Tuesday, August 25, 2026
Homeराजनीतिप्रधानमन्त्रीसँग बुधबार प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले प्रश्न सोध्ने

प्रधानमन्त्रीसँग बुधबार प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले प्रश्न सोध्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले पनि प्रश्न राख्ने भएका छन् ।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले पनि प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन् ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

प्रश्न सोध्ने सबै सांसदले आफूले उठाउन चाहेको विषय र प्रश्नको विवरण संसद् सचिवालयमा दर्ता गराइसकेका छन् । यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बुधबारको समय निर्धारण गरेका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ । नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सभामुख अर्यालले बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।

नियमावलीको दफा ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले प्रश्नको विषयसम्बन्धी लिखित जानकारी बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई गराउनुपर्ने व्यवस्था छ ।

यसैअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समय दिएका थिए । तोकिएको समयभित्र ११ जना सांसदले प्रश्न दर्ता गराएका हुन् ।

प्रतिनिधिसभामा बढीमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था छ । तर, तोकिएको संख्याभन्दा कम ११ जना सांसदले मात्रै प्रश्न दर्ता गराएका छन् । सभामुखले सबै दलबाट कम्तीमा एक जना सांसद सहभागी हुने र बाँकी संख्या दलको प्रतिनिधित्वका आधारमा निर्धारण गरेका थिए । सो व्यवस्थाअनुसार रास्वपाका सात जना सांसदले प्रश्न सोध्न पाउने भए पनि तीन जनाले मात्रै प्रश्न दर्ता गराएका छन् ।

प्रतिनिधिसभा नियमावलीको दफा ५९ मा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रश्न स्वीकारयोग्य भए वा नभएको निर्णय गर्ने अधिकार सभामुखलाई दिइएको छ । प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ ।

त्यस्तै, दफा ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले दिएको जवाफका सम्बन्धमा प्रतिनिधिसभामा कुनै छलफल गरिने छैन । बुधबारको कार्यक्रममा सांसदहरूले प्रधानमन्त्री बालेनसँग सरकारको कामकारबाही, नीति तथा समसामयिक विषयमा प्रश्न राख्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका