काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’को एक्सन–प्याक टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो।
मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको टिजरले एक्सन, अपराध र सामाजिक यथार्थलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। टिजरमा मधेसमा हुने अपराध, दाइजो प्रथा र दाजु–बहिनीबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्न खोजिएको देखिन्छ। यी दृश्यहरूले चलचित्रप्रति दर्शकको चासो बढाएको छ।
चलचित्रका मुख्य अभिनेता सम्राट दास टिजरमा सशक्त र प्रभावशाली अवतारमा देखिएका छन्। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु चलचित्र भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास गरिएको छ।
चलचित्रमा सम्राट दाससँगै सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह र रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ।
यस चलचित्रका सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्। चलचित्रको सम्पादन कविर वोडले गरेका हुन्।
निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो। चलचित्रमार्फत मधेसको जीवनशैली र संवेदनालाई दर्शकमाझ पुर्याउने योजना रहेको उनले बताए। चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो चलचित्र बहुभाषिक स्वरूपको रहेको छ। चलचित्रको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।


