दा बढि नै अर्थात लक्ष्यको १०५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो। तर त्यसपछि (आर्थिक वर्ष २०७२/०७३ ) देखि भने वीरगन्ज भन्सार कार्यालय लगातार, भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्यपूरा गर्न असफल हुदै आएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए।

पछिल्लो २ आर्थिक वर्षमा विश्वव्यापी कोभिड महामारीका कारण मालवस्तुको निकासी पैठारी प्रभावित भएका कारणले विभागले दिएको लक्ष्यपूरा हुन नसकेको उनले बताए। पौडेलले भने,‘कोभिडका कारण आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यभन्दा करिब ३४ प्रतिशत कम राजश्व उठ्यो, गत आर्थिक वर्षमा भने लक्ष्यको नजिक नजिक मात्रै पुगियो तर थोरैले मात्र टार्गेट मिट भएन, कोभिडकै कारण विगत २ आर्थिक वर्षमा लगातार राजश्वको टार्गेटपूरा हुन नसकेको हो।

गत दुई आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट बढी राजश्व संकलन हुने नयाँ सवारी गाडी लगायतका मालवस्तुको आयात घटेकाले त्यसको प्रत्यक्ष असर राजश्व असुलीमा परेको पौडेलले बताए।

६ महिने नाकाबन्दीको असर अहिलेसम्म

वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले २०७२ सालमा मधेसी दलको ६ महिनासम्म चलेको नाकाबन्दीको असर वीरगन्ज भन्सारको राजश्व असुलीमा अहिलेसम्म पनि परिरहेको बताए। पछिल्लो दुई आर्थिक वर्षमा लक्ष्यपूरा हुन नसकेको मुख्य कारण कोभिड थियो, उनले भने,‘तर त्यसअघिका लगातार ४ आर्थिक वर्षमा भने २०७२ सालको नाकाबन्दीको असरले राजश्वको लक्ष्यपूरा हुन सकेन, अहिले पनि त्यस बेलाको नाकाबन्दीको असर परिरहेको छ।

२०७२ सालमा मधेसी दलले राजनीतिक माग राखेर गरेको आन्दोलनमा ६ महिनासम्म वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाकाबन्दी गरेका थिए। जसका कारण वीरगन्ज नाकाबाट मालवस्तुको निकासी पैठारी नै ठप्प भएको थियो। लगातार ६ महिनासम्म नाकाबन्दी भएका कारण वीरगन्ज नाकाबाट आयात निर्यातको कारोबार गर्दै आएका थुप्रै उद्योगी व्यपारीहरु भैरहवा, विराटनगर लगायतका अन्य नाकातर्फ विस्थापित भएका थिए।

त्यस बेला अन्य नाका तर्फ विस्थापित भएका आयात–निर्यातकर्ताहरु , नाकाबन्दी खुलेपछि पनि वीरगन्ज नाकामा नफर्किएकाले त्यसको असर वीरगन्ज भन्सारको राजश्वमा अहिले सम्म पनि परिरहेको पौडेलले बताए।
पौडेलले भने ,‘ नाकाबन्दीका बेला यहाका थुप्रै आयातकर्ता अन्य नाकामा विस्थापित भएका , पछि नाकाबन्दी खुलेपछि केहि त फेरि फर्किए , तर अधिकांश आयातकर्ता नाकाबन्दी खुलेपछि फर्किएनन् , त्यसैको असर अहिले सम्म पनि परिरहेको छ।

सरकारले हचुवाको तालमा लक्ष्य बढाएकाले समस्या भइरहेको उद्योगीहरुको भनाइ 
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले भने नाकाबन्दीका कारण अन्यत्रको नाकामा विस्थापित भएका केहि अयातकर्ता अझै पनि वीरगन्ज नाकामा नफर्किएको कुरा सत्य रहेको बताए।

त्यसका कारण पनि वीरगन्ज भन्सारको राजश्व असुलीमा अहिले सम्म प्रभाव परिहेको उनले बताए। तर लगातार ६ वर्ष देखि वीरगन्ज भन्सारको राजश्व असुलीको लक्ष्यपूरा हुन नसक्नुको मुख्य कारण अर्को पनि रहेको गुप्ताले बताए।

गुप्ताले भन्सार विभागले वर्षेनी हचुवाको तालमा वीरगन्ज भन्सारको राजश्व संकलनको लक्ष्य बढाउदै आएका कारण पनि केहि वर्ष देखि लगातार राजश्व असुलीको लक्ष्य भेट्याउन वीरगन्ज भन्सार असफल हुदै आएको बताए।
गुप्ताले भने ,‘ हरेक वर्ष वीरगन्ज भन्सारको राजश्वको लक्ष्य हचुवाको तालमा बढाइन्छ तर त्यस मुताबिकको राजश्व संकलन हुने पुर्व योजना र तयारी केहि गरिदैन , त्यसैको परिमाण केहि वर्ष यता लगतार वीरगन्ज भन्सारले लक्ष्यपूरा गर्न नसकेको हो।

उनले थपे ,‘ यदि वीरगन्ज नाकाको राजश्व असुली बढाउने हो भने सरकारले यस क्षेत्रमा उद्योगकलकारखाना थपिने वातावरण मिलाइ दिनु पर्छ , भन्सारको जाचपासको प्रकृया सहज पार्नु पर्छ , अनि मात्र यो नाकाको राजश्व बढ्छ हैन भने अहिलेको नियति आगामी वर्षमा दोहोरिरहन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका