काठमाडौँ । नेपाली क्रिकेट टिम त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको छ।
नेपाली टोलीले आज शृंखलाको आफ्नो दोस्रो खेल पपुवा न्यु गिनीसँग खेल्दैछ।
यसअघि आइतबार नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो । वर्षाका कारण दुईपटक खेल रोकिएको थियो ।
मंगलबार नै हङकङ र पपुवा न्यु गिनीबिच दोस्रो खेल हुनेछ । हङकङ भ्रमणका क्रममा नेपालले गत शनिबार आयोजक राष्ट्रसँग एउटा टी–२० मैत्रीपूर्ण खेल पनि खेलेको थियो । उक्त खेलमा हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।
नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । यसैक्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो ।
हङकङ भ्रमणबाट फर्किए लगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नेछ । भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यो खेलमा पनि विश्वकपकै तयारीका क्रममा खेल्न लागिएको हो ।
टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।


