काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आजको खेलमा नेपाल अमेरिका विरुद्ध ४ विकेटले पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा भएको खेलमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
अमेरिकाका लागि साइतेजा मुक्कामाला र मिलिन्द कुमारले उत्कृष्ट अर्धशतक प्रहार गरे । मुक्कामालाले ७५ तथा मिलिन्दले ७० रन जोडे । त्यस्तै शायन जहाँगिरले ३६ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका लागि दिलिपनाथ ऐरीले उत्कृष्ट ७५ रनको पारी खेले । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।
त्यस्तै करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रनको महत्वपूर्ण योगदान दिए । कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका हर्मीत सिंहले ३ विकेट लिए भने सौरभ नेत्रवल्कर र नोशथुस केन्जिगेले समान २–२ विकेट लिए । जसदीप सिंह र शुभम रन्जानेले समान १–१ विकेट झारे ।
यस हारसँगै नेपालले लिग–२ मा आफ्नो १२औं पराजय व्यहोरेको छ । नेपालले १९ खेलमा ५ जितसहित १२ अंक जोडेको छ र अंकतालिकाको सातौँ स्थानमा रहेको छ ।


