शारजाह : एकदिवसीय क्रिकेटको विश्व विजेता इङल्यान्ड आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो।
एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा एक सय ३७ रनमा समेटिएपछि इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो। श्रीलंकाका लागि वाहिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए। यसैगरी कप्तान दासुन सनका र भानुका राजापक्षेले समान २६ रन जोड्दा चारिथ असलंकाले २१ र अभिस्का फर्नान्डोले १३ रन बनाए।
इङ्ल्यान्डका अदिल रसिद, मोइन अली र क्रिस जोर्डनले दुई/दुई विकेट लिए। यसैगरी लियाम लिभिङस्टोन र क्रिस वोक्सले एक/एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६३ रनको योगफल बनाएको थियो। इङ्ल्यान्डका लागि जस बट्लरले अविजित शतकीय पालि खेले। उनले अविजित एक सय एक रन बनाए। उनी जारी टीट्वेन्टी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत हुन्।
यसैगरी कप्तान इयान मोर्गनले ४० र जासन रोयले नौ रन बनाए। श्रीलंकाका वाहिन्दु हसरंगाले तीन विकेट लिए। यस्तै दुश्मन्था चामिराले एक विकेट हात पारे।
जितसँगै समूह एकमा रहेको इङ्ल्यान्डले चार खेलमा आठ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टोलीसमेत बन्न सफल भयो। अहिलेसम्म अपराजित इङ्ल्यान्ड एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। इङ्ल्यान्डले यसअघि वेस्ट इन्डिज, बंगलादेश र अस्ट्रेलियालाई पराजित गरेको थियो। श्रीलंकाको भने यो तेस्रो हार हो। श्रीलंका चार खेलमा दुई अंक जोडेर चौथो स्थानमा छ।
युएई र ओमानमा आयोजना भइरहेको प्रतियोगितामा सुपर १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘एक’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र बंगालदेश छन्। यसैगरी समूह ‘दुई’मा भारत, अफगानिस्तान, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र नामिबिया छन्।
समूह चरणको खेलबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ का लागि छनोट भएका थिए। नामिबिया र स्कटल्यान्ड पहिलो पटक सुपर १२ मा छनोट भएका हुन्। दुवै समूहका पहिलो र दोस्रो स्थान हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।


