काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सुन तस्करहरूसँग मिलेमतो गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी तथा पदाधिकारीहरूले ठूलो परिमाणमा राजस्व चुहावट गराएको उजुरीपछि गरिएको अनुसन्धानबाट उक्त तथ्य खुलेको हो। आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
अनुसन्धानअनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र सुन लुकाइएको थियो।
भन्सार जाँचका क्रममा एक्स-रे स्क्रिनिङ गर्दा शङ्कास्पद वस्तु देखिएपछि सामानलाई रेड च्यानलमा पठाइएको थियो। एक्स-रे मेसिनले धातु पहिचान गर्न सक्ने भए पनि आरसी क्षेत्रमा खटिएका भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठसहितका कर्मचारीहरूले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच नगरी पछि सट्टापट्टा गरी लैजाने नियतले जफत गर्ने निर्णय गरेको आरोप छ।


