काठमाडौँ, ९ मङ्सिर। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच महत्त्वपूर्ण खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४:०० बजे सुरु हुने खेल दुवै टोलीका लागि प्लेअफ सम्भावना कायम राख्ने निर्णायक मानिएको छ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँले अहिलेसम्म तीन खेल खेलेको छ। टोलीले एक खेलमा जित र दुईमा हार बेहोर्दै दुई अङ्कसहित तालिकाको तेस्रो स्थान ओगटेको छ।
यस्तै, रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले पनि तीन खेलमध्ये एक जित दर्ता गर्दै दुई अङ्कसहित चौथो स्थानमा पुगेको छ।
दुवै टोलीको समान अङ्क भए पनि आजको खेलमा विजयी टिमले प्लेअफतर्फ महत्वपूर्ण कदम चाल्ने भएकाले भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।


