राजविराज, सप्तरी: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताको आन्दोलनले वंशवादी शासन व्यवस्थालाई अन्त्य गरिसकेकाले त्यसबारे पुनः बहस गर्न आवश्यक नरहेको बताएका छन्।
राजविराजमा पार्टीको १०औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले पूर्वराजालाई राजनीति गर्ने इच्छा भए, मौजुदा लोकतान्त्रिक प्रणालीअनुसार पार्टी खोलेर अघि बढ्न खुला अवसर रहेको स्पष्ट पारे। पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनमार्फत बहुमत हासिल गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था सुनिश्चित भइसकेको उल्लेख गर्दै, विगततर्फ फर्कने सपना नदेख्न आग्रह गरे।
उहाँले राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफूसमेत भएको उल्लेख गर्दै, नेपाली जनताले ती दिनहरू अझै भुलेका छैनन् भन्ने धारणा राखे। साथै, चैत १५ गते काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूको प्रदर्शनले समेत त्यो विगतलाई पुनः स्मरण गराएको टिप्पणी गरे। “पूर्वराजा समर्थकहरूको कार्यक्रम र गणतन्त्र पक्षधर समाजवादी मोर्चाको सभा एकै दिन भए, तर तुलना गर्दा स्पष्ट देखियो— गणतन्त्रवादीको कार्यक्रम सभ्य र व्यवस्थित रह्यो, जबकि थोरै संख्यामा रहेका व्यवस्था विरोधीहरूले लुटपाट, आगजनी र तोडफोड मच्चाएर आफ्नो विगतको परिचय दोहोर्याए,” अध्यक्ष नेपालले भने।
पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा पार्टी उपाध्यक्ष धर्मनाथप्रसाद साह, मधेस प्रदेश अध्यक्ष रामचन्द्र यादव, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष उषा पोखरेललगायतले मन्तव्य व्यक्त गरे।


