ढाका — बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको निधन भएको छ। उनी विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो र मिर्गौला सम्बन्धी समस्या, मधुमेह, बाथ तथा आँखासम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनको पुष्टि परिवारका सदस्य र पार्टीका नेताहरूले गरेका छन्।
खालिदा जिया सन् १९९१–१९९६ र २००१–२००६ गरी दुई कार्यकाल बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्। उनी बंगलादेशका पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी तथा देशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुन्।
उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए र उनी यसै महिना मात्र बंगलादेश फर्किएका थिए। उनका कान्छा छोरा अराफात रहमानको भने सन् २०१५ मा हृदयाघातका कारण निधन भइसकेको छ।
भ्रष्टाचार मुद्दा र जेल जीवन
फेब्रुअरी ८, २०१८ मा ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी कोष हिनामिना गरेको अभियोगमा खालिदा जियालाई पाँच वर्षको जेल सजाय सुनाएको थियो। सोही मुद्दामा उनका छोरा तारिक रहमानसहित अन्य अभियुक्तलाई १० वर्षको सश्रम कारावास र २ करोड १० लाख बंगलादेशी टाका जरिवाना तोकिएको थियो।
पछि उच्च अदालतले अक्टोबर ३०, २०१८ मा सजाय बढाएर १० वर्ष पुर्याएको थियो। कानुनी प्रक्रियाका कारण अपिलको सुनुवाइ लामो समय लम्बियो। शेख हसिनाको सरकार पतन भएको एक दिनपछि खालिदा जिया अगस्ट ६, २०२४ मा रिहा भइन्। त्यसपछि उपचारका लागि लन्डन गएकी उनी चार महिना पछि मे ६ मा स्वदेश फर्किएकी थिइन्।
शेख हसिनासँगको ऐतिहासिक प्रतिद्वन्द्विता
बंगलादेशको राजनीति दशकौँसम्म दुई नेतृ— अवामी लिगकी शेख हसिना र बीएनपीकी खालिदा जिया — वरिपरि घुम्दै आएको थियो। सन् १९८० को दशकमा सैन्य शासनविरुद्ध दुवैले सडक आन्दोलनको नेतृत्व गरेका थिए।
सन् १९९० मा तानाशाह हुसैन मोहम्मद एरशादको पतनपछि प्रजातन्त्र पुनःस्थापित भयो। त्यसपछि भएको सन् १९९१ को चुनावमा खालिदा जिया प्रधानमन्त्री बनेपछि दुई नेतृबीचको राजनीतिक प्रतिद्वन्द्विता तीव्र बनेको थियो। सन् १९९० पछिका अधिकांश निर्वाचनमा सत्ता या त खालिदा जिया वा शेख हसिनाकै हातमा गयो। मिडियाले यस अवस्थालाई ‘बेगमहरूको युद्ध’ नाम दिएको थियो।
राजनीतिमा प्रवेशको यात्रा
सन् १९४५ मा जन्मिएकी खालिदा जिया कुनै राजनीतिक पृष्ठभूमि नभएको परिवारबाट आएकी थिइन्। उनले सन् १९६० मा सैनिक अधिकारी जियाउर रहमानसँग विवाह गरिन्। सन् १९७१ को स्वतन्त्रता संग्रामका क्रममा जियाउर रहमानले रेडियोमार्फत ‘स्वतन्त्र बंगलादेश’ को घोषणा पढेका थिए।
सन् १९७७ मा जियाउर रहमान राष्ट्रपति बनेपछि उनले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) गठन गरे। तर ३० मे १९८१ मा सैनिक विद्रोहका क्रममा उनको हत्या भएपछि पार्टी कमजोर बन्दै गयो। त्यसपछि पार्टी नेताहरूको आग्रहमा खालिदा जिया सन् १९८४ मा बीएनपीको नेतृत्वमा आएकी थिइन्।
सन् १९९१ मा पहिलो पटक सम्पन्न पूर्ण लोकतान्त्रिक चुनाव जित्दै उनी प्रधानमन्त्री बनिन्। १९९६ मा सत्ता गुमाए पनि २००१ मा पुनः सत्तामा फर्किएकी थिइन्।
खालिदा जियाको निधनसँगै बंगलादेशले एक प्रभावशाली, संघर्षशील र विवादास्पद राजनीतिक व्यक्तित्व गुमाएको छ।


