Sunday, April 26, 2026
Homeशिक्षाप्याब्सनको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न

प्याब्सनको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको १० दिने शैक्षिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। भ्रमण टोली बिहीबार स्वदेश फर्किएको हो।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा सम्पन्न उक्त भ्रमणमा प्रमुख सल्लाहकार डीके ढुंगाना, महासचिव आरबी कटवालसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। भ्रमण ग्लोबल हेल्प फाउन्डेसनको संयोजनमा सम्पन्न भएको हो।

भ्रमणको सुरुवात डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकाससम्बन्धी सेमिनार’बाट गरिएको थियो। सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी थिइन्। उनले युरोपेली मुलुकहरूले शिक्षा क्षेत्रमा अपनाएका प्रगतिशील अभ्यासहरू नेपालका विद्यालय र विद्यार्थीहरूका लागि पनि उपयोगी हुने धारणा राखिन्। प्याब्सनले यस्ता कार्यक्रममार्फत नेपालमा गुणस्तरीय शिक्षाको प्रवर्धन गर्न खोजेको भन्दै उनले सराहना व्यक्त गरिन्।

सेमिनारमा प्याब्सन अध्यक्ष अधिकारीले बोलेका थिए। उनले यस्ता भ्रमणहरूले नेपाली शिक्षक, विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूलाई अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिलाउने र नवीन सोच विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्याब्सनका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार डीके ढुंगानाले यसअघि दुई अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाबाट पनि प्याब्सनले अन्तर्राष्ट्रिय शिक्षाको अभ्याससँग जोड बढाउने प्रयास गर्दै आएको उल्लेख गरे। युरोप भ्रमणले व्यवहारिक ज्ञान थप समृद्ध पार्ने र शिक्षण प्रणाली सुधारमा सहयोग पुग्ने उनले बताए।

टोलीले फिनल्यान्डमा आयोजित अर्को विशेष सेमिनारमा भाग लिएको थियो। भ्रमणका क्रममा स्थानीय विद्यालयहरूको अवलोकन, शिक्षण पद्धति, मूल्यांकन प्रणाली तथा बालमैत्री शैक्षिक वातावरणका बारेमा अन्तरक्रिया गरिएको थियो। प्याब्सनले ती अभ्यासहरू नेपाली कक्षा कोठामा समेत प्रयोग गर्न सकिने सम्भावना रहेको जनाएको छ।

साउन ७ गतेदेखि सुरू भएको भ्रमणको क्रममा संकलित अनुभव र सन्देशहरू एक कार्यक्रममार्फत चाँडै सार्वजनिक गरिने प्याब्सन अध्यक्ष अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका