काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासँग सम्बन्धित केही कागजातहरू पूर्ण रूपमा तयार भइसकेको बताएका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँगको भेटवार्तापछि उनले संवेदनशील विषयहरूमा अझै सहमति जुटाउन काम बाँकी रहेको उल्लेख गरेका हुन्।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूसँग भएका छलफललाई व्यवस्थित गर्न सके शान्ति प्रक्रियामा ठूलो प्रगति हुने बताए। उनका अनुसार केही कागजातहरू लगभग तयार भइसकेका छन् भने केही त पूर्ण रूपमा तयार छन्। यद्यपि, संवेदनशील मुद्दाहरूमा अझै गहन छलफल आवश्यक रहेको उनले स्पष्ट पारे।
‘अमेरिकी टोलीसँग मिलेर हामी अगाडि कसरी बढ्ने भन्नेमा स्पष्ट छौँ। आउँदा हप्ताहरू निकै महत्वपूर्ण हुन सक्छन्,’ उनले भने।
राष्ट्रपति जेलेन्स्कीले शान्ति प्रक्रिया अगाडि बढाउन अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै ‘धन्यवाद, अमेरिका’ पनि भनेका छन्। यसअघि बिहीबार युक्रेनी प्रतिनिधिमण्डलसहित उनले अमेरिकी विशेष दूतहरू विटकोफ र कुश्नरसँग भेटवार्ता गरेका थिए।
भेटपछि उनले दिगो शान्तिका लागि सकारात्मक र व्यवहारिक विचारहरू अघि आएको बताएका छन्। एक्समा लेख्दै उनले रचनात्मक दृष्टिकोण, निरन्तर प्रयास र युक्रेनी जनताप्रति व्यक्त गरिएको सद्भावनाका लागि अमेरिकी दूतहरूलाई धन्यवाद दिएका छन्।
‘हामी युक्रेनविरुद्ध भइरहेको यो क्रूर रुसी युद्ध अन्त्य नजिक ल्याउन दिन–रात काम गरिरहेका छौँ,’ जेलेन्स्कीले लेखेका छन्। ‘तयार पारिने सबै कागजात र चालिने कदमहरू व्यवहारिक, प्रभावकारी र विश्वसनीय हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ।’
उनका अनुसार छलफलमा शान्ति प्रक्रियासँग जोडिएका सुरक्षा, पुनर्निर्माण र दीर्घकालीन स्थायित्वका विषयमा पनि गहन संवाद भएको थियो। ‘वास्तविक सुरक्षा र शान्ति युक्रेन, अमेरिका, युरोप र सहयोगी सबैका साझा आवश्यकता हुन्,’ उनले उल्लेख गरे।
यसैबीच, क्रिसमसको अवसरमा युक्रेनी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्तिको कामना गरे। तर पर्वको पूर्वसन्ध्यामा रुसले व्यापक आक्रमण गरेको भन्दै उनले आलोचना पनि गरे। ‘हामी क्रिसमसको संगीत सुन्दा खुशी हुन्छौँ,’ उनले भने, ‘तर आकाशमा ड्रोन र मिसाइलको आवाज नआए झनै खुशी हुन्छौँ।’


