विराटनगर : नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत कोरोना महामारीको विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाले अनावश्यक दबाब दिन थालेको भन्दै उपभोक्ता त्यसविरुद्ध उत्रिएका छन्।
कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी रहेकै अवस्थामा बैंक, सहकारी तथा अन्य वित्तीय संस्थाहरूले ब्याज, किस्ता र ऋण तिर्नका लागि बारम्बार ताकेता गर्न थालेपछि व्यवसायी र उपभोक्ताले सम्बन्धित निकायसँग हारगुहार गर्न थालेका हुन्। धम्कीपूर्ण शैलीमा बैंक तथा वित्तीय संस्थाले दबाब दिइरहेको गुनासो बढेपछि उपभोक्ता अधिकारकर्मीहरूले विराटनगरस्थित राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएका छन्।
उपभोक्तावादी संस्था पब्लिक फोरममार्फत बैंक तथा वित्तीय संस्थाले उत्पन्न गराएका समस्या निराकरणको माग राखेर प्रशासन र राष्ट्र बैंकमा लिखित उजुरी पनि दिइएको छ। ‘ऋण लिएका व्यवसायी र उपभोक्तालाई बारम्बार ताकेता आउन थालेपछि उजुरी दिएका छौँ,’ पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले भने, ‘निषेधाज्ञाका समयमा बैंकले ऋण लिएकाहरूलाई बारम्बार धम्क्याउन थालेको पाइयो।’ उनका अनुसार ऋण लिनेहरूलाई समयमै किस्ता, ब्याज र ऋण नतिरेमा सम्पत्ति लिलामी गरिदिने र कालोसूचीमा नाम राख्ने भनेर धम्क्याउँदै फोनमार्फत तथा प्रत्यक्ष भेटेर दबाब दिइरहेको पाइएको छ। कोरोनाका कारण व्यापार व्यवसायदेखि लिएर सबै क्षेत्र ठप्प भएको अहिलेको जर्जर अवस्थामा कसैलाई पनि आर्थिक भार पर्ने गरी दबाब दिएर मानसिक तनावमा पार्न नहुने ढुंगेलको भनाइ छ। उनका अनुसार निषेधाज्ञाको अवस्थामा बैंक तथा वित्तीय संस्थाले कुनै किसिमको दबाब दिन र ऋण लिएकालाई कारबाही गर्न नपाउने भनेर राष्ट्र बैंकले स्पष्ट सूचना जारी गरिसकेको छ। तर सूचना र निर्देशनविरुद्ध बैंकहरूले व्यवसायी एवं सर्वसाधारणलाई फोन गर्ने, धम्क्याउने र घरघरमा पुगेर ऋण असुल्न खोज्नेजस्ता गतिविधि गरिरहेको उनले बताए।
विराट व्यापार संघका अध्यक्ष सुजन थापाका अनुसार वित्तीय संस्थाले ठूला उद्योगी व्यवसायीभन्दा पनि स–साना पसल सञ्चालन गर्दै आएकालाई बढी ताकेता गरिरहेका छन्। ‘निषेधाज्ञामा पसल सञ्चालन गर्न पाइएको छैन,’ उनले भने, ‘तर बैंकिङ क्षेत्रबाट दैनिक रूपमा मानसिक तनाव दिने हिसाबले कडा दबाब आउने गरेको छ।’ थापाका अनुसार महामारीका कारण कतिपयले व्यावसायिक जीवनबाटै पलायन हुनुपर्ने अवस्था छ। ‘व्यापार व्यवसाय चौपट छ। बन्द भएका व्यवसाय विस्तारै खुल्ने अवस्थामा छन्,’ उनले भने, ‘यस्तो बेला अनआवश्यक तनाव दिएर मानसिक समस्यामा नपर्दा राम्रो हुन्थ्यो। अवस्था सहज बनेपछि लिएको ऋण तिर्ने कुरामा कुनै दुविधा छैन।’


