Wednesday, September 2, 2026
Homeअन्तराष्ट्रियफ्रान्सको लालिक सङ्ग्रहालयबाट करिब ७० करोड रुपैयाँ बराबरका ऐतिहासिक आभूषण चोरी

फ्रान्सको लालिक सङ्ग्रहालयबाट करिब ७० करोड रुपैयाँ बराबरका ऐतिहासिक आभूषण चोरी

काठमाडौं । फ्रान्सको विङ्गन–सुर–मोडेरस्थित प्रसिद्ध लालिक सङ्ग्रहालयबाट करिब ४० लाख युरो (करिब ७० करोड नेपाली रुपैयाँ) मूल्यका ऐतिहासिक क्रिस्टल आभूषण चोरी भएका छन्। जर्मनीको सीमाक्षेत्र नजिक रहेको यस सङ्ग्रहालयमा आइतबार बिहान भएको डकैतीले युरोपेली कला क्षेत्र र सुरक्षा निकायलाई झस्काएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५:३० बजे नकाबपोश सशस्त्र व्यक्तिहरूको समूहले सङ्ग्रहालयको मुख्य प्रवेशद्वार फोडेर भित्र प्रवेश गरेको थियो। उनीहरूले छ वटा सुरक्षित डिस्प्ले केस फुटाई करिब २० वटा बहुमूल्य क्रिस्टल आभूषण लिएर फरार भएका हुन्।

कला विशेषज्ञहरूका अनुसार चोरी गरिएका सामग्री मुख्य रूपमा विशेष प्रकारका क्रिस्टलबाट बनेका छन्। ती आभूषणमा महँगा हीरा वा अन्य रत्न जडान नभएकाले तिनलाई गालेर वा अवैध रूपमा बिक्री गर्न कठिन हुने तथा अन्तर्राष्ट्रिय बजारमा सहजै पहिचान गर्न सकिने विश्वास गरिएको छ।

सन् २०११ मा स्थापना भएको लालिक सङ्ग्रहालय फ्रान्सका प्रसिद्ध ज्वेलरी डिजाइनर तथा ग्लास कलाकार रेने लालिक र उनका उत्तराधिकारीका कलाकृतिहरूका लागि विश्वभर परिचित छ। सङ्ग्रहालयमा आर्ट नोभो, आर्ट डेको तथा आधुनिक क्रिस्टल कलाका ६५० भन्दा बढी दुर्लभ नमूना प्रदर्शनमा रहेका छन्।

डकैतीपछि अनुसन्धानका लागि सङ्ग्रहालय केही दिनका लागि बन्द गरिएको छ।

फ्रान्सका सङ्ग्रहालयमा पछिल्ला वर्षहरूमा यस्ता चोरीका घटना बढ्दै गएका छन्। गत वर्ष पेरिसस्थित लूभ्र सङ्ग्रहालयबाट फ्रान्सको शाही खजानाका दुर्लभ आभूषण चोरी भएका थिए। त्यसअघि ‘डेनिस डिडेरो हाउस अफ एनलाइटनमेन्ट’बाट करिब २,००० दुर्लभ पुराना सिक्का तथा ‘नेसनल म्युजियम अफ नेचुरल हिस्ट्री’बाट १५ लाख युरो मूल्यका सुनका दुर्लभ डल्ला चोरी भएका थिए।

प्रहरीले पछिल्ला शृङ्खलाबद्ध चोरीका घटनामा अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका