काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका दुई सांसदले शब्दशः एउटै मन्तव्य प्रस्तुत गरेपछि संसदमा त्यसले व्यापक चर्चा पाएको छ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डीपी अर्याल ले नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा लाई धारणा राख्न समय दिएका थिए। आफ्नो सम्बोधनमा थापाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रश्न गरेकी थिइन्।
उनले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति, मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्यु, सुकुम्बासी समस्या तथा सरकारको कार्यसम्पादनप्रति प्रश्न उठाउँदै नागरिकले आफ्ना आवाज सुनाउन आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन्। साथै, साझा यातायातका हरिया बसलाई निलो रङ लगाउने निर्णयको पनि आलोचना गर्दै सरकारले नागरिकलाई न्याय, रोजगारी र सुशासन दिनुपर्नेमा जोड दिइन्।
प्रमुख सचेतक थापापछि बोल्ने अवसर पाएकी कांग्रेस सांसद सीता थपलिया ले पनि लगभग शब्दशः उही मन्तव्य प्रस्तुत गरिन्। दुवै सांसदले लिखित मन्तव्य पढेका थिए।
एकै दलका दुई सांसदले एउटै भाषा, शैली र विषयवस्तुमा आधारित हुबहु भाषण गरेपछि प्रतिनिधिसभा बैठकमा उपस्थित सांसदहरूको ध्यान त्यसतर्फ आकर्षित भएको थियो। उक्त घटनाले संसदभित्र र बाहिर दुवैतर्फ चर्चा बटुलेको छ।


