काठमाडौं: रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका छन्।
रास्वपाको केन्द्रीय समितिको आज बसेको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आफ्नो कार्यकालका लागि धन्यवाद ज्ञापन गरे।
यसपछि, सभापति लामिछानेको नेतृत्वमा दोस्रो बैठक बसेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उक्त बैठकमा पार्टी र संसदीय गतिविधिबारे संक्षिप्त समीक्षा गरिएको थियो। साथै, ‘लिडरसिप एकेडेमी’को ‘फ्लो चार्ट’, जनयात्रा कार्यक्रम, अधिवेशन/महाधिवेशन कार्यतालिका, तथा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल भएको जनाइएको छ।
सहकारी ठगीलगायत चारवटा कसुरमा अदालतमा मुद्दा दायर भएपछि लामिछाने सभापति पदबाट अलग भएका थिए। त्यसयता, अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
लामिछानेको सम्बोधन: ‘लुटतन्त्रको खबरदारी गर्न जीवनभर लड्नेछु’
सभापतिमा पुनः फर्केपछि लामिछानेले विशेष बैठकमा सम्बोधन गर्दै लोकतन्त्र र गणतन्त्रको आडमा लुटतन्त्र मच्चिएको आरोप लगाए। उनले भ्रष्टाचारविरुद्ध संघर्ष गर्न आफ्नो अडान कायमै रहने स्पष्ट गरे।
उनले भने, “सरकारले सक्ने जति बल प्रयोग गरिसक्यो। यदि केही नभएको भए अदालतले धरौटी माग्ने थिएन भन्नेहरूलाई भन्न चाहन्छु— दुईतिहाइ बहुमतको सरकारले मलाई जिउँदै छोड्नु नै मेरो जित हो। मेरो शरीरमा एक थोपा रगत रहुञ्जेल लुटतन्त्रविरुद्ध लड्नेछु। जतिसुकै मुद्दा लगाउनुहोस्, ज्यानै लिने भए पनि लिउन्, तर म पछि हट्दिन।”
लामिछानेले सरकारको षड्यन्त्र नसकिएको दाबी गर्दै कुनै दिन पनि हार नमानेको र नमान्ने बताइए।
उनले थपे, “सरकारको षड्यन्त्र अझै जारी छ। तर म कहिल्यै हार मान्नेछैन। जुनसुकै आरोप लागे पनि, जुनसुकै तराजुमा बसेर म आफैंलाई तौलन तयार छु। राजनीति गरेकै कारण यो पीडा भोग्नुपरिरहेको छ, तर म समाधान खोज्न मैदानमा आएको छु।”


