भक्तपुर: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरू र ख्वपः अस्पतालको निरीक्षणपछि आयोजित अन्तरक्रियामा यस्तो धारणा राख्नुभएको हो।
ख्वपः विश्वविद्यालयको विधेयकमा प्रगति
मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको प्रयासलाई प्रशंसा गर्दै ख्वपः विश्वविद्यालय विधेयकलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। विधेयक मन्त्रिपरिषद्मा पुगेको जानकारी दिँदै उहाँले सकारात्मक छलफल भइरहेको उल्लेख गर्नुभयो।
स्थानीय तहलाई विश्वविद्यालय सञ्चालनको आग्रह
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालनको अधिकार दिनुपर्ने धारणा राख्नुभयो। उहाँले ख्वपः विश्वविद्यालयलाई जनताको विश्वविद्यालयका रूपमा स्थापना गरी देशभरका विद्यार्थीलाई सहज रूपमा उच्च शिक्षाको अवसर दिनुपर्ने बताए।
भक्तपुर नगरपालिकाको सक्रियता
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वपः विश्वविद्यालय स्थापनाका लागि सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्त गर्न नेपाल ट्रष्टसँग पटक–पटक पत्राचार गरेको जानकारी दिनुभयो। उहाँले ख्वपः विश्वविद्यालय विधेयक २०८० पारित गर्न शिक्षा मन्त्रालयले पहल गर्नुपर्ने माग राख्दै मन्त्री भट्टराईलाई अनुरोध पत्र हस्तान्तरण गर्नुभयो।
स्थलगत निरीक्षण
मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू, अस्पताल र प्राविधिक कलेजहरूको निरीक्षण गर्नुभएको थियो। उहाँले ख्वपः माध्यमिक विद्यालय, ख्वपः कलेज, शारदा क्याम्पस मावि, ख्वपः कलेज अफ ल, ख्वपः अस्पताल, ख्वपः बहुप्राविधिक अध्ययन संस्थान, र ख्वपः इञ्जिनियरिङ कलेजलगायतका संस्थाहरूको सेवा, विद्यार्थी संख्या र भौतिक अवस्थाबारे जानकारी लिनुभयो।
स्मरणीय उपहार प्रदान
कार्यक्रममा सचिव सुवालले मन्त्री भट्टराईलाई पार्टीका प्रकाशनहरू उपहार दिनुभएको थियो भने नगर प्रमुख प्रजापतिले नगरपालिकाका प्रकाशनहरू तथा कलेजका प्रकाशनहरू प्रदान गर्नुभयो।


