Friday, April 17, 2026
Homeअर्थ र ब्यापारपर्यटकीय गन्तव्य बन्दै रोल्पा

पर्यटकीय गन्तव्य बन्दै रोल्पा

रोल्पा : प्राकृतिक, सांस्कृतिक र धार्मिक क्षेत्रले मात्र नभई ऐतिहासिक क्षेत्रले चिनिएको रोल्पा पर्यटन केन्द्रको रूपमा विकास हुन थालेको छ।

१० वर्षे सशस्त्र द्वन्द्वको उद्गमस्थलको रूपमा चिनिएको रोल्पा युद्ध पर्यटनको रूपमा पनि विकास गर्न स्थानीय तह लागिपरेका छन्। रोल्पाका अधिकांश क्षेत्र युद्धसँग जोडिएका छन्। ती क्षेत्रलाई युद्ध पर्यटनको रूपमा अघि बढाउन स्थानीय तहले पूर्वाधार निर्माण अघि बढाएका छन्।

युद्धका समयमा ख्याति कमाएको रोल्पा प्राकृतिक सुन्दरताले पनि जो कोहीलाई मोहित बनाउँछ। सरकारले घोषणा गरेको सय गन्तव्यस्थलमध्ये जलजला रोल्पामा पर्छ। सय गन्तव्यमा पर्न नसके पनि यहाँका अधिकांश स्थान धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा आकर्षक छन्।

नेकपा माओवादीले २०५२ फागुन १ गते होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह सुरु गरेकोे थियो।  रोल्पाका विभिन्न स्थानमध्ये भावाङ पनि ऐतिहासिक स्थलका रूपमा स्थापित छ। माओवादीले तत्कालीन समयमा भावाङबाटै जनसरकार घोषणा गरेको थियो। घर्तीगाउँ, भावाङको घामतारा युद्धसँग जोडिएका पर्यटनको केन्द्रविन्दु हुन्। दोहोरो भिडन्तमा भावाङमा कैयौं मानिसको ज्यान जाने गरी सामूहिक हत्याकाण्ड भएको थियो। २०५७ सालमा माओवादी समर्थित ११ जना कलाकारलाई सेनाले हत्या गरेको थियो।

माडी गाउँपालिकाले वडा नम्बर ५ को पुलावाङ र माडी ६ को बराह ताल युद्ध पर्यटनको रूपमा अघि बढाइएको छ। सम्भावित ठाउँ खोजेर आगामी दिनमा पनि युद्ध पर्यटन बनाउन सकिने माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुन बताउँछन्। भावाङसँग जोडिएको परिवर्तन गाउँपालिकामा प्रचण्ड बसेको घरलाई युद्ध पर्यटन केन्द्र घोषणा गरिएको छ। यसका साथै राल्बाङ मन्दिर पछिल्लो समयमा प्रख्यात बन्दै गएको छ।

भावाङलाई पर्यटन केन्दको रूपमा विकास गर्न यहाँका युवाहरूले सक्रियता देखाएका छन्। सिद्धपुजे परोपकारी समाज सेवा भाबाङका अध्यक्ष तारानाथ केसीले युद्ध पर्यटनमात्र नभई धार्मिक र प्राकृतिक पर्यटनलाई पनि सँगसँगै लैजान सके रोल्पा पर्यटनको केन्द्र बन्न सक्ने बताए। सिद्धपुजेले भावाङलाई रोल्पाको पर्यटनको केन्द्रविन्दुका रूपमा स्थापित गर्न लागिपरेको छ। युवाको सक्रियतामा स्थानीयले आर्थिक संकलन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालेका हुन्।

मन्दिर निर्माण तथा मर्मत, पहिरोबाट जोगाउन ग्लालिङ, तारबार, भावाङचौरदेखि मन्दिरसम्म र मन्दिरदेखि कैलाश पर्वतसम्म जाने सिँढी बनाउने योजना रहेको अध्यक्ष केसीले बताए।

परापूर्वकालदेखि भएको पोखरी सुकिसकेले पोखरी निर्माण गर्ने र मन्दिर क्षेत्रभित्र पुस्तकालय निर्माण गरी रोल्पाको पर्यटन तथा हिन्दु धर्मशास्त्रको बारेमा अध्ययन गर्ने व्यवस्था गर्न लागिएको अध्यक्ष केसीले बताए ।

पर्वतबाट सिस्ने हिमाल, रुकुम र सल्यानका केही भाग, जिल्लाकै परिवर्तन गाउँपालिका, माडी, रोल्पा नगरपालिकाका केही भाग र गंगादेव गाउँपालिकाका केही स्थान दृश्यावलोकन गर्न सकिन्छ।

कार्तिक पूर्णिमाको दिन भाबाङमा मेला लाग्छ। सो दिन सिद्ध र शिव भगवान्को पूजा गर्ने परम्परा छ। एक वर्ष बिराएर बोका र सारा काट्ने चलन भए पनि मेला भने हरेक वर्ष लाग्छ। मन्दिरमा बलि नदिए पनि सामान्य पूजा हरेक वर्ष गरिन्छ। मेला लाग्ने चौरमा गणेशको मन्दिर बनाउने योजना पनि छ। भावाङ, बाछे, दबाङ, हिउबाङलगायतका तीन सयभन्दा बढी स्थानीय मिलेर सारा र बोका काट्छन्। जसलाई मिरो हान्ने भनिन्छ। व्यक्तिगत रूपमा बोका काट्ने चलन पनि छ।

रोल्पाका बुद्धिजीवी गिरीराज उपाध्यायले सबै स्थानमा विदेशी पर्यटक भिœयाउन नसकिए पनि आन्तरिक पर्यटनमा जोड दिन सके रोल्पाले पर्यटनमा फड्को मार्न सक्ने बताउँछन्। ‘रोल्पा पर्यटनको अथाह सम्भावना छ’ भन्छन्, ‘पूर्वाधार र संरचना निर्माण गरी हरहिसाबले रोल्पालाई पर्यटनको केन्द्र बनाउन सकिन्छ।’ केही वर्षअघि रोल्पा, रुकुमलगायत युद्ध भूमिलाई समेटेर ट्रेकिङ रुटको घोषणा गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका