लन्डन : बेलायती टेनिस सुन्दरी इम्मा राडुकानुलाई कोरोना संक्रमण भएको छ। मुबाडाला वर्ल्ड टेनिस च्याम्पियनसिप खेल्न दुबई पुगेकी राडुकानु कोरोना पोजेटिभ देखिएकी हुन्।
टोकियो ओलम्पिककी स्वर्ण विजेता बेलिन्डा बेनसिकसँग प्रदर्शनी खेल खेल्न अमेरिकी (यूएस) ओपन च्याम्पियन राडुकानु संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेकी थिइन्। प्रदर्शनी खेल भने आबुधाबीमा आयोजना गर्ने तयारी थालिएको थियो।
बेलायतकी नम्बर एक खेलाडी राडुकानु अस्ट्रेलियन ओपन टेनिसमा सहभागी हुनुअघि मेलबर्न डब्लुटीएमा अभ्यास खेल खेल्ने तयारीमा थिइन्। ‘आबुधाबीमा आफ्ना प्रसंशक अगाडि खेल्न निकै उत्साहित थिएँ’, उनले भनेकी छन्, ‘कोरोना संक्रमणका कारण केही समय आइसोलेसनमा बस्ने छु। तर, मेरो आत्मविश्वास बलियो छ। म चाँडै नै कोरोनालाई जित्नेछु ।’
राडुकानु यही साता वर्षकै उत्कृष्ट नवप्रवेशी खेलाडी बनेकी थिइन्। १९ वर्षीया राडुकानुलाई महिला टेनिस संघले उत्कृष्ट नवप्रवेशी खेलाडी घोषणा गरेको थियो। यूएस ओपनको उपाधि जितेलगत्तै राडुकानु प्रशिक्षक एन्ड्रयु रिचार्डसनसँग अलग भएकी थिइन्। प्रशिक्षकबिनै ट्रान्सिलभेनिया ओपन खेलेकी उनले एन्जेलिक कर्बरका पूर्व प्रशिक्षक टोरबेन बेल्ट्जलाई प्रशिक्षक बनाएकी छन्। यूएस ओपन जितेपछि उनले खेलेका पाँचमध्ये दुई खेलमा जित निकालेकी छन्।


