काठमाडौं। अष्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ।
अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा जितका लागि १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा ८ रन आवश्यक हुँदा नेपालले ६ रन मात्र बनाउन सकेपछि हार हात परेको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले। दिपेन्द्र सिंह ऐरीले २१ बलमा ४१ रनको आक्रामक पारी खेले। आसिफ शेखले २७ तथा लोकेश बमले १० रन योगदान गरे। पाकिस्तानका मोहमद वासिम र फैजल अकरमले २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल बनाएको थियो। कप्तान इरफान खानले २६ बलमा ४२ रन बनाउँदै सर्वाधिक योगदान गरे।
नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट झारे। कुशल भुर्तेलले १ विकेट लिए।


