काठमाडौं । दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचालेसँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनको सभाहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
दृष्टिविहिन बुद्धिचाल प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका सन्देश स्याङ्बोले उपाधि जित्दै नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय, लगनखेलका निमेश महतो थारू दोस्रो हुँदै नगद ६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए भने आदर्श सेकेण्डरी स्कुलका अजय बर्देवा तेस्रो हुँदै नगद ४ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे।
यसैगरी सञ्जीवनी उच्च माध्यमिक विद्यालय, धुलिखेलका सहदेव के.सी. चौथो, आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका अजय नेपाल पाँचौँ, पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका दिपेश उपाध्याय छैटौँ तथा ल्यावोटरी स्कूल, किर्तिपुरका अमन थारू सातौँ स्थानमा रहे।
स्पर्धामा पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका संयोग के.सी., सुजित तामाङ र सोफिक तामाङ क्रमशः आठौँदेखि दशौँ स्थानमा रहन सफल भए। महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरकी ऋतिका घिमिरे प्रथम हुँदै नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। आरोही सुवेदी दोस्रो हुँदै नगद ३ हजार रुपैयाँ पाइन् भने पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरकी कोपिला तामाङ तेस्रो हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गर्न सफल भइन्।
समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको प्रशंसा गरे। उनले नगद ३० हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गर्दै ललितपुर महानगरपालिका योजनाबद्ध रूपमा साना–ठूला परियोजना कार्यान्वयन गर्दै अघि बढिरहेको र त्यसमा बुद्धिचाल खेलको रणनीतिक सोच झल्किएको बताए।
कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटको समेत उपस्थिति रहेको थियो। प्रतियोगितामा ल्यावोटरी स्कूल (किर्तिपुर), नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय (लगनखेल), सञ्जीवनी उच्च माध्यमिक विद्यालय (धुलिखेल), पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय (तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) तथा अपाङ्ग सेवा संघ (बुङ्मती) का ५० जना दृष्टिविहिन खेलाडी सहभागी थिए।
नेपाल त्रिवासा संस्थाकी संस्थापक रमिला पोखरेल र पभिलियन चेस एकेडेमीका संस्थापक सुशील चौधरीले प्रतियोगिताको दोस्रो संस्करण छिट्टै आयोजना गरिने जानकारी दिएका छन्।


